दोलखाः दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मङ्गलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए । सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै छ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको उनले बताए । तस्करको समूहले सुन खरिदबापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिनासमेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक खड्का बताउँछन् ।
दोलखा प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अधिकारीसहितको संयुक्त टोलीले करिब दुई महिना लगाएर गरेको अनुसन्धानका क्रममा सुन तस्करको समूहले चिनियाँ तस्करलाई नेपालबाट क्रिप्टोकरेन्सी अर्थात् डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटी भुक्तानी गरेको देखिएको छ । सो युनिट युएसडिटीको नेपाली कारोबार मूल्य करिब तीन खर्ब ८७ अर्बभन्दा बढी हुन आउँछ । नेपालमा क्रिप्टोकरेन्सी युएसडिटीको कारोबार प्रतियुनिट मूल्य एक सय ३३ देखि रु एक सय ३८ सम्म अवैधरूपमा कारोबार हुँदै आएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा सिआइबीबाट खटिएका प्रहरी निरीक्षक रामकृष्ण पाठकका अनुसार सो रकम विभिन्न १२ डिजिटल वालेटको प्रयोग गरी क्रिप्टोमार्फत भुक्तानी गरिएको हो । यसरी भुक्तानी गरिएको रकम सुन तस्करीसँगै अन्य तस्करीसँग पनि जोडिएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । प्रहरी अनुसन्धानका क्रममा सुन तस्करको गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेका थिए ।
तिब्बतबाट अवैधरूपमा सुन नेपाल भित्र्याई काठमाडौं लगेर बिक्री गरेपछि पुनः त्यहाँबाट डलरलाई शिलबन्दी गरी प्याक गरेर लामाबगरको फलाकबाट डोरीमा बाँधेर खोला तारी चिनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पाठकले बताए ।
सो समूहले एक वर्षको अवधिमा सात लाख ६० हजार अमेरिकी डलर अर्थात् रु. १० करोड ११ लाख १८ हजार डोरीमा बाँधेर खोला तारी चिनियाँलाई भुक्तानी गरेको देखिएको छ । विसं २०७९ मङ्सिरदेखि कात्तिक ८ गतेसम्म एउटै समूहले छपटक गरी ३३ किलो सुन भित्र्याएको अनुसन्धानबाट खुलेको छ । दोलखाका प्रहरी प्रमुख खड्का भन्छन्, ‘बाह्र जना अझै फरार छन् । उनीहरू पक्राउ परेपछि तस्करीमा संलग्न व्यक्ति थपिन सक्छन् । उनीहरूलाई पूरक अभियोग लगाइने छ ।’
प्रहरीले लामाबगरको फलाक नाकाबाट भित्रिएको ३३ किलो सुनमध्ये ११ किलो सुन दोलखाबाट र अनुसन्धानका क्रममा पाँच सय ३२ ग्राम सुनका गहना बरामद गरेको थियो । सो सुनको मूल्य रु. १० करोड ६८ लाख ६८ हजार सात सय ६१ बराबर रहेको छ । प्रहरीले सुन तस्करीमा संलग्न व्यक्तिबाट रु. १८ लाख ३३ हजार पाँच सय नगद बरामद गरेको थियो भने उनीहरूको नाममा विभिन्न बैंकमा रहेको रु. ३१ लाख ७४ हजार छ सय ६५ रोक्का राखेको छ ।
दोलखा प्रहरीले सुन तस्करीमा संलग्न मुख्य नाइके चिनियाँ नागरिक ग्याङ र आकर लामासहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । तीमध्ये एकजना बालकलाई हाजिर जमानीमा रिहा गरेको थियो । बाँकी १४ जनालाई हिरासतमा राखी करिब दुई महिना अनुसन्धान गरिएको थियो । दोलखा प्रहरी र सिआइबीको टोलीले सुन तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदनसहित पक्राउ परेकालाई जिल्ला सरकारी वकिल कार्यालय दोलखामा बुझाएको छ ।
उनीहरुउपर भन्सार ऐन, २०६४, सङ्गठित अपराध निवारण ऐन, २०७०, नेपाल राष्ट्र बैंक ऐन, २०५८, बालबालिकासम्बन्धी ऐन, २०७५ र मुलुकी अपराधसंहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
सुन तस्करीमा संलग्न भई फरार रहेका अन्य १२ जनाको खोजी भइरहेको र उनीहरू पक्राउ परेपछि पूरक अभियोग लिएर जाने प्रहरीका अनुसन्धान अधिकारीले बताएका छन् । सुन तस्करीको अनुसन्धानमा संलग्न सिआइबीका प्रहरी निरीक्षक पाठकका अनुसार क्रिप्टोमार्फत १२ डिजिटल वालेट प्रयोग गरी भएको भुक्तानी सम्भवतः अहिलेसम्मकै ठूलो रकम हो । यो विषय पक्राउ परेकाहरूको डिजिटल इक्विपमेन्टको फरेन्सी ल्याब परीक्षणबाट खुलेको हो । क्रिप्टोकरेन्सीको ब्रोकरका रूपमा काम गरेकी महिमा माझीको डिजिटल फरेन्सी ल्याबको रिर्पोट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस
कन्चनपुरः कन्चनपुरको महेन्द्रनगरमा व्यापारