–के.बी. बस्नेत
पृथ्वीमा रहेको तेलजन्य कच्चा पेट्रोलियम पदार्थ प्रशोधन गरेपछि पेट्रोलियम पदार्थको रूपमा बिक्री वितरणका लागि बजारमा पठाइन्छ । जुन आम उपभोक्ताहरूको दैनिकीको अग्रस्थानमा रहँदै आएको छ । पेट्रोलियम पदार्थले आर्थिक राजनीतिको विश्व बजारमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको छ । तर, यसले अनावश्यक आर्थिक चलखेलको दरमा तीव्रता ल्याएकोले उपभोक्ताहरू चिन्तित छन् ।
सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुयलाले पेट्रोल निर्यात गर्ने देशहरूको संगठन ओपेक स्थापना गरे । यसको दश वर्षपछि अर्थात् सन् १९७० मा इराक, कुवेत र साउदी अरबसहित केही देशहरूले तेल उद्योगहरूलाई राष्ट्रियकरण गरी ठूला विदेशी कम्पनीहरूलाई हटाएर पेट्रोलको मूल्य बढाए । त्यसपछि विश्वमा पेट्रोलको मूल्य घटबढ हुन थाल्यो । र, विश्व अर्थतन्त्र नै धेरै प्रभावित हुन थाल्यो । ओपेक राष्ट्रहरूले आफ्ना पेट्रोल उत्पादन नियन्त्रणमा लिएपछि विश्व बजारमा यिनीहरूको प्रभाव निकै नै बढ्न थाल्यो । किनभने यिनीहरूले विश्वको आधारभन्दा बढी पेट्रोल उत्पादन आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए । फलतः यिनीहरूले विश्वको मागअनुरूप अधिकतम फाइदा उठाउन सफल भए ।
सन् १९७३ मा इजरायल र सिरियाबीच युद्ध भयो । जसमा संयुक्त राज्य अमेरिकाले सिरियालाई समर्थन गर्यो । त्यसपछि ओपेक राष्ट्रहरूले एकातिर अमेरिकालाई पेट्रोल निर्यात गर्न प्रतिबन्ध लगायो भने अर्कोतिर विश्वभरि नै पेट्रोलको मूल्य निकै नै बढ्यो र नेपाल जस्तो अति कम विकसित राष्ट्रले धेरै नै दुःख भोग्नुप¥यो । विगतमा इरान र इराकबीचको युद्धमा पेट्रोलको वितरण न्यायपूर्ण हुन सकेन भने वर्तमान समयमा रुसको पेट्रोल व्यापारमा प्रतिबन्ध लागेकोले विश्वको पेट्रोल व्यापारमा नकारात्मक प्रभाव परेको छ । साधारणतयाः युद्धको बेला पेट्रोलको मूल्य बढ्छ । जसबाट नेपाल जस्तो अतिकम विकसित देश भएको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ ।
बीसौं शताब्दीमा युद्धको स्वरूप बदलिएकोले पेट्रोलको माग बढेको छ । जसले गर्दा विश्वभर पेट्रोलको वितरण असहज भएको छ । वर्तमान समयमा विश्वमा पेट्रोलियम पदार्थको खपत दिन प्रतिदिन बढिरहेको छ । हाल यहाँ प्रतिदिन दश करोड ब्यारेल तेल खपत हुन्छ । जुन ७५ वर्षअघिको तुलनामा १० गुणा बढी छ । फलतः पेट्रोलजन्य राजनीतिकरणका अभ्यासहरू बढिरहेका छन् । वस्तुतः पेट्रोलजन्य उद्योगहरूको प्रतिस्पर्धात्मक व्यापारलगायत ठूला शक्ति राष्ट्रहरूले पेट्रोलको खातिर, आफ्नो प्रभुत्व कायम राख्ने एक किसिमको होडबाजी विकास गर्दै आएको छन् । जसको कारण विश्वका महाशक्ति राष्ट्रहरूले पेट्रोलियम पदार्थको घनचक्करमा आर्थिक नाकाबन्दीलगायत युद्ध पनि निम्त्याएको तथ्य बिर्सन सकिँदैन ।
आज विश्वमा पेट्रोलियम पदार्थको मौज्दात कम छ । परन्तु धेरैजसो देशहरूमा उक्त पदार्थ प्राप्तिका लागि परनिर्भरता घट्न सकेको छैन । यही कारणले केही वर्षयता विश्वका केही शक्ति राष्ट्रहरूले उक्त पदार्थलाई आर्थिक राजनीतिका रूपमा अङ्गीकार गर्दै अनधिकृत प्रभाव एवम् वर्चस्व कायम गर्दै साना तथा अति कम विकसित राष्ट्रहरूलाई आफू अनुकुलका प्रभावमा पारी राजनीति गर्ने संस्कृतिको विकास भएको छ । विगतमा नेपालले पेट्रोलियम पदार्थको आयातका लागि आर्थिक नाकाबन्दी लगायत शासकीय स्वरूप परिवर्तनसम्मको कठिनाइ भोग्नु परेको थियो । यहाँ प्रत्येक वर्ष पेट्रोलियम पदार्थको खपत बढिरहेकोले भविष्यमा उक्त कठिनाइ पुनः भोग्नु नपर्ला भन्न सकिँदैन ।
आजसम्म गरिएको सर्वेक्षणको आधारमा नेपालमा सम्भावित पेट्रोलियम पदार्थको उत्खनन तथा प्रशोधन गर्दा लाग्ने लगानीको अनुपातमा उक्त पदार्थको उत्पादन न्यून हुने आकलन गरिएकोले आजसम्म पनि उपभोग तथा बिक्रीको लागि परिचालन गर्न सकिएको छैन । यही कारणले यहाँ आवश्यक पेट्रोलियम पदार्थको परिपूर्तिका लागि अन्य देशहरूमाथि सदैव निर्भर हुनु परेकोले विश्वमा हुने गरेको पेट्रोलियम पदार्थको राजनीतिकरणबाट नेपाल आजसम्म पनि अलग रहन सकेको छैन ।
यहाँ विद्यमान उक्त अवस्थाको अन्त्य गर्न पेट्रोलियम पदार्थको विकल्प पहिचान गरी प्रयोग गर्न आवश्यक छ । विशेषतः यहाँ पेट्रोलियम पदार्थको चार विकल्प प्रयोग गर्न सकिन्छ । सर्वप्रथमतः यहाँ वार्षिक झन्डै तीन सय दिन सहजै प्राप्त गर्न सकिने सूर्यको तापबाट प्रशस्त मात्रामा सौर्य उर्जा उत्पादन गर्न सकिन्छ । जसबाट यहाँका सवारी साधनहरू चलाउन सकिने हुनाले आयातित महँगो पेट्रोलियम पदार्थको खपत क्रमिकरूपले घटाउन सकिन्छ र सञ्चित विदेशी मुद्रा अन्य आवश्यक कामका लागि खर्च गर्न सकिन्छ । यसबाट यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ ।
दोस्रो, यहाँका केही ठाउँहरूमा वायु तीव्र गतिले बहन्छ । जसलाई वायु ऊर्जाको रूपमा प्रयोग गर्न सके यहाँ विद्यमान पेट्रोलियम पदार्थको खपत न्यून गर्न सकिन्छ । योबाहेक यहाँको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ । तेस्रो, यहाँका गाउँघर तथा अन्य ठाउँहरूमा समेत जैविक मल सहजै प्राप्त गर्न सकिन्छ । जसलाई यहाँ ऊर्जाको रूपमा प्रयोग गर्न सके आयातित पेट्रोलियम पदार्थको खपत घटाउन सकिन्छ । जसको फलस्वरूप यहाँको अर्थतन्त्र सबलीकरणमा सघाउ पुग्नेछ । जैविक स्रोतमा आधारित ऊर्जाको उत्पादनलाई निरन्तरता दिन उपयुक्त जैविक स्रोतहरूको उपलब्धता उपयुक्त प्रविधि एवम् जनशक्तिको आवश्यकता पर्छ । यसका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूको सम्बन्धित ध्यान जान आवश्यक छ ।
चौथो, जलसम्पदाको लागि नेपाल विश्वको दोस्रो धनी देश मानिन्छ । यहाँ झन्डै छ हजार नदीनालाहरू छन् । जसबाट प्रचुर मात्रामा जल ऊर्जा उत्पादन गर्न सकिने भएकोले आयातित महँगो पेट्रोलियम पदार्थको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ । योबाहेक जल ऊर्जाबाट विभिन्न किसिमका उद्योगहरू संचालन गर्न सकिने हुँदा देश औद्योगिक विकासको पथमा अग्रसर हुनेछ र थप रोजगारी अवसरहरू प्राप्त हुनेछन् । जसले भविष्यमा वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न सघाउ पुग्नेछ ।
वस्तुतः जल ऊर्जाको ठोस विकास गर्न सके नेपालको एक क्षेत्र मात्र नभई विभिन्न क्षेत्रको विकासमा टेवा पुग्नेछ । यति मात्र नभई यहाँ आवश्यक जल ऊर्जा उत्पादन गर्न सके आयातित पेट्रोलियम पदार्थको विकल्पको रूपमा परिचालन गर्न सकिन्छ । आज विश्वमा विद्यमान पेट्रोलियमको राजनीतिबाट बच्न पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूको सट्टा विद्युतीय सवारी साधनहरूको प्रयोग गर्न आवश्यक छ । यसो गर्न सकेमा एकातर्फ स्वदेशमा उत्पादित जलविद्युतको सदुपयोग गर्न सकिन्छ भने अर्कोतर्फ यहाँ प्रत्येक दिन आवश्यक इन्धनका लागि भारतमाथि निर्भर रहनु पर्दैन ।
नेपालमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरू प्रयोग गर्दा यहाँको वायु प्रदुषण भई प्रत्येक व्यक्तिलाई श्वास–प्रश्वाससम्बन्धी रोग लाग्ने धेरै सम्भावना हुन्छ । यस्ता सवारी साधन खरिद गर्दा यहाँ धेरै व्यापार घाटा हुन्छ र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । उक्त सवारी साधनहरूलाई आवश्यक पेट्रोल तथा डिजेलको मूल्य बढ्ने बित्तिकै यहाँका यातायात व्यवसायीहरूले भाडा बढाउँछन् । फलतः यहाँका यात्रुहरू मर्कामा पर्छन् । पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूको तुलनामा विद्युतीय सवारी साधनहरू कम मूल्यमा पाइन्छन् । यस्ता सवारी साधनहरू प्रयोग गर्नाले यात्रुहरूले कम भाडामा भरपर्दो सेवा पाउँछन् ।
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरू प्रयोग गर्दा यहाँ प्रतिदिन सरदर दुई हजार खर्च हुन्छ भने विद्युतीय सवारी साधनहरू प्रयोग गर्दा प्रतिदिन एक सयदेखि डेढ सय रुपियाँसम्मको चार्ज गरी दिनभरि चलाउन सकिन्छ । यी सवारी साधनहरू आफ्नै घरमा चार्ज गर्न सकिने हुँदा चालकहरूलाई पेट्रोल पम्पसम्म धाउन पर्दैन । योबाहेक हाल विश्वभर विद्यमान पेट्रोलियमको राजनीतिकरणबाट अलग रहन सकिन्छ ।
–लोक नारायण सुवेदी
आज विश्वमा चीन चौतर्फीरूपमा जीवन्त र जोडदार किसिमले एक समुन्नत समाजको निर्माणको दिशामा दृढतापूर्वक र अपूर्वरूपमा अग्रसर हुँदै गरेको देखिन्छ । यस परिप्रेक्षमा चीनले एकपछि अर्को जुन महत्वपूर्ण अर्थ–सामाजिक कार्यक्रम, नीति र कदमहरू अघि सार्दै र सफलतकासाथ तिनलाई सम्पन्न गर्दै अघि बढेको छ । त्यसले चिनियाँ समाजलाई मात्र होइन विश्वलाई नै आशावान् बनाएको छ ।
निश्चय नै चिनियाँ आधुनिकीकरणको गहन र गम्भीर लक्ष्य एक अत्यन्तै महत्वपूर्ण र महत्वाकांक्षी प्रयास हो नै । त्यो लक्ष्य भेदनले अवश्य पनि चीनलाई मात्र होइन, चीन र विश्व दुवैका लागि दूरगामी प्रभाव पार्छ । यस सम्बन्धी केही महत्वपूर्ण अन्तर्दृष्टिका सम्बन्धमा दृष्टिपात गर्नु तथ्यपरक र वस्तुगत यथार्थ हुन्छ ।
चिनियाँ आधुनिकीकरण भन्नाले त्यो प्रष्टरूपमा प्रक्रियालाई बुझाउँछ जसद्वारा चीनले आफूलाई समृद्ध, सुदृढ, लोकतान्त्रिक, सांस्कृतिकरूपले उन्नत, सौहार्द्रपूर्ण र सुन्दर महान् आधुनिक समाजवादी देशमा आफूलाई रूपान्तरण गर्ने महान र ठोस लक्ष्य राखेको छ । यस दृष्टिकोणले आर्थिक विकास, सामाजिक स्थिरता, वातावरणीय दिगोपन र समग्र कल्याण सहित विभिन्न महत्वपूर्ण र आधुनिक आयामहरू समावेश गर्दछ ।
यस सन्दर्भका सरसरी हेर्दा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को नेतृत्वमा चीनले आधुनिकीकरणको दिशामा निकै आश्चर्यजनकरूपमा उल्लेखनीय फड्को मारेको छ । यो यथार्थलाई विश्वले पनि स्वीकार गरिसकेको र गरिरहेको छ । चीनको गतिमान प्रगतिमा अनेक उल्लेखनीय उपलब्धिहरू समावेश छन् । प्रथमतः आर्थिक विकासको सर्वोपरि महत्वपूर्ण क्षेत्रमा चीनले दीर्घकालीन सामाजिक स्थायित्व कायम गर्दै तीव्र आर्थिक वृद्धि हासिल गरेको छ र गरिरहेको छ ।
दोस्रो, महत्वपूर्ण कुरा चीनले गरिबी उन्मूलन गरेर देशले निर्धारण गरेको प्रथम शताब्दी लक्ष्य पूरा गर्दै करोडौं करोड मानिसहरूलाई निरपेक्ष गरिबीबाट सफलतापूर्वक माथि उठाएको छ । यो सर्वाधिक महत्वपूर्ण अर्थ–राजनीतिक तथा सामाजिक–सांस्कृतिक विकासको आयाम पनि हो ।
तेस्रो, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका कदमहरूलाई औंल्याउन सकिन्छ । यस सम्बन्धमा जुन कदमहरू चीनले विश्वको सबैभन्दा ठूलो सामाजिक सुरक्षा र स्वास्थ्य सेवा प्रणाली स्थापनाको प्रतिमान कायम गरेको छ । त्यसले विशाल जनसंख्यालाई फाइदा सुनिश्चितरूपमा लाभान्वित बनाएको छ ।
चौथो महत्वको कुरा चीनले विकाससँगै वातावरणीय संरक्षण र प्रवर्द्धनको विश्व चासो र चिन्ताको गुरुत्तर उत्तरदायित्व पनि लिएको छ । चीन आज अभूतपूर्वरूपमा हरित र दीगो विकासका लागि प्रतिबद्ध छ, कार्वन उत्सर्जन कम गर्न र सन् २०६०/६१ सम्ममा कार्वन तटस्थताको लक्ष्य पूरा गर्ने संकल्प गरेको छ ।
पाँचौ, महत्वपूर्ण कुरा चीनले चरणबद्ध रणनीतिक योजना अघि सारको छ । यस सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीले दुई चरणको रणनीतिक योजनाको रूपरेखा प्रस्तुत गरेको छ । चरणबद्धरूपमा प्रस्तुत गरिएको त्यो पहिलो लक्ष्य हो २०२० देखि २०३५को समयावधिमा चीनलाई समाजवादी आधुनिकीकरणको उचाइमा पदार्पण गराउने लक्ष्य ।
अनि दोश्रो लक्ष्य हो – २०३५ देखि २०५० सम्ममा चीनलाई परिभाषित विशेषतासहितको महान तथा आधुनिक समाजवादी समुन्नत देशमा परिणत गर्ने र विकसित तुल्याउने ।
यसरी चीनले समुन्नत अर्थ–राजनीतिक एवम् सामाजिक सांस्कृतिक विकासको सार्वभौम मान खडा गर्ने दिशा लिँदै जाने लक्ष्य राखेको देखिन्छ । चीनले विश्वकै ‘साझा समृद्धि’मा जोड दिँदैछ र सम्पूर्ण मानव जातिका लागि विश्वव्यापी मूल्यहरू प्रतिबिम्बित गर्न खोजिरहेको भन्ने आभाष गराउन खोजेको छ । शान्ति, विकास, समानता, न्याय र जनतन्त्रलाई बढावा दिँदै चीनले मानव सभ्यता उच्च विकासका लागि एउटा भिन्न आधुनिक नयाँ मोडेल कायम गर्न खोजेको छ ।
यसरी चीनले आधुनिकीकरणको माध्यमबाट विश्वव्यापी प्रगति, शान्ति र पारिस्थितिकीय सभ्यतामा योगदान पुर्याउन खोजेको देखिन्छ । त्यसैले चीनले आफ्नो उद्देश्य मानव जातिको लागि साझा भविष्यको समुदाय सिर्जना गर्नु हो भन्ने गरेको छ । यद्यपि चीनका पनि ठूल्ठूला समस्या नभएका होइनन् । आयमा असमानता र बढ्दो भ्रष्टाचारका गम्भीर समस्या त्यहाँ पनि देखापरेका छन् । यी दुईवटा समस्यालाई चीनले राम्रोसँग बुझेको र त्यसको सही समाधानको खोजी पनि निरन्तर गरिरहेको छ ।
त्यसैले अन्ततः सारांशमा विश्वका चिनियाँ स्थिति गतिको चिन्ता र चासो लिने वस्तुवादी विश्लेषकहरूले भनिरहेका छन् कि चिनियाँ आधुनिकीकरणले समृद्ध, सौहार्द्रपूर्ण र दिगो भविष्यतर्फको बहुआयामिक यात्राको प्रतिनिधित्व गर्दछ । यसको प्रभाव चीनको सीमाभन्दा बाहिर धेरै परसम्म फैलिएको छ र यसले विश्व विकासको मार्गलाई आकार दिइरहेको छ र दिनेछ ।
–डा. दीपेन्द्र रोकाया
राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरूले नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको देखाएको छ । यो अपेक्षित आयु हो । यसमा कर्णाली प्रदेशका मानिस सबैभन्दा धेरै वर्ष बाँच्ने गरेको देखिएको छ । जसमा कर्णाली प्रदेशको औसत आयु ७२.५ वर्ष देखिएको छ । त्यसमा महिलाको औसत आयु ७५.५ वर्ष रहेको देखियो । यो सूचकले सबैको ध्यानाकर्षण गराएको पाइयो ।
कुनै पनि क्षेत्रको मूल्याङ्कन त्यस क्षेत्रको मानव विकास सूचकाङ्कका आधारमा गर्ने गरिन्छ । यसमा प्रतिव्यक्ति आय, साक्षरता दर र अपेक्षित आयु हेर्ने गरिन्छ । मानव विकास प्रतिवेदन, २०२० अनुसार सामाजिक–आर्थिक सूचकाङ्कमा नेपालका अरू प्रदेशभन्दा कर्णालीको अवस्था कमजोर थियो । कर्णालीको प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर थियो । साक्षरता दर ६२.७७ प्रतिशत थियो । औसत आयु ६७ वर्ष थियो ।
कुरा २०५८ सालमा हो, काठमाडौँबाट १७ जना पत्रकार कालीकोटको लालुसम्म पुगेका थियौँ । दरबार हत्याकाण्ड भएका कारण एउटा कार्यक्रम स्थलमा पुगे पनि सहभागी नभएर फर्केका पत्रकारमध्ये एक नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा पनि हुन् । उनले कान्तिपुर दैनिकमा कर्णालीको वास्तविक जीवनचर्या लेखेका थिए, “कर्णालीका मान्छेले बाल्यकाल आमाको गर्भमा बिताउँदा रहेछन्, बाल्यकालमा नै युवा काल बिताउने रहेछन् र जब युवा हुन्छन् उनीहरु प्रौढ भइसकेका देखिँदा रहेछन् ।”
देवकोटाले देखाएको शब्दचित्र एकदमै सही हो । यो सब खानपान, कुपोषण र बाल विवाहका कारण भएको थियो । कर्णालीमा लामो समय खडेरी पर्दा बूढापाकाहरु मारुल्या समयको सम्झना गर्दछन् । त्यो समयमा मारुल्या नामको राजा थिए । जलवायु परिवर्तनले खेती गर्दै लेकको टुप्पोसम्म पुग्नु परेको थियो । उत्पादन हुन छोडेपछि ढुङ्गा पकाएर बालबालिकालाई आशा जगाई केही दिन बाँच्न लगाएको, माटो खान परेको, माटो खानेहरु मरेको, त्यसमा दिसा खाँदा बाँचेको कथा गाउँघरमा सुन्न पाइन्थ्यो । त्यो स्तरको अनिकाल पछिल्ला दिनहरुमा नपरे पनि जिउलाको बाली हेरेर खानुपर्ने अवस्था थियो ।
कर्णालीको यही अवस्थालाई नेपाल खाद्य संस्थानमार्फत नेपालका राजनीतिज्ञ तथा कर्मचारीतन्त्रले ‘नुन–चामलको राजनीति’ चलाएका थिए । यतिबेला भेरी करिडोर र कर्णाली करिडोरले सबै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । सडक पुग्दा खाद्य संस्थानभन्दा सस्तोमा स्थानीय पसलमा चामल पाइन थालेको छ । खानपानमा पनि फरक आएको छ । हिजो बिहान–बेलुकी सुख्खा रोटी खाने र तिउन पिउने अवस्थाबाट आज तरकारी र अचार पनि थपेर खान थालेका छन् । मासु खानलाई देउता पुज्ने र गरो काट्ने समय आउनु पर्दथ्यो वा पशु वस्तु लडेर मर्नु पर्दथ्यो । खानाको उपलब्धता र पाक शिक्षाको कमीका कारण कर्णालीका मानिसहरु रोगी, ख्याउटे र चाउरिएका देखिन्थ्ये तर, उनीहरु चाम्रा र बलिया थिए ।
गाउँमा धेरैले लुगा लगाएका देखिदैनथ्यो । अधिकांशले लुगा आकल झुकल लगाउन पाउँथे । लुगा लगाउनलाई विवाह, व्रतबन्ध वा विशेष चाड आउनु पर्दथ्यो । ठकुरी हो भने गौरा पर्व आउनु पर्दथ्यो । भोट्या लामा हो भने लोसार आउनु पर्दथ्यो । क्षेत्री, थपाल्या व्यासी र दलित हो भने साउन पुनी आउनु पर्दथ्यो । नत्र सँधै फटेका लुगामा टाला गाँस्दै लगाउनु पर्दथ्यो । कर्णालीमा अहिले पनि लुगा किन्ने भन्दैनन्, टाला किन्नु छ भन्छन् । यो पहिरनले देखाएको गरिबी थियो । फाटो र मैलोको कुरै नगराँै । सरसफाइ भन्ने कुरा धेरैलाई थाहा नै थिएन । यसैले खान, लाउन र सरसफाइले आयु घटाएकै थियो ।
बाल विवाहले झनै डरलाग्दो समस्या थियो । बाहुन समाजबाहेक अरु समुदायमा पहिला केटी पाउन गाह्रो भएकाले विवाह गर्नलाई केटा मान्छे २५–३० पुग्नै पर्दथ्यो । विवाह गर्नलाई महिला पनि २० भन्दा माथि नै पुगेको हुनु पर्दथ्यो रे ! तर अहिले आइपुग्दा केटा १६ वर्ष पुग्यो भने केटी खोज्न थाली हाल्छन् ।
यतिबेला पनि साविकको कर्णालीको हुम्ला, मुगु र डोल्पामा कुनै दुर्घटना हुँदा हवाई सेवाको सहारा लिनु पर्दछ । यसको लाख तीनदेखि पाँच लाख व्यहोर्न तयार हुनु पर्दछ । नियमित उडान भर्दा पनि हरेक मान्छेले मान्छे भएर होइन, एक सय केजीको सामान भएर उडान भर्नुपर्ने हुन्छ । यसको मतलब एक सय केजी भौतिक सामानको मूल्य टिकटबापत तिर्नुपर्दछ । कर्णाली प्रदेश सरकारको सबै पालिका केन्द्रमा ग्रामीण सडक पुर्याउने लक्ष्यअनुसार अहिले डोल्पाको दुई र मुगुको एक पालिका केन्द्रबाहेक अरु सबै पालिका केन्द्रमा सडक खन्ने काम भएको छ ।
यो पृष्ठभूमिमा यस पटकको तथ्याङ्कले कर्णालीको औषत आयु ७२.५ वर्ष भएको देख्दा अचम्म लाग्नु स्वाभाविकै हो । कर्णालीपछि बाग्मती ७२.४, गण्डकी ७२.१, मधेस ७१.८, सुदुरपश्चिम ७१.३, कोशी ७०.४ र लुम्बिनी ६९.५ वर्ष आयु रहेको देखियो । औसत आयु बढ्नुमा स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेलेको हुनसक्छ । कर्णालीका विद्यालयहरुमा लिटोपीठो उपलब्ध हुन्छ तर कतिपय विद्यालयले त्यो बजेटबाट शिक्षकलाई राखेर पठनपाठन चलाउन बाध्य भएको अवस्था पनि छ ।
कर्णाली प्रदेशमा १८.६ अर्थात् एक हजारमा १८ देखि १९ जना जन्मेको देखिन्छ । जन्मदर घटेको छ । अस्थायी साधन प्रयोगकर्ता राष्ट्रियभन्दा बढी देखिन्छन् । सय जनामा ७९ जना महिलाले छोरीहरु जन्माएको देखिन्छ । यो प्रदेश सरकारले ‘छोरी सुरक्षा खाता’ सञ्चालनमा ल्याएको प्रभाव पनि हुन सक्छ । किनकि भ्रूण हत्या रोकिँदाको परिणाम यस्तो देखिएको हुन सक्छ । हाल कोरा मृत्युदर एक हजार जनामा ४.९९ जना रहेको छ । साथै, प्रति लाख ३७ सयले बसाइँसराइ गरेको पाइन्छ ।
कर्णाली प्रदेशका १७ लाख जनसंख्यालाई स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मीको दरबन्दी नौ सय नौजना रहेको छ । यसमा स्थायी पदपूर्ति तीन सय २७ जनाको भएको छभने आठ सय १८ जना करार सेवामा छन् । संस्थागत रुपमा स्वास्थ्य प्रतिष्ठान एक, आधारभूत स्वास्थ्य सेवा केन्द्र तीन सय, सामुदायिक स्वास्थ्य इकाइ एक सय २७, जिल्ला अस्पताल आठ, साधारण अस्पताल तीन, स्वास्थ्य चौकी तीन सय ३२, संस्थागत क्लिनिक दुई, एनजिओ २०, नर्सिङहोम पाँच, अन्य स्वास्थ्य सुविधा ५१, फार्मेसी स्वास्थ्य केन्द्र १२, प्राथमिक अस्पताल १८, निजी अस्पताल नौ, माध्यमिक ए अस्पताल एक, माध्यमिक बी अस्पताल एक, सहरी स्वास्थ्य केन्द्र ३० गरी जम्मा नौ सय २० वटा स्वास्थ्य संस्था कर्णालीमा छन् ।
उपरोक्त तथ्य र कोभिड महामारीले बनाउन लगाएको भौतिक पूर्वाधार तथा थप्न परेको जनशक्तिले कर्णालीको स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याएको छ । एउटा अनुभव सुनाऊँ, हुम्लाको नाम्खा गाउँपालिकाको आवधिक योजना निर्माण गर्दा त्यहाँ कार्यरत स्वास्थ्य शाखा प्रमुखले बाल मृत्युदर, वालश्रम र महिला हिंसाका घटना शून्य छभन्दा पंक्तिकार नै छक्क परेको थिएँ । उनीसँग अरू तर्क गर्दा उनले हाम्रो तथ्याङ्कमा नभएको कुरा कसरी थप्न सक्छौँ ? भनेर प्रतिप्रश्न गरेका थिए ।
पछिल्लो ५० वर्षमा नेपालीको औसत आयु साढे २१ वर्षले बढेको देखियो । २०३८ सालको जनगणनामा औसत आयु ४९.८ वर्ष देखिएको थियो । २०४८ सालमा वृद्धि भई ५४.३ वर्ष पुगेको थियो । २०५८ सालमा ६०.४ वर्ष पुगेको थियो । २०६८ सालमा ६६.६ वर्ष पुगेको औसत आयु २०७८ को जनगणनाले ७१.३ वर्ष पुगेको देखाएको छ । आँकडाअनुसार पछिल्लो १० वर्षमा ४.७ वर्षले औसत आयु बढेको छ ।
आयुकै प्रसङ्गमा पुरुषभन्दा महिलाको आयु बढी भएको देख्दा अर्को अचम्म लाग्ने विषय खुलेको छ । समाजमा महिला हिंसा, महिलाले पैतृक सम्पत्ति नपाएको सन्दर्भ, पितृ सत्तात्मक समाजले दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरेको भन्दै महिला अधिकारका कुरा उठाइरहेको अवस्था छ । तथ्यले के देखायो भने महिलाको तुलनामा दुर्घटनामा बढी पुरुष परेको देखिनु, मदिरा र लागुऔषध सेवनको मारमा पुरुष बढी देखिनु तथा विदेश जाने संख्यामा पुरुष बढी हुँदा कार्यक्षेत्रमा हुने दुर्घटनाले समेत पुरुषको मृत्युदर बढी देखियो ।
जन्मेदेखि नै शिशु र बाल मृत्युदरमा छोरीको तुलनामा छोराको मृत्युदर बढी देखिएको छ । यसको प्रभाव औसत आयुमै देखिने हुन्छ । छोराको प्रतिहजार मृत्युदर १९ रहँदा छोरीको १५ रहेको देखिएको छ । नेपालको जनसंख्या वृद्धिदर पनि निरन्तर घट्दै गएको देखिन्छ । नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ । प्रदेशगत रूपमा हेर्दा लुम्बिनी प्रदेशको सबैभन्दा बढी जनसंख्या वृद्धिदर १.२४ छ भने मधेसको १.१९ प्रतिशत छ । बाँकी प्रदेशमध्ये कोशीको ०.८६, बाग्मतीको ०.९७, गण्डकीको ०.२५, कर्णालीको ०.७० र सुदूरपश्चिमको ०.५२ प्रतिशत छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्वसचिव तथा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुधा शर्माले ‘कर्णाली उत्सवः कुडा कर्णालीको पाँचौँ संस्करण’ मा कर्णालीमा चुनौतीहरु हुँदाहुँदै पनि प्रगति उन्मुख रहेको बताएका थिए । उनका अनुसार, तीन दशक पहिलेको तुलनामा धेरै राम्रो हुँदैछ । २०५३ ताका कर्णालीमा जन्मेका हजार बालबालिकामध्ये करिब ६५ जनाको एक महिनाभित्रै मृत्यु हुन्थ्यो, एक सय १९ जनाको एक वर्षभित्रै, अनि पाँच वर्ष पुग्दा नपुग्दै एक सय ७८ जनाको मृत्यु भइसक्थ्यो । यसको एक दशकपछि, २०६३ ताका, नवजात शिशु मृत्युदर सुधार हुँदै ६५ बाट ४५ मा झ¥यो, एक वर्षभित्र हुने मृत्यु एक सय १९ बाट ८५ जति भयो, अनि अनि पाँच वर्ष पुग्दा नपुग्दै हुने मृत्यु एक सय ७८ बाट घटेर एक सय ११ जति भयो । यसको करिब १५ वर्षपछि बालस्वास्थ्य अवस्थामा थप सुधार हुँदै गएको देखिन्छ ।
दुई वर्ष अगाडिको एक स्वास्थ्य प्रतिवेदनअनुसार कर्णाली प्रदेशको नवजात शिशु मृत्युदर हजारमा २६ (राष्ट्रिय औसत २२), एक वर्षभित्र हुने मृत्यु हजारमा ३६ (राष्ट्रिय औसत २८), पाँच वर्षभित्र हुने मृत्यु हजारमा ४६ (राष्ट्रिय औसत ३३) रहेको थियो । साक्षर र निरक्षर आमाको व्यवहारले पनि फरक पर्ने रहेछ । निरक्षर आमाका पाँच वर्षमुनिका हजार बालबालिकामध्ये ५० जनाको मृत्यु हुँदा माध्यमिक तहसम्म पढेका आमाहरुको पाँच वर्षमुनिका हजार बालबालिकामध्ये छ जनाको मात्रै मृत्यु भएको पाइएको थियो । यसैले कर्णालीमा ‘छोरी सुरक्षा खाता’ सञ्चालन गरी छात्रा शिक्षामा विशेष जोड दिनु परेको छ । बालविवाह घाउन परेको छ र महिलालाई आत्मनिर्भर बनाउने योजना ल्याउन परेको छ ।
राष्ट्रिय जनगणनाअनुसार एक वर्षमा प्रजनन उमेर (१५–४९ वर्ष) का महिलाको १२ हजार नौ सय ७६ मृत्युमध्ये ६ सय ५३ मातृ मृत्यु थिए । नेपालमा औसतमा प्रतिएक लाख जीवित जन्ममा एक सय ५१ आमाले ज्यान गुमाउँदा कर्णालीमा प्रतिएक लाख जीवित जन्ममा एक सय ७२ जना आमाको मृत्यु हुन्छ । स्रहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालले सन् २०३० सम्ममा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु ७० सम्म झार्ने लक्ष्य राखेको छ ।
यसरी हेर्दा, आयु बढ्नुमा सुरक्षित गर्भाधारण, जन्म, लालनपालन, विवाह र सुविधाहरुले प्रभाव पारेको हुन्छ । हरेक घरमा स्वस्थ नागरिक हुनु भनेको त्यो घरबाट देशका लागि स्वस्थ जनशक्ति प्राप्त हुनु हो । ‘स्वास्थ्य नै धन हो’ भन्ने मान्यताअनुसार स्वास्थ्य जनशक्ति बढ्नु भनेको देशको आयु बढ्नु हो । यसैले नेपालमा कर्णालीको आयु बढेको देख्दा आश्चर्य लागे पनि क्रमिक सुधार भने भएकै देखिन्छ । तर यो स्तरको सूचकलाई विश्वसनीय र दिगो बनाउन सक्नुपर्दछ । न्युनतम अनिवार्य आयआर्जन कार्यक्रममार्फत कर्णालीवासीको आम्दानीका स्रोतहरु बढाउनुपर्दछ । क्षेत्रगत लगानी र उपयुक्त जनशक्तिलाई केन्द्रित गर्न सके विकासमा पछि पारिएको कर्णालीको विद्यमान गरिबीको अन्त्य गर्न र देशलाई अति कम विकसित देशबाट विकासशील देशमा उन्नति गर्न सहज हुनेछ ।
(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य हुन् ।)
–राजन तिमल्सिना
आज हामी तीब्रतापूर्वक बदलिरहेको विश्वको स्वरूप, नाटकीयरूपमा घटिरेका असाधारण घटनाहरूको बीचमा बसिरहेका मात्र छैनौं की बरु तिनीहरूबाट बढीभन्दा बढी प्रभावित पनि भैरहेका छौं । समकालीन विश्वमा वैज्ञानिक–प्राविधिकको विकासले युग सापेक्ष, व्यवहारिक र जीवनपयोगी शिक्षामार्फत विश्वको स्वरूप, संस्कृति र मानव जातिको जीवन व्यवहार नै बदलिदिएको छ ।
वैज्ञानिक–प्राविधिक र व्यवहारिक शिक्षा भनेको श्रम शिक्षा नै हो । श्रम शिक्षा बिनाको शिक्षा प्रणालीले वास्तवमा समाजको गतिलाई समात्न सक्दैन । आज हामी अमूर्तरूपमा वैज्ञानिक शिक्षा प्रणालीको कुरा गर्दैछौं, त्यसको मूर्त र ठोस परिभाषा बुझ्नु आवश्यक छ, जसले जीवनपयोगी शिक्षाको माध्यमबाट भौतिक जगत र मानव जीवनका जटिलतम प्रश्नहरूको जवाफ दिन सक्छ । वास्तवमा श्रम तथा व्यवहारबाट कटेको शिक्षाले भौतिक जगत, मानव जीवन र सामाजिक परिघटनाहरलाई सही ढंगले गाइड गर्न सक्दैन ।
शिक्षाको महत्व र विकासका साथै, यसका नविनतम आयमहरूका विषयमा नयाँ–नयाँ खोज र अनुसन्धानहरूको खाँचो छ । नेपालको शिक्षा प्रणाली अत्यन्तै पुरातनवादी सोच, मूल्य, मान्यता र अवधारणामा सीमित रहेको छ । यसले शिक्षाका नविनतम मार्ग पहिल्याउन नसक्दा शिक्षार्थीहरूको बौद्धिक विकासलाई बन्ध्याकरण गरिरहेको छ । विगत इतिहासको समिक्षा गर्दै वर्तमानको जीवनपयोगी र वैज्ञानिक–प्राविधिक शिक्षा प्रणालीको विकासले मात्र नेपाल र नेपाली समाजको भविष्यको नयाँ मार्गचित्र कोर्न सकिन्छ । भौतिक जगतका हरेक वस्तुहरू, घटनाहरू, पदार्थहरू र सामजिक क्रियाकलापहरू गतिशील र परिवर्तनशील छन् । यसका शाश्वत नियम र गति बुझ्न नसक्दा शिक्षा क्षेत्रले अग्रगामी फड्को मार्न सकिरहेको छैन ।
विश्वमा विज्ञान–प्राविधिक र व्यवहारीक शिक्षा प्रणालीको विकाससँगै मानवीय चेतना, सूचना प्रणाली, उत्पादन प्रणाली, सामाजिक ढाँचा आदिमा पुराना मूल्य मान्यताहरू क्रमभङ्ग हँुदै नयाँ मूल्य मान्यता र अवधारणाहरू स्थापित भैरहेको छ । विज्ञान–प्राविधिक क्रान्तिले सिङ्गै विश्वलाई एउटा गाउँमा परिणत गर्दै भूमण्डलीकरणको मध्यमद्वारा श्रम, शीप, प्रविधि र चेतनालाई क्रमशः सीमा रहित बनाएको छ ।
विज्ञान–प्राविधिक क्रान्तिले नयाँ–नयाँ प्रविधिको आविष्कार गर्दै मानवीय जीवनमा सकरात्मक र नकरात्मक दुवै ढंगले प्रभावित गरिरहेको छ । २०औं शताब्दीमा भौतिक विज्ञानको क्षेत्रमा भएको समुच्य तथा महानतम् अविष्कार भनेको क्वान्टम थेउरीको अविष्कार नै मुख्य हो । क्वान्टम थेउरीको अविष्कारले शिक्षा र दर्शनको क्षेत्रमा मूलभूत परिवर्तन नै ल्याइदियो । कम्प्युटर, माक्रो–इलोक्टोनिक, सूचना प्रविधि, यन्त्र विज्ञान, परमाणु विज्ञान, विद्युतचालित यन्त्र, सेन्सर प्रविधि, अटोमेशन, रोर्वट, एआइ आदि प्रविधिको विकासले परम्परागत शिक्षा प्रणालीलाई नै चुनौती थपिदिएको छ ।
नेपालको शिक्षा क्षेत्रमा राज्यको ठूलो लगानी हँुदाहुँदै पनि यसले अपेक्षित परिणाम दिन सकेको छैन, किन ? राज्य यन्त्रको पुरानो मेकानिज्म नयाँ सोच, मूल्य मान्यता, र प्राविधिक ज्ञानद्वारा अपडेट छैन । देशमा अझै पनि परम्परावादी र गुरुकुल शिक्षा प्रणली कायमै रहेको छ । शिक्षण विधिमा पनि नयाँ आयाम थपिएको छैन र पाठ्यक्रमहरू शाब्दिक फेरबदलभन्दा व्यवहारिक र यूग सापेक्ष छैनन्, जसको कारण शिक्षालयहरू बेरोजगार उत्पादन गर्ने भट्टीको रूपमा सीमित हुने खतरा कायमै छ । देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न कृषि, शिक्षा, यन्त्र विज्ञान, बहुप्राविधिक शिक्षा, सैन्य शिक्षा आदिलाई प्राथमिक तहदेखि नै अनिवार्य गर्नुपर्दछ । शिक्षालाई सैद्धान्तिक कक्षामा मात्र कैद नगरी अनिवार्य प्रयोगात्मक विधि लागु गरिनुपर्छ ।
नेपालमा आज जुन शिक्षा प्रणाली र शिक्षण विधि प्रयोग गरिएको छ, यसले नेपाली समाजलाई आवश्यक पर्ने दक्ष जनशक्ति निमार्ण गर्न सकेको छैन । शिक्षालयहरूले शिक्षार्थीहरूको मनोविज्ञानअनुसारको शिक्षा दिन असमर्थ भएका छन् । बालबालिकाहरूको रूचीअनुसारको शिक्षा बिना घोकन्ते र लादिएको शिक्षा प्रणालीले नयाँ र सिर्जनशील जनशक्ति निर्माण गर्न सक्दैन । शिक्षालाई विविधिकरण गर्दै बालबालिकाको मनोविज्ञान र रुची अनुसार शारिरीक, प्राविधिक, व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिनु पर्दछ ।
शिक्षालयहरूले राज्यलाई आवश्यक जनशक्ति निर्माण गर्नुभन्दा पनि राज्यलाई नै बोझ हुने जनशक्ति उत्पादन गरिरहेको छ । देशमा दक्ष जनशक्तिको अभावले कयौं कलकारखाना, उद्योग र सेवा क्षेत्रमा विदेशी कामदारहरू कार्यरत छन् भने नेपालका युवाहरू बेरोजगार भई कामको खोजीमा देश, विदेशमा भौंतारी रहेका छन् । अवैज्ञानिक र अव्यवहारीक शिक्षा प्रणालीको कारण शिक्षित जनशक्तिभन्दा अशिक्षित युवाहरू बरु रोजगारीमा फिट भैरहेको तथ्यहरूले देखाइरहेको छ ।
शिक्षा क्षेत्रको साथै विश्वमा विज्ञान–प्राविधिक क्रान्तिमा भएको विकासको अध्ययनवाट हामी के निष्कर्षमा पुग्दछौ भने श्रम र व्यवहारबाट कटेको शिक्षा प्रणालीले न त जीवन र जगतको गतिलाई बुझ्नसक्छ, न त्यसलाई बदल्न नै सक्छ । जसको कारण न त समाज र सामाजिक क्रियाकलाप बदलिएको छ न मानिसको जीवन व्यवहार नै बदलिएको छ । शिक्षालाई ज्ञानको सीमाभित्र कैद गर्ने होइन की यसलाई यूग सापेक्ष र गतिशील प्रयोगको रूपमा विकास गराउनु पर्छ ।
शिक्षालय भनेको नयाँ–नयाँ अविष्कारको प्रयोगशाला र वैज्ञानिकहरू उत्पादन गर्ने महाविश्वविद्यालयको रूपमा अघि बढाउनु पर्दछ । शिक्षा केवल बुझ्नको लागि मात्रै हुनुहुँदैन, शिक्षा जीवन र जगतलाई बदल्ने हुनुपर्छ । जीवनको उर्जाशील समय शिक्षा आर्जनमा व्यतित गरी ठूलो धनराशी खर्च गर्दासमेत बेरोजगार हुनुको पीडा आम शैक्षिक जनशक्तिले भोग्दै आएको छ । वर्तमान समयका तमाम अन्तरविरोध एवम् चुनौतीहरूको हल श्रम शिक्षा अथवा बहुप्रविधिक र व्यवहारीक शिक्षा प्रणालीमार्फत यसको सामूल परिवर्तन र पूर्नसंरचना गरेर मात्र हुनसक्छ ।
–झलक शर्मा
सूचनाको हकको संरक्षण, प्रवद्र्धन र प्रचलनका लागि नेपालको वर्तमान संविधानले धारा २७ मा मौलिक हकको रूपमा स्वीकार गरेको छ । लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकलाई सूचना पाउने अधिकारको सुनिश्चिता गरिएको हुन्छ । मौलिक हकको रूपमा रहेको सूचनाको हकको कार्यान्वयनका लागि राष्ट्रिय सूचना आयोगको स्थापना गरिएको छ । यही बैशाख २२ गते राष्ट्रिय सूचना आयोगले १७ औं स्थापना दिवस मनायो । आयोग गठन भएको १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश गर्दा सार्वजनिक सरोकारका विषयमा नागरिकको पहुँच पुगेको छ वा छैन भनी मूल्यांकन गर्नु जरुरी छ ।
सरकार सञ्चालनको विषय एवम् गतिविधिहरूमा नागरिकले चासो र सरोकार राख्ने एउटा महत्वपूर्ण औजारको रूपमा सूचनाको हकलाई बुझ्नुपर्छ । यसले सरकार र सार्वजनिक क्षेत्रका कामकारबाहीलाई खुलस्त पार्ने, स्पष्टता देखाउने एवम् खुला सरकारको अवधारणालाई आत्मसाथ गरेको हुन्छ । नागरिक सुसूचित हुन सके मात्र लोकतन्त्र संस्थागत हुन सक्छ । राज्यले प्रवाह गर्ने सेवा, अवसर तथा लाभमा आम नागरिकको सहज पहुँच हुनु आवश्यक छ । नागरिकलाई सही सूचना सम्प्रेषण गरी सरकार तथा सार्वजनिक निकायलाई जिम्मेवारबोध कायम गराउनु सूचनाको हकको पूर्व शर्त हो । तर, विगतदेखि नै सरकारी पक्षबाट निरंकुश र हैकमवादी चरित्रबाट सूचना लुकाउने छिपाउने प्रवृत्ति रहेको छ ।
नागरिकले सूचना प्राप्त गरे आफ्नो लापरबाही र कमजोरी पर्दाफास हुने डरले सम्बन्धित अधिकारीले अझै पनि सूचना प्रवाहमा तदारुकता देखाएको पाइँदैन । घुमाउरो शैलीमार्फत् सूचना दिन मिल्दैन, केही समयपछि आउनुहोस्, वेबसाइटमा हेर्नु, सूचना माग्ने तपाई को हो भन्ने प्रति प्रश्नको सामना सूचना मागकर्ताले गरेका हुन्छन् । सही सूचना सम्प्रेषण गर्दा आफ्नो शक्ति गुम्ने र नागरिक चलाख हुने डर अझै पनि शासकहरूमा देखिन्छ । नागरिकलाई अब्बल बनाउन एवम् सुसूचित गराउन सबै सरकारी पक्षको एकनासको मानसिकता देखिँदैन । कसरी हुन्छ नागरिकलाई सूचनाबाट विमुख गराई अवसर तथा लाभहरू आफ्ना मान्छेलाई दिलाउने संकुचित सोच अझै पनि जीवितै छ । काम ओझेलमा पारेर बेथिती मौलाएको हुँदा कतिपय सार्वजनिक निकायले सूचना दिन रुचाउँदैनन् । सार्वजनिक सरोकारका विषयहरू केबल सरकारी कार्यालयका सूचनालाई मात्र समेटिँदैनन्, त्यसले कुनै संघसंस्था, टोलसुधार समिति, दल, समूहलाई पनि समेटेको हुन्छ ।
सार्वजनिक क्षेत्रमा मूल्यवान सूचना छन्, नागरिकको लागी हितकारी सूचना छन् तर, ती सूचनाको प्रयोग भने हुन सकेको छैन । सर्वसाधारण सबैले सूचनाको प्रयोग गर्ने, पाउने हैसियत राख्दैनन् । अझ भन्नु पर्दा सर्वसाधारणले सूचना पाउन निकै लामो समय लाग्छ । सूचना प्राप्त गर्न पनि लागत महँगो हुने र त्यसको प्रयोग तथा खबरदारीमा सुनुवाइ नहुने हुँदा सर्वसाधारण सूचनाको हकप्रति आकर्षित भएको देखिँदैन । जहाँ सूचना पाइन्न वा पाइए पनि त्यसको लागी जटिल प्रकृयाहरू पुरा गर्नुपर्छ । त्यसले गर्दा सर्वसाधारणले सूचना माग्ने प्रयासबाट टाढै बस्न रुचाउँछन् । यो बारेमा राष्ट्रिय सूचना आयोगले सूचना प्रवाहको बारेमा सिंहावलोकन गर्नु आवश्यक छ ।
नागरिकमा सूचना पाउने अधिकारबारे थाहा नहुनु र सम्बन्धित निकायका कर्मचारी उत्तरदायी नबन्नुले सूचना प्राप्त गर्न कठिनाइ भइरहेको छ । कतिपय सार्वजनिक निकायको आफ्नो वेबसाइट नै छैनन् । भएका संस्थाका वेबसाइटमा अद्यावधिक गरिएको पाइँदैन । पुरानै सूचना तथा तथ्यांक देखाएर सूचनाको हक कार्यान्वयन गरिएको छ भन्ने औपचारिकता मात्र सीमित राख्न चाहन्छन् । प्रविधिमैत्री सूचना पहुँचको विकास हुन नसक्नु र त्यसको सुधारका लागि दक्ष जनशक्तिको अभाव नै छ । नेपालका उच्च पदस्थ पदाधिकारीले सार्वजनिक बहसमा गरेको आश्वासन र प्रतिबद्धताअनुसारको सहजरूपमा सूचना पाउन सकस नै हुने गरेको छ । सूचनाको हक कार्यान्वयनका निमित्त विभिन्न विषयमा बहस पैरवी भइरहेको देखियता पनि जिम्मेवार व्यक्तिबाट नै सूचना लुकाउने, नास्ने, बिगार्ने जस्ता गलत कृयाकलाप हुने गरेको पाइन्छ ।
कतिपय सामाजिक अभियन्ताका नाममा आफू चर्चामा आउनका निमित्त दिनै नमिल्ने अर्थात् गोप्य राख्नु पर्ने सूचना पनि माग्ने गरेको र अनावश्यक प्रचारप्रसार गरेको पनि देख्न पाइन्छ । नियामक निकायहरूले नागरिकले सूचना सहजरूपमा किन प्राप्त गर्न सकेनन् भन्ने कुराको कारण खोजे भने सूचनाको हकलाई पूर्ण कार्यान्वयन गर्न सकिन्छ । सूचनालाई पहुँच योग्य, व्यवस्थित, गुणस्तरीय बनाई सूचना प्रवाह प्रकृयालाई एकरूपता कायम गर्नुपर्छ । हाम्रा सरकारी कामकाजहरू छिटो छरितो, मितव्ययी, प्रभावकारी, पारदर्शी तथा गुणस्तरीय बनाउन सूचनाको हक वाञ्छनीय छ । सदाचारिता प्रवद्र्धन गर्न, भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सूचनाको हक सञ्जीवनी बुटी जस्तै मानिन्छ । तसर्थ, सूचनाको हक स्थापित नगरी नेपालमा सुशासन प्रत्याभूति हुन सक्दैन ।
तिव्र प्रविधिको विकास एवम् सामाजिक सञ्जालमा नागरिकको पहुँचले आजभोली केही हदसम्म सार्वजनिक सरोकारका विषयमा सूचना प्राप्त गर्न सजिलो भएको छ । अबका दिनमा सार्वजनिक निकायमा रहेका सूचनालाई डिजिटलाइज गरी अनलाइनबाट सूचना माग्ने र उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । लोकतान्त्रिक व्यवस्थामा सूचनाको हक बलियो आधार स्तम्भ हो, नागरिकले खोजेको बखत सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने मान्यता राखिन्छ । राज्यको काम कारबाहीलाई लोकतान्त्रिक पद्धतिबमोजिम खुला र पारदर्शी बनाई नागरिकप्रति जिम्मेवार र जवाफदेही बनाउन एवम् सार्वजनिक महत्वको सूचनामा आम नागरिक पहुँचलाई प्रवद्र्धन गर्न सूचनाको हक सम्बन्धी ऐन, २०६४ कार्यान्वयनको चरणमा रहेको छ । उक्त ऐनमा प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नु र गराउनु पर्ने बारेमा सार्वजनिक निकायको दायित्वको रूपमा तोकिएको छ । त्यसैगरी सार्वजनिक सूचनाको अद्यावधिक र प्रकाशन, सूचना अधिकारीको व्यवस्था, सूचना प्राप्त गर्ने कार्यविधि, सूचना वापत लाग्ने दस्तुर लगायतका व्यवस्थाहरू ऐनमा रहेको छ । यस ऐनलाई अक्षरशः कार्यान्वयन गर्न सकेको खण्डमा नेपालमा नागरिकले सहजरूपमा सूचना प्राप्त गर्न सक्छन् भन्ने विषयमा विश्वस्त हुन सकिन्छ ।
सूचनाको हकलाई मूर्तरूप दिन सबै सरकारी निकायहरू, नागरिक समाज, राजनीतिकर्मी, विकास साझेदार संस्थाहरू लगायत सबैको प्रतिवद्धताको खाँचो पर्दछ । प्रविधिमैत्री सूचना प्रवाहका लागी जनसंसाधनलाई क्षमतावान बनाउँदै सुधार गर्न सक्नुपर्छ । नागरिकलाई जागरुक बनाउन विद्यालयस्तरमा नै सूचनाको हकका विषयमा पठनपाठन लागू गराउन सकियो भने नागरिकले आफ्नो हकहित अधिकार र दायित्वबारे जानकारी हासिल गर्न सक्छन् । सार्वजनिक संस्थामा हुने गोप्य र अपारदर्शी कार्यशैलीको प्रवृत्तिलाई अन्त्य गर्दै खुला र पारदर्शी शैली अवलम्बन गर्नु जरुरी छ ।
सुसूचित समाजको निर्माण, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न राष्ट्रिय सूचना आयोगले थप रचनात्मक एवम् सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्दछ । सार्वजनिक निकायहरूले सूचनाको हकको कार्यान्वयन गरे नगरेको अनुगमन गर्न नेपाल सरकारले संघ, प्रदेश र जिल्लास्तरमा बनाइएका संयन्त्रहरूलाई प्रभावकारीरूपमा क्रियाशील बनाउनु पर्छ । सूचनाको हकको सम्बन्धमा जनस्तरमा र सरोकारवाला सम्बद्ध निकायबाट उठेका प्रश्न, आवाजलाई सरकारले मनन गर्दै थप सुधारको प्रयास गर्नु पर्छ । सञ्चार माध्यमले पनि यस कानूनी व्यवस्थालाई आम जनतामा पु¥याउनु आवश्यक छ । नागरिक जागरण, सशक्तिकरणबाट सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरण गर्दै सार्वजनिक क्षेत्रमा पारदर्शिता र जवाफदेहिता कायम गराउन सूचनाको हकको बढोत्तरी गर्नु आवश्यक छ ।
–शम्भू कट्टेल
नेपाल कम्युनिष्ट पार्टीका प्रमुख संस्थापक नेता पुष्पलाल नेपाली अग्रगामी परिवर्तन अर्थात् जनवादी क्रान्तिका इमानदार पहरेदार थिए । उनको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाममा २००६ सालमा निकालिएको पर्चा, त्यही सालमा जारी गरिएको नेकपाको घोषणापत्र, २०२५ सालको तेस्रो सम्मेलनले पारित गरेको ‘नयाँ जनवादी कार्यक्रम’ र २०२९ सालको चौथो सम्मेलनले पारित गरेको ‘राजनैतिक प्रतिवेदन’ नेपाली जनवादी क्रान्तिका लागि माक्र्सवादी पथ प्रदर्शक दस्तावेज रहेका छन् । त्यसको लेखनमा उनको प्रमुख हात रहेकोले त्यसमा रहेका विचारहरू पुष्पलालका विचार पनि भन्न सकिन्छ ।
उनले आफ्नै जीवनकालमा ठूला जनआन्दोलनको आयोजन र नेतृत्व गर्न नसके पनि उनले आफ्ना सिद्धान्तमा कहिल्यै सम्झौता गरेनन्, कहिल्यै प्रतिगामी सामु झुकेनन् र सधैँ जनगणतन्त्रको पक्षमा अडिग रहे । जहाँसम्म भारतमा बसेर नेपाली राजनीति गरे भन्ने आलोचना छ, त्यो नेपाली राजनीतिक इतिहासमा सबै राजनीतिक दलहरुको कमजोरीको रुपमा रहेको कुरा हो तथापि, प्रतिबन्ध नभएका बेला नेपालमै बसेर संगठन नगरेका पनि हैनन् ।
पाकिस्तान फुटेर बंगलादेश बन्ने क्रममा भारतले खेलेको कुटिल चालको निन्दा गरेनन् भन्ने जुन आलोचना छ, त्यो मननीय भए पनि त्यसकै आधारमा उनका अरु वैचारिक योगदानलाई ओझेल पार्न मिल्दैन । उनले नेपाली कांग्रेससँग संयुक्त मोर्चा गर्ने नीति लिए भनेर उनलाई गद्दार भन्ने जुन काम गरियो त्यो गलत भएछ भनेर त्यो आरोप लगाउनेले भूल सुधार गरिसकेका छन् । उनले नेकांलाई निरंकुश राजतन्त्रको विरुद्ध आएको हदसम्म कार्यगत एकता भनेका थिए, दीर्घकालीन एकता भनेका थिएनन् । उनले नेकांभित्रका सच्चा प्रजातन्त्रवादी हिस्सालाई मात्र दीर्घकालीन जनवादी संयुक्त मोर्चामा ल्याउनु पर्ने कुरा गरेका थिए ।
वैज्ञानिक समाजवादको पूर्वावस्थाको रूपमा नयाँ जनवादी व्यवस्थालाई तात्कालिक लक्ष्य मान्नु, वैज्ञानिक समाजवादलाई दीर्घकालीन लक्ष्य मान्नु र माक्र्सवाद, लेनिनवाद, माओका विचारलाई मार्गदर्शक सिद्धान्त मान्नुले पनि उनको लाइनबारे प्रष्टता दिन्छ ।
नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न अपनाउनु पर्ने संघर्षको रूप र दिशा (कृषि क्रान्ति, क्रान्तिकारी भूमिसुधार, साझा उत्पादन आन्दोलन, आत्मनिर्भर अर्थतन्त्र, साम्राज्यवाद विरोधी संघर्ष, वर्ग संघर्ष, स्थानीय जनसंघर्ष÷स्थानीय जनसत्तामार्फत केन्द्रीय जनसत्ता, सिद्धान्तनिष्ठ पार्टी एकता, पार्टी एकताभन्दा वर्गहरूबीच अर्थात् वर्गीय स्वार्थ मिल्नेहरूसँग संयुक्त मोर्चामा जोड, खुला तथा भूमिगत संघर्षको सन्तुलन, शहरी र ग्रामीण संघर्षको सन्तुलन, जनताको बल प्रयोग, दीर्घकालीन कृषि सशस्त्र संघर्ष, संसदवादको विरोध, विसर्जनवादको विरोध) जस्ता नेपाली परिप्रेक्ष्यमा मार्गचित्र प्रस्तुत गर्नुले थप उनको क्रान्तिकारी लाइनलाई स्पष्ट पार्छ । नेपाली उत्पीडित जनताको मु्क्ति र राष्ट्रिय स्वाधीनतामा आधारित उपरोक्त लक्ष्य र सो प्राप्त गर्ने बाटोको किटान नेता पुष्पलालका वैचारिक योगदान हो र यो दूरगामी महत्वको छ ।
आज कतिपय आफूलाई कम्युनिष्ट भन्नेहरूले पुष्पलालका विचार छोडिरहेका छन्, उनका विचारविरुद्ध काम गरिरहेका छन् । उनको नामको उपयोग गरेर व्यापार गरिरहेका छन् । नेता पुष्पलालले संसदवाद वा संसदीय चुनावी बाटोलाई कहिल्यै प्राथमिकता दिएनन् । शान्तिपूर्ण संक्रमणलाई कहिल्यै मुक्तिको प्रधान बाटो मानेनन्, सधैँ दीर्घकालीन कृषि क्रान्ति र सशस्त्र कृषि क्रान्ति भनिरहे । क्रान्ति सधैँ जनतामा आधारित हुने र आयात नहुने कुरामा जोड दिए । त्यसैले उनले तत्कालीन रुसी बाटोको विरोध गरेर चिनियाँ बाटो नेपालका लागि बढी उपयुक्त हुने बताए । आज पुष्पलालले संशोधनवादी भनेका नेताहरूको पुच्छर लाग्नेहरू आफूलाई पुष्पलालका अनुयायी बताइरहेका छन् । संसदीय चुनावी बाटो समालेकाहरू आफूलाई पुष्पलालवादी भनिरहेका छन् । वर्ग संघर्ष छाडेकाहरू आफूलाई पुष्पलालका भक्त बताउँछन् । विदेशी शक्तिका पुच्छर लागेकाहरू पुष्पलालवादी बनेका छन् ।
नेता पुष्पलालका विचारलाई स्थापित गर्दा जनवादी क्रान्ति नजिकिने हुँदा उनका विचारको प्रचार प्रसार गर्ने, त्यसबारे सभा गोष्ठी, प्रशिक्षण चलाउने, पार्टी सङ्घसंस्थाहरूलाई पुष्पलालको लाइन लिए नलिएको हेक्का गराउने, पुष्पलालका विचारसँग सम्बन्धित क्रान्तिकारीहरूको खोजी र प्रकाशन गर्ने काम गर्न आवश्यक भएको छ । पुष्पलालका विचार प्रवद्र्धन गर्ने कामलाई संयोजन र व्यवस्थित गर्न एउटा पुष्पलाल विचार प्रवर्द्धन केन्द्रको पनि स्थापना भइरहेको छ । जसमा सबै राष्ट्रिय स्वाधीनता र सामाजिक न्याय प्रेमीहरूको यसमा साथ सहयोग रहनेछ भन्ने आशा गरौँ ।
–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
अहिले केही वर्षा हुनु पूर्व चैत र वैशाखभर अधिकांश वनक्षेत्रमा दनादन आगलागी भइरहेको देखियो, डढेलो नियन्त्रणमा स्थानीय सरकारहरू नै अनभिज्ञ रहे । चैत र वैशाख वसन्त आइरहँदा प्रकृतिमाथि बढी अन्याय भइरहेको देखियो । गत वर्षको आँकडा दिँदै केन्द्रको विपद् न्यूनीकरण प्राधिकरण भने बाढीबाट १८, पहिरोबाट ५०, चट्याङबाट ४६, सर्पदंशबाट २०, हिमपहिरोबाट १२, वन डढेलोबाट मर्ने नेपालीहरूको तथ्यांक देखाएर आफू चोखिन खोजेको भान हुन्थ्यो । प्राधिकरणका अनुसार गत वर्ष आगलागीबाट १०६ जनाको अवसान भएको र ५०६ जना घाइते अनि झण्डै तीन अर्बको धनमाल नोक्सान भएको बताएको छ ।
यो वर्षमात्रै होइन, अतीतदेखि कै मूल समस्या हो हाम्रो यो । मानव, बस्ती र वनमा रहने जैविक प्राणीहरूको अवस्था खराब हुँदै आएको छ । यसै वैशाख महिनाभरिको डढेलोको पीडा त झन् धेरै रह्यो । चैत्रको आरम्भ अघिदेखि नै मौसम अनौठो देखियो, भारी गर्मीको लक्षण पनि, प्रदूषणले त विगत झैँ विश्व रेकर्ड बनायो । वसन्तको आगमनसँगै प्रकृतिको हराभरा मौसम शान्त र नवीन हुनु पर्ने हो । तर, जब जब चैत्र, वैशाखको मौसम शुरु भयो, तब हाम्रो मन कुँडिने अवस्था बन्यो । विगतलाई हेर्दा र भोग्दा निकै भयावह खालको अवस्था छ ।
आगलागी त विदेशमा पनि हुन्छ, अमेरिकाको भीषण डढेलोले कसलाई छोएन र विगतमा । गत वर्ष फागुन २९ गते छिमेकी देश दिल्लीमा आगलागी हुँदा सात जनाको जीवन सकियो, यो राम कहानी हाम्रो देशले धेरै भोगेको छ । वसन्तको आगमनमा नयाँ–नयाँ स्थानहरू खरानी भएका छन् । वनको खरानी मलिलो हुन्छ, झार पातहरू डढ्छन् कृषि पैदावारलाई मल प्राप्त हुन्छ, यस्तै गलत धारणाले मानिस जानेरै आगो लाउँछिन्, डढेलो लाग्छ, जसबाट वन अतिक्रमण त हुन्छ नै, त्यहाँ बास गर्ने जीव जन्तु भाग्न सक्दैनन् मर्छन् जलेर, घस्रने प्राणी त ठाउँको ठाउँ नै सिद्धिन्छन्, र हामी उनीहरूलाई घोर अन्याय गर्छौँ ।
सन् २०१६ मा यस्तै भयो चुरे क्षेत्रमा र त ३१४ पालिकाहरू प्रभावित भए । मधेश प्रदेश बढी प्रभावित हुने स्थान हो र पूर्वको कोशी प्रदेश पनि । देशमा जनघनत्व बढी छ, चरणको अभाव, घाँस, दाउरा, स्याउला, पतंकरको अभाव, आगोका स्रोतको लापरबाही, चुरोट खाँदै ठुटाहरू फालिदिने, ग्याँँस, दाउरा ननिभाई छोड्ने र बाटोको समस्या आगलागी भइहाल्दा दमकल, पानीको अभाव, साँघुरा बाटा अनेकानेक समस्याहरू छन् हाम्रा । तथ्यांक त स्याटलाइटबाट लिनुपर्ने अवस्था, जोखिमको उद्धारमा समस्या, भौगोलिक विकटता केले पिरोलेको छैन हामीलाई ? अझ भनौँ आगलागी, डढेलो नियन्त्रण गर्न जाने मानिसकै अकाल मृत्यु, विपत्ति पनि कति सहनु ? यसपालि सेनाका स्टाफहरू नै मरे र साना बालबालिका पनि ।
पूर्वको ताप्लेजुङ सदा झैँ गत वर्ष पनि आगलागीमा परेको हो, एक को मृत्यु भएको, अलिक वर पाँचथर आगलागीको घटनाले याशोक बजारको अवस्था र लाखौंको धनमाल क्षति भएको हो । त्यसअघि पनि दुई करोड बराबरको धनमाल नष्ट भएका खवर बाहिरिएकै हो । यसपालि आगलागी डढेलोले नछोएको कुनै जिल्ला भएनन् र आकाशको पानी नआई रोकिएनन् पनि यी घटनाहरू । त्यसो त विगत वैशाखदेखि देशले यस्ता २०६३ स्थानको घटनाबाट ८१ जनाको मृत्यु बेहोरिसकेको खबर पहिले नै आयो भने ३५० घाइते भइसकेको पनि र दुई हजार चार सय २८ घर, परिवार प्रभावित भइसकेका पनि । अघिल्लो फागुनमा मात्र देशका ११ जिल्लामा आगलागीका घटना घटे, कहीँ हेलिकप्टरबाट उद्धार गरियो, विगतदेखि यति धेरै घटना हुँदा र अहिले यति धेरै बढ्दा पनि सरकारले समाधानका लागि यसबारे दीर्घकालीन नीति तय गरेको देखिँदैन । वर्षामा बाढी, पहिरो र डुबानको विपत्, हिउँदमा आगलागीसहित विभिन्न समस्या । विगत पाँच वर्षको मात्र अध्ययन गर्ने हो भने पनि १६ अर्ब बढीको धनमाल र छ सय जनाभन्दा बढीको मृत्यु यस्तै घटनाबाट भइसकेको छ ।
वर्षा अधिक भए पनि पिउने पानीको सधैँ हाहाकार छ, वर्षे पानीको भण्डारण र त्यसको उपचार पद्धतिको अभाव छ । देशमा पोष्ट मौसमको समय १५ असौजदेखि १५ मंसिरमा पनि पानी परेको अवस्था छ । १६ मंसिरदेखि १५ फागुनको समय हिउँद यसमा कठ्याङ्ग्रिँदो चिसो, धूवाँ, धूलोले स्वास्थ्यमा समस्या, जहिले पनि मनोवैज्ञानिक त्रासै त्रास छ देशमा । यतिबेला वर्षाको प्रायः अभावले प्रदूषण बढेको हो । मार्च महिना भनेको प्रि मौसमको समय हो, तर पानी परेन, यतिबेला हावाहुरी, आगलागी, चट्याङको समस्या धेरै हुने गर्छन्, गरेका छन् । भूकम्प, बाढी, पहिरो हाम्रो नियति भएको छ, भोग्नै पर्छ, साँच्चै देशको विपत्ति पहिलो श्रेणीको हो आगलागीको घटना र दोस्रोमा पर्छ चट्याङ्गको समस्या । विगतमा एक वर्षमा चट्याङ्गको घटना संख्या २३२ र ६७ जनाले यसैबाट आफ्नो जीवनी अन्त्य गर्न पुगे । चट्याङकै कारण ६२ लाख २९ हजार पाँच सय बराबरको धनमाल नोक्सान भएको विपत् न्यूनीकरण प्राधिकरणको भनाइ रह्यो । चैत वैशाखमा किसानहरू प्रायः मकै बारीको काम, चैते धानका कारण खेत बारीतिरै रहन्छन् । यस्ता विपत्तिमा पर्ने पनि तिनै हुन्छन् बढी । देशमा मौसम पूर्वानुमानका संकेत दिने स्थानहरू नभएका होइनन् र पनि तिनमा प्रविधिको अभाव छ वा के हो काम भएको छैन ।
मेलम्चीको सपना अधुरो छ, चुनाव लाग्दा होहल्ला हुन्छ, धारामा पानी छैन, नहुँदा पनि बिलले ढाड सेकाउँछ, उपभोक्ताको । अहिले मेलम्ची फर्कने हल्ला चलिसकेको छ । सिँचाइको अभाव छ, खेती उर्वर छैन, उत्पादन घटेको छ, व्यापार घाटाको समस्या छ, यसका बारे गम्भीर हुनुपर्ने नेतृत्व हो, उसलाई चुनाव, सत्ता गठबन्धन, समीकरणतिर भ्याइ नभ्याइ छ । संसद्को हालत सबैलाई थाहा छ त्यहाँ बहस हुन्न यस्ता कुरा । सुख्खा मौसममा आगलागी, डढेलो, चट्याङ आदि विपत्ति बढी हुनु स्वाभाविक हो । पहाडी जन जीवन जंगलका कारण चट्याङको सम्भावना बढ्ने र यसकै कारण बढी आगलागी हुने गरेको अनुभव छ । तराईमा गर्मी धेरै हुने, घरहरू फुसको, खरका छाना हुन्छन्, खाना पकाइसकेपछि सामान्य लापरबाहीले ठूलो आगलागीमा परी ज्यान जोखिममा परेका घटना धेरै छन् । तराई क्षेत्र, पाँचथर, ताप्लेजुङ, भोजपुर, इलाम, पश्चिमी भू–भाग लुम्बिनी आदि क्षेत्र त्यस्तै छन् । यसपालि ललितपुर, रसुवा, काभ्रे, खोटाङ, नवलपरासी, अर्घाखाँचीलगायत १० जिल्लाको भ्रमण गरिरहँदा पङ्क्तिकारले अधिकांश स्थानहरूमा डढेलो लागिरहेको र बाँकी स्थानहरू डोजरले पेलिरहेको दृश्य टिठ लाग्दो देखेको हो । मौसम पूर्वानुमान झैँ चट्याङको पूर्वानुमान गर्न सकिने प्रविधि जडान गर्ने सरकारी भनाइ छ र पनि प्राकृतिक र मानव निर्मित मानौँ सधैँ आइरहने विपत्ति सहिरहनु नेपालीको नियति नै भएको छ । चट्याङकै कारण वर्षेनी हामीकहाँ एक सय औसतमा मानिसको ज्यान जाने गरेको यथार्थ पनि छ । नेतृत्व एकजुट भई राष्ट्रिय एजेण्डामा जान सकेको छैन । बाढी, पहिरो, हावाहुरी, चट्याङ र आगलागीका घटनाहरूले मुलुकलाई आक्रान्त नै पारेको छ । हामीसँग विश्वव्यापी जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनको दक्षता सीप र क्षमता छैन । वर्षेनी भूक्षय, बाढी, पहिरोले उर्वर मलिलो माटो बगेर खेर गएको छ भने पानीको धनी देश भएर पनि त्यसको उपयोग गर्न सकिएको छैन, पानीको प्रयोगका लागि अर्काको मुख ताक्नु परेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहन्छ, आयातको विकल्प खोजिएकै छैन । कहिले भूकम्प, कहिले अतिवृष्टि, कहिले अनावृष्टि त कहिले बाढी र पहिरो अनि हावाहुरी लगायत आगजनीको चपेटोले मुलुक आक्रान्त छ । चट्याङ, खडेरी, विभिन्न रोगका महामारी मात्रै होइन, शीतलहर र हिमपात ताल तलैयाहरूको विस्फोटको सम्भावनाले पनि देशलाई आक्रान्त बनाएकै छ । हैजा, बर्डफ्लु, स्वाइन फ्लुका घटनाले पनि जीवन धराशायी भएकै हो । । विपद् न्यूनीकरणका लागि केन्द्र, जिल्लाहरूमा व्यवस्थापन समिति, आपतकालीन गोदाम घरको स्थापना, मानवीय सहायता कक्षको स्थापना पनि नभएको होइन, क्षेत्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरू पनि नभएका होइनन् । सुरक्षा निकायलाई उच्च सतर्क गराइएको अवस्था पनि हो । तर मुलुकको मौसम अवस्थाले सधैँ सबै ठाउँमा राहत र आपत् उद्धारका कार्यलाई तिव्र बनाउन सक्ने अवस्था छैन ।
भौतिक विकासको स्वरुप तय गर्दा पछि पर्न सक्ने वातावरणीय असर, सम्भावना, चुनौति सबै अध्ययन र अनुसन्धान गर्न जरुरी छ । बजेट तान्ने प्रवृत्ति, विकासको नाममा जथाभावी डोजर आतंक गरिनु हुन्न । माटोको अवस्था नहेरी ठूला भवनहरू निर्माण गर्न दिनु हुन्न । विकास भनेको सहरीकरण मात्रै होइन । मानवीय सहजीकरण पनि हो । राजधानीका सडक र अव्यवस्थित बसोवास हेर्दा देशका प्राविधिक योजना शून्य प्राय भएको निष्कर्ष निस्कन्छ । दुई चार घण्टाको अविरल वर्षाले विकसित भनिएको काठमाडौं उपत्यका एकै क्षणमा कुरूप भैहाल्ने गरेको छ । वस्ती सुरक्षित छैन । दमकल, पानीको गाडी नपुग्ने टोल, बस्ती राजधानीमा धेरै छन् । गर्भवती, सुत्केरी, रोगी बाल वृद्धहरूको पीडा सही नसक्नु छ । संघीयता भए पछि सबै यहीँ थुप्रनु पर्ने किन ? दलका नेताहरूलाई केन्द्रमै आवास बनाइदिएर पाल्नु पर्ने किन ? दुर्गम क्षेत्र बढी कष्टकर छ । पीडितको सही पहिचान, पीडितलाई तत्काल राहत र पुनर्स्थापना सम्बन्धी कार्यमा पनि एकरूपता भएन । संघ–संस्थाहरूबीच समन्वयको अभाव छ । जताततै राजनीतिकरण हुने गरेको छ । निमुखाले सहारा नपाउने अवस्था छ । विकासको ठूलै नारा दिने सरकारले पूँजीगत खर्च गर्न सकेको छ । स्थानीय तहको बेरुजु इतिहासमै उच्च छ । महँगी बढेको छ, आय आर्जनका ढोकाहरू सबै बन्द नै छन् ।
–नारायण गाउँले
हाम्रा शहरहरू खाडीको मरूभूमिभन्दा तातो र प्रदूषित हुँदै जानुको कारण के होला ? पहाडी उपत्यका काठमाडौं र मरुभूमि शहर रियादको तापक्रम उस्तै–उस्तै किन भएको होला ? भरतपुर, भैरहवा, जनकपुर, नेपालगञ्जलगायतका शहरहरूको तापक्रम अरबका आबुधाबी, रियाद र दुबईको स्तरमा हुन पुगे । हामी हिमालयको काखमा छौं, नदीहरूले घेरिएका छौं, जङ्गलहरू पनि छन् । तर, बर्सेनि हाम्रो तापक्रम बढ्दो छ । तराईका शहरमा यतिबेला तातो हावा बग्दै छ । चुरे क्षेत्रमा १२ महिना खोलाहरू बग्थे, कहिल्यै नसुक्ने पानीका मूलहरू थिए । हाम्रो पुस्ता त्यही खोलामा पौडी खेल्दै हुर्कियो, खोलापारीका मूलको पानी पिएर बढ्यो । नदी र खोलाहरू सफा थिए । पहाड–तराई गर्नेहरू खोलाछेउछाउ विश्राम गर्थे, अँजुलीमा उभाएर त्यही पानी पिउँथे । ती खोलामा स्थानीय साधनस्रोत र जनशक्तिकै भरमा बाँध बाँधेर ठूला–ठूला कुलाहरू चल्थे । आज धेरैका खोलाका डामहरू मात्रै छन्, ती पनि कति त घरहरूले पुरिएर नक्सामा मात्रै छन् !
केही वर्षअघि सम्म काठमाडौंमा लामखुट्टे र झिँगा भेट्न मुस्किल हुन्थ्यो । पंखाको त कल्पना पनि थिएन । घरहरूमा त्यसका लागि ‘वायरिंग’ नै थिएन । चिसो मौसमका कारण आँप फल्दैनथ्यो । आज सबै कुरा भेटिन्छ । त्यत्ति मात्रै होइन, मानव–स्वास्थ्यका लागि विश्वकै सबैभन्दा खतरनाक शहर बनेको छ । कुनै एउटा नदी छैन जसमा पानी जस्तै देखिने पानी बगोस् ! नदी नै नदीको देश र शहरमा धारामा पानी आउँदैन ।
अरू त छोड्नुस्, हाम्रा हिमाल पनि सेता रहिरहलान् भन्ने आशा बाँकी छैन । कतिमा त हिउँ नै पर्न छोड्यो । ती काला र अग्ला पहाडजस्ता देखिन्छन् । आज विश्व नै ठूलो वातावरणीय सङ्कटतिर उन्मुख देखिन्छ । त्यसमाथि अव्यवस्थित शहरीकरण, आवश्यकताभन्दा ठूला कंक्रिटका घर र संरचनाहरू, भूमिगत जलको अत्यधिक दोहनलगायतका हाम्रा अविवेकी कदमहरूले गर्दा हजार वर्षपछि होइन, आउने पुस्ताकै लागि पनि बाँच्न योग्य वातावरण हामीले दिन नसक्ने हो कि जस्तो देखिन्छ ।
हामी यही विश्वको एउटा सानो अङ्ग हौं । हामीले मात्रै गरेर हुने सबै कुरा छैनन् । थोरै होस् तर, हामीलाई प्रत्यक्ष असर पारिरहेका क्षेत्रमा हामीले नै गर्नुपर्छ । उदाहरण या सिक्नका लागि नर्वे उपयुक्त हुन सक्छ । नर्वे प्राकृतिक ग्यासको विश्वकै चौथो ठूलो बिक्रेता हो । अमेरिका, रसिया र कतारपछि उसैको नाम आउँछ । विश्वमा पेट्रोलियम खपत घट्यो भने उसको अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्छ । र पनि त्यहाँ नयाँ तेल खानीहरूमा प्रतिबन्ध लगाउने बहस र काम सुरु भएको छ । अबको एक दुई वर्षभित्रै पेट्रोल र डिजेलबाट चल्ने कारहरूको आयात या बिक्री बन्द गर्ने राष्ट्रिय सहमति बनेको छ । प्रदूषणको एउटा घटक यो क्षेत्र पनि हो ।
नेपालले त यो सजिलै गर्न सक्छ । हामीसँग कार या गाडीको उत्पादन नै छैन । पैसा तिरेर किन्नै पर्ने भएपछि इलेक्ट्रिक मात्रै किने भयो । पैसा तिरेर प्रदूषण किन किन्नु ? राज्यले खर्च गर्न पनि पर्दैन । एउटा नीति बनाए पुग्यो । चार्जर त बजार आफैले बनाउँछ । आफ्नो कार उद्योगको भविष्य के होला भन्ने चिन्ता पनि भएन ।
दोस्रो, हामीसँग त पेट्रोलको एक थोपा उत्पादन पनि छैन । राष्ट्रिय अर्थतन्त्रमा असर पर्ला भन्ने पनि छैन । बरु हाम्रो कुल निर्यातभन्दा दोब्बर त पेट्रोलियम आयातमै खर्च हुने रहेछ । त्यो आधा बच्यो भने पनि व्यापारघाटा कम हुन्छ र हामीले फेर्ने सास स्वच्छ हुन्छ । तर दुर्भाग्य, हामीले रेल पनि डिजेल वाला किन्दै छौं ।
जलाधार क्षेत्र संरक्षण गर्ने, देशैभरि मध्यमस्तरका जलाशय निर्माण गर्ने, डढेलो नियन्त्रणमा स्थानीय स्रोत–साधन र प्रविधि गाँसेर प्रभावकारी योजना बनाउने, भूमिगत जलको अति दोहन रोक्न ठोस योजना ल्याउने, बिजुली बेच्ने लोकप्रिय नाराभन्दा बिजुलीको उपयोग बढाएर पेट्रोलियम आयात घटाउने, एउटा घर बराबर दुई वटा रूख हुने गरी अबको बस्ती प्लानिङ गर्ने, फुटपाथ र अनिवार्य ढल निकासको व्यवस्था गर्ने, गर्मी र सुख्खामा पनि बाँच्नसक्ने घाँसहरू खाली ठाउँमा रोपेर धुलो कम गर्ने लगायतका साना र आफ्नै बलबुताका काम तुरुन्त गर्न पर्ने हो । तर सत्ता होस् कि प्रतिपक्ष, हाम्रो ध्यान र साधनस्रोत आफ्नै जयगान र पेट पूजामा सीमित हुँदासम्म के आशा गर्नु र ?
–नेत्र सुवेदी ‘प्रयास’
शास्त्रमा जुन व्यक्तिले मनलाई बसमा राख्न सक्छ ऊ नै सफल हुनसक्छ भनिएको छ । मनलाई तह लगाउने उपाय भनेको साधना हो, योग हो, ध्यान हो, सत्सङ्ग हो र अध्ययन हो । जीवनलाई सही मार्गमा लगाउने बाटो नै जीवन विज्ञान हो । भनिएको छ कि हामीलाई आवश्यक पर्ने पाँच किसिमका धन हुन्छन् । वित्तीय धनले पैसा र सम्पत्तिको स्वामित्वको कुरा गर्दछ, सामाजिक धनमा समाजले दिएको स्थान र लोकप्रियता पर्दछ । समयको धनले केही नयाँ काम गर्ने स्वतन्त्रतालाई इङ्गित गर्दछ । भौतिक धनले अरु केही नभएर स्वास्थ्य र तत्परतालाई इङ्गित गर्दछ र आध्यात्मिक धनले मनको शान्ति तथा स्वयम्को सम्मानलाई जोड दिन्छ ।
शरीर, मन र आत्मालाई बलियो राख्ने शुद्ध राख्ने र कर्मशील राख्ने कलाबाट नै खुसी र समृद्धि प्राप्त हुने गर्दछ । आफूभित्र समाधान खोज्न सक्षम हुनका लागि पनि योग र ध्यानको सहयोग लिँदा शारीरिक, मानसिक, भावनात्मक तथा आत्मिक स्वास्थ्यका साथै आनन्द प्राप्त हुन जान्छ । व्यक्तिले आन्तरिक यात्रा गर्नका लागि प्रथमत अन्तरमुखी हुन जरुरी हुने र पूर्वीय सभ्यता विभिन्न प्रसङ्गहरूको सहयोगले आत्मिक रूपान्तरणको पथ देखाउने र साधनाको असल प्रभाव सम्बन्धमा पुष्टि गर्ने अभियान जीवन विज्ञानमा रहेको छ ।
अहंकारबाट ॐकारतिरको यात्रा
हामी सबैमा कुनै न कुनै लेभलको इगो छ, अहंकार छ । व्यक्तिमा हुने शक्तिका दुई वर्ग छन् । पहिलो अहंकारको शक्ति र दोस्रो ॐकारको शक्ति । पहिलो वर्गको शक्ति अर्थात् अहंकार समस्याको कारण हो भने दोस्रो शक्ति अर्थात ॐकार भने व्यक्तिको जीवनमा व्याप्त समस्याको समाधान हो । अहंकारबाट सिर्जित चार शक्तिका रूपमा ज्ञानी छु भन्ने अहंकार, शारिरीक बल छ भन्ने अहंकार, साधनाको अहंकार र दैवी शक्तिको अहंकारलाई व्याख्या गरिएको छ । यी सबै अहंकारका रूपले हामीलाई छद्मरूपमा शक्तिशाली अनुभूत गराए पनि, विविध विषयमा केही न केही प्राप्ति भएको जस्तो देखिए तापनि समग्र परिणाममा भने हाम्रो काम राम्रो हुँदैन ।
सुख जस्तो देखिए तापनि दुःखको निर्माणमा ती शक्तिले योगदान गरिरहेका हुन्छन् । परिणाम राम्रो हुनका लागि त अहंकारलाई निर्मूल वा विसर्जन गर्न सक्नुपर्दछ । इन्द्रियले दिने अनुभूतिभन्दा बाहिर जान सक्नुपर्दछ अर्थात् इन्द्रियातित हुन सक्नुपर्दछ । त्यस्तो शक्तिलाई ॐकारको शक्ति नाम दिइएको छ । अर्थात् हामीमा दोस्रो वर्गको शक्ति पनि आवश्यक पर्दछ अझ भनौँ पाँचौँ शक्तिका रूपमा ॐकारलाई अवलम्बन गर्न सक्नुपर्दछ । ताकि बाँकी चार वटा शक्तिले पैदा गर्ने खराबीलाई न्यूनीकरण वा निर्मूल गर्न सकियोस् । ॐकारको जानकारी राख्ने र साधना गर्ने व्यक्ति मात्र वास्तवमा शक्तिशाली हुन सक्छ । ॐकारको हामीसँग भएर पनि शरीरभन्दा अलग रहेको मानिन्छ । सबै शक्तिको स्रोतचाहिँ यही ॐकारको शक्ति मानिएको छ । यो अनुपम आनन्ददायक शक्तिलाई परमात्माको शक्ति पनि भनिन्छ र यो अविनाशी हुन्छ । अहंकाररूपी शक्तिलाई ॐकाररूपी शक्तिमा रूपान्तरण गर्नका लागि निरन्तरको साधना भने आवश्यक पर्दछ र जीवन विज्ञानको मार्गमा साधनाको व्यवस्थित अभ्यास सिकाइन्छ ।
प्रश्न उठ्न सक्छ कि अहम् रूपी भारी कसरी बिसाउने ? अहम् बढ्दै जाने एउटै कारण छ त्यो के हो भने हामी परिवारमा, संगठनमा, समाजमा केही राम्रो काम भएको छ भने आफ्नै कारणले भएको हो भन्न मन पराउँछौँ । केही अपजस वा असमर्थता आइलाग्यो भने त्यो अरुको कारणले भएको भन्न रुचाउँछौँ । समय पायो कि अरुको कुरा काट्न हामीलाई मजा लाग्छ, समय गएको पत्तो नै हुँदैन । संसारको एक कुनामा एउटा झिनो काममा हाम्रो जीविका चलिरहेको छ, होला केही सामाजिक काम तथा मानवसेवाको काम पनि गरेका हौंला तर आफू नभई संसार नै रोकिन्छ, सामाजिक काम अगाडि बढ्दैन, मैले काम नगरी कसरी नतिजा आउला भन्ने खालको हामीले बोकिरहेको अहंकारको महान् भारी बिसाउनै पर्दछ । कामको राम्रो परिणाम आउनुमा समाज वा परिवार राम्रोसँग चल्नुमा साथी, परिवार तथा समुदायका सदस्य वा कुनै समूहलाई जस दिन जानिन्छ र अझ राम्रो कामको लागि जब प्रेरक बन्न सकिन्छ अनि मात्र हामी अहंकारको च्यादर हटाउन थाल्दछौँ । यो कार्यका लागि पनि समग्र जगतमा हाम्रो राम्रो वा नराम्रो छुट्याउने शक्ति जगाउन जरुरी हुन्छ ।
तीन किसिमका फोहोर
संसारमा नयाँ–नयाँ रोगले मानव सभ्यतालाई चुनौती दिइरहेको हुन्छ । कहिले त रोगले महामारीकै रूप लिने गरेको छ । यस्तो रोगको कारण विवेचना गर्दा मूलतः फोहोरको कारण रोगको जन्म भएको पाइन्छ । त्यसमा पनि मात्र तीन किसिमका फोहोर मध्ये कुनै एक वा दुई वा तीनको संयोगबाट हामीलाई लाग्ने रोग जटिल हुँदै गएको हुन्छ । ती तीन किसिमको फोहोर भनेको शरीरको फोहोर, मनको फोहोर र वातावरणको फोहोर हो । शरीरभित्र फोहोर कसरी प्रवेश गर्दछ । शरीरभित्र कहाँ कहाँ फोहोर जम्मा भएर बस्छ अनि के कस्ता फोहरहरू हामीले शरीरबाहिर निष्कासन गर्नुपर्दछ भन्ने महत्वपूर्ण विषय हो । हामीले लिने श्वाससँग, खानेकुरासँग, पिउने कुरासँग शरीरभित्रको फोहोर सम्बन्धित छ ।
रोग लाग्ने र एकबाट अर्कोमा सर्ने प्रकृया कि शरीरको फोहर र कि वातावरणको फोहोरसँग सम्बन्धित हुन्छ । अहिले बढ्दै गएको र विश्वभर भयावह असर देखाइरहेको मनको फोहोर हो । हाम्रो मनमा जागृत हुने काम, क्रोध, लोभ, मोह, इष्र्या र द्वेषका कारण हामी व्यक्तिगत र सामाजिक रूपमा असल कार्य गर्न सक्दैनौँ । मनको फोहोरको कारण शरीर पनि कमजोर बन्दै जान्छ । यी तीन प्रकारका फोहरको पहिचान गरी फोहोर हुनै नदिने र रहे भएको फोहोर सफा गर्नका लागि साधना आवश्यक छ, असल जीवनप्रणालीको अभ्यास आवश्यक छ ।
समृद्धिका लागि त्रिशक्ति र त्रिगुणको विकास
हामी आफ्नो कर्म क्षेत्रमा आत्मा निष्ठाका साथ काम गर्नुपर्दछ । जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने काम कदापि गर्नुहुँदैन । जीवनलाई सबल, सक्षम र समुन्नत बनाउनका लागि शारीरिक, मानसिक र आत्मिक शक्तिको अभ्यास गर्नुपर्दछ । त्यस्तै दुर्गुणबाट सद्गुणतर्फको यात्रा तय गर्नुपर्दछ । यसको लागि एकैदिनमा एकैछिनमा सम्भव छैन निरन्तरको साधना आवश्यक छ । तेस्रो गुण अर्थात निर्गुण परमात्माको क्षेत्र हो । निर्गुण निराकार निरञ्जन मानिने भगवान हुन् ।
हामी आफूमा भगवत तत्व जगाउन सक्दछौँ । निर्गुण अवस्थामा उपलब्ध हुने अवसरका लागि ध्यान आवश्यक छ । राम्रो नराम्रो, ठीक बेठीक, मेरो तेरो भन्ने भावनाबाट निर्देशित वा विचलित नभई समान रहन सक्ने कला आवश्यक छ । परधर्म भयावह भनिएको पनि छ । आफ्नो काममा ध्यान कम हुने तर अरुले गर्ने गरेको काममा बढी चासो राख्ने काम घातक हुन्छ । समय बर्बादी गर्ने, अल्छी हुने र अरुको चियोचर्चो गर्ने भन्दा पनि आफ्नो कामलाई माया गरेर समर्पित भावले लागिपर्ने व्यक्तिले मात्र समृद्धि प्राप्त गर्ने क्षमता राख्दछ ।
खुसी हुने सूत्र
चयन हाम्रै हो फैसला आफ्नै हो सद्गुण प्रयोग गर्ने वा दुर्गुणहरू प्रयोग गर्ने । दुःख दिने खालका आफैभित्र रहेका खराबी वा अहमका विभिन्न पक्षहरू चिन्न र हटाउन सक्नुपर्दछ । ध्यानबाट प्रेम र शान्ति उत्पन्न हुने हुँदा नियमत ध्यान गर्नु श्रेयस्कर छ । शान्ति, स्थिरता र प्रेममा अहंकारको कामै छैन । तसर्थ, अहंकारप्रति सजग हुनु अति आवश्यक छ । चञ्चल मनलाई एकाग्र गर्न सकेमा मात्र खुशी प्राप्त हुन्छ । अरुसँग प्रेमपूर्ण सम्बन्ध राख्नुपर्दछ । खासगरी कर्मसँग, व्यक्तिसँग, विषयसँग र प्राकृतिक सम्पदासँगको सम्बन्ध प्रेमपूर्ण हुनु जरुरी छ । यसका लागि पनि साधना आवश्यक छ । वास्तवमा हाम्रै जीवनशैली र आनिबानीका कारणले हाम्रो जीवनको फल प्राप्त हुने हो । अर्को शब्दमा भन्नुपर्दा हामी जे खोज्यो त्यही पाउँछौँ सुख वा दुःख ।
विचारको कब्जियत हुनु पनि दुःखको कारण हो । साँघुरो विचार लिनु, आफ्नो र आफ्नाको मात्र चिन्तन गर्नु कदापि राम्रो होइन । के चाहिँ बुझ्न जरुरी छ भने हाम्रो सबभन्दा नजिक धन सम्पत्ति वा अरु कोही व्यक्ति नभएर हामी आफ्नै शरीर छ, यसको हित हुने काम गर्दै अगाडि बढ्न जरुरी छ । यही शरीरमा हामीलाई निरन्तर सताउने हाम्रो मन छ । यो मनलाई ठेगानमा राख्नका लागि पनि हामी श्वासप्रश्वाससँग जोडिएको प्राणायाम साधना, विपश्यनालगायतका योग तथा ध्यान गर्न सक्छौँ । यसको लागि जीवन विज्ञान उपयुक्त स्थान वा प्लेटफर्म हुन सक्छ ।
(लेखक, नेपाल सरकारका सहसचिव हुन् ।)
–सुरेश भट्ट
नेपाली कांग्रेसका नेता गगन थापा समकालीन राजनीतिज्ञहरूमा प्रखर वक्ताका रूपमा चिनिन्छन् । कुनै पनि विषयमा आफ्नो स्पष्ट दृष्टिकोण राख्न सक्ने नेताका रूपमा चिनिएका थापा तत्कालीन शाही शासनविरुद्ध राजनीतिक दलहरूले गरेको प्रतिगमन विरुद्धको जनआन्दोलनका एक जना नायकको परिचय बनाएका थिए । तत्कालीन समयमा पार्टी नेतृत्वले आन्दोलन हाँक्दै गर्दा सडकमा भने थापासहितका विद्यार्थी र तरुण युवा नेताहरूले आन्दोलनको मोर्चा सम्हाल्थे ।
३० वर्षे पञ्चायतविरुद्ध २०४६ सालमा भएको आन्दोलनमा स्कुले विद्यार्थीकै हैसियतमा आन्दोलनमा निस्किएका थापा त्यसयता मूलधारको राजनीतिमा झुकाव राख्दै आएका थिए । विद्यालय पढ्दैदेखि नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघमा आवद्ध थापा उच्च शिक्षा अध्ययनका क्रममा क्याम्पसमा पढ्दा पनि नेविसंघको राजनीति समाल्ने नेताको रूपमा स्थापित भए ।
शाही शासनको बेलामा अर्धभूमिगत शैलीमा काठमाडौंमा रहेर आन्दोलनमा सक्रिय रहेकै बेलामा थापालाई प्रहरीले लैनचौरबाट पक्राउ गर्यो । तत्कालीन सरकारले गगनलाई राजद्रोहको मुद्दा लगायो । अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले थापालाई उक्त समयमा आस्थाको वन्दी घोषणा गर्यो ।
लोकतान्त्रिक आन्दोलनमा गगन प्रखर वक्तव्य, धारिलो बहस गर्नसक्ने र देशको समसामयिक विषयका साथै पार्टीभित्र पनि आफूलाई उचित लागेको विषयमा प्रखर रूपमा आवाज उठाउने थापा चुनौति मोल्न सक्ने नेताका रूपमा परिचित भएकै कारण राजनीतिमा भर्खर भर्खरै पाइला चालेका युवाहरूको प्रेरणाको पात्र मात्र बनेनन् उनको लोकप्रियता सँगै नेपाली राजनीतिमा आशालाग्दा थापाको छवि गगनभरी छरियो ।
देश वर्तमान अवस्थामा अनगिन्ती संकटहरूको मारमा छ । खासगरी राजनीतिमा नैतिकताको खडेरी परेका बखत यी संकटबाट कसरी व्यक्तिगत या दलीय लाभ लिन सकिन्छ भन्ने ध्याउन्नमा मात्र नेताहरू देखिछन् भने यसैको रापतापमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता केपी शर्मा ओलीले रवि लामिछानेलाई गगन थापासँग राजनीतिक ब्याटल गराउँदै आफूहरू सत्ताको रसस्वादन गर्दैछन् । यो रणनीति रास्वपाका सभापतिले बुझ्न चाहेनन् उनलाई पनि सत्तालिप्सा महत्वकांक्षाले पार्टी प्रति घट्दै गइरहेको जनविश्वासभन्दा गृहमन्त्रीको पद ठूलो लाग्यो ।
रास्वपाका सभापति तथा गृहमन्त्री लामिछाने यतिबेला सहकारी ठगी प्रकरणले चौतर्फीरूपमा घेराबन्दी र आलोचनाको शिकार भएको अवस्था छ । उनलाई उक्साएर अपमानजनक तरिकाले सत्ता त्याग्नुपर्ने अवस्थामा पुर्याउने कुटिल रणनीतिमा सरकार साझेदार पार्टी र उग्रपन्थीहरूले प्रपञ्च रचिरहेको सजिलोसँग बुझ्न सकिन्छ । सम्भवतः त्यही उक्साहटमा उनले प्रधानमन्त्री, महान्यायाधिवक्ता तथा प्रहरी प्रमुखमार्फत आफू सहकारी घोटालामा निर्दोष भएको सन्देश दिन एकहदसम्म प्रयास गरे । तर, लोकतन्त्रको हिमायती बनेको प्रतिपक्षी दल नेपाली कांग्रेसलाई त्यति सजिलोसँग चित्त कहाँ बुझ्थ्यो र ! मुद्दा विहीन कांग्रेसले मुद्दा पायो । रविको विरुद्ध आगो ओकल्न र सहकारी पीडितलाई न्याय दिलाउने ढाडस योजनावद्ध रूपमा संसद्मा प्रवेश गर्यो ।
रवि नै सहकारी ठग हो । भन्ने भाष्य निर्माण गर्दै नेपाली कांग्रेसका सचेतक रमेश लेखकले सुरुवाती ब्याटिङ गरेता पनि अहिले पार्टी राजनीतिभित्र विकल्पको राजनीतिमा सफलता प्राप्तिका लागि आफूलाई पटक–पटक अग्निकुण्डमा होमेका, स्वास्थ्यमन्त्री भइसकेका, लामो राजनीतिक पृष्ठभूमि भएका थापा र स्टण्ड गर्न मयूर लामिछानेबिचको लडाइँले एकले अर्कोलाई राजनीति छोड्न चेतावनीसमेत दिन थालिसकेका छन् । आफूले लिएको अडानबाट पछि हट्न नजानेका थापा संसदीय छानबिन समितिको पक्षमा प्रतिपक्षी दलको बेञ्चबाट धुवाँदार अभिव्यक्ति दिँदै सत्तारूढ दलहरूलाई हायलकायल बनाइरहेका छन् भने सत्तापक्षको तर्फबाट माओवादी नेताहरूको उत्तरबाट बगिरहेको पहेँलो धातुको कालो कारोबारमा बरोबर नाम आइरहने त्रास र सत्ता टिकाइराख्न लामिछानेप्रति करुणाभाव देखाउँछन्, देखाइएका छन् । ‘राजनीति विषाक्त र निर्मम हुन्छ’ भन्ने भाष्य रवि लामिछाने र गगन थापा जस्ता युवाबीचकै टकरावले देखाउँदैछ । यसरी गिजोलिनु पर्ला भन्ने परिकल्पना बाहिर थिएन, सायद । नेपाली राजनीति न हो, हिजोका हितैषी, आजका दुस्मन स्वभाविक थियो ।
राजनीतिमा लाग्नेहरूलाई आक्षेप लाग्छन् । आरोप लगाउने, आरोप स्थापित गराउने, छानबिन कहिल्यै पनि नहुने र क्लिन चिट नपाउने परिपाटी जो छ, राजनीतिमा त्यसले मरणोपरान्तसम्म पनि पिछा नछोड्ने हुँदा यस्ता कुरासँग नयाँ पार्टी डराउनु पर्थ्यो । यस मानेमा फरक देखिनुपथ्र्यो, नयाँ पार्टीका नेताहरूमाथि आरोप लागिसकेपछि छानबिनमा सहयोग गरेर निष्कर्षमा पुर्याएको भए लामिछानेले यो आक्षेपको भारी बोकेर हिँडिरहनुपर्ने थिएन ।
लामिछानेले सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट ‘मलाई बोल्न देउ दूधको दूध पानीको पानी देखाइदिन्छु’ भनेपनि जनताको नजरमा निर्दोष भएको प्रमाण पुग्दैन । गृहमन्त्रीबाट राजीनामा दिएर आफूमाथि छानबिन गर्न बाटो नखोल्दासम्म हालसम्म भएको छानबिन शंकाको घेरामा रहन्छ, प्रश्न उठ्छ स्पष्ट हुनु जरुरी छ । नेपाली कांग्रेसले मागेको संसदीय छानबिन समिति स्वीकार गर्न र राजीनामा दिन तयार नहुनाले पनि लामिछाने आफू हार्दै र थापालाई जिताउँदै छन् ।
एउटा अर्थशास्त्रीको विद्यार्थीले सबैभन्दा पहिला अभावबाट सिक्छ भनेझैँ रास्वपा सभापति लामिछानेले देशले मागेको नयाँ राजनीतिक अभावबाट सिक्नुपर्ने थियो । सोहीअनुसार निर्णय गर्नुपथ्र्यो । तर, त्यसो भएन । उनी झन् झन् आफैंले विवाद बढाउँदै लगे । जुन निकै बिडम्बनापूर्ण छ । यसले युवापंक्तिमा नयाँ शक्तिमाथि र युवा शक्तिमाथि नै अविश्वासको अवस्था बनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies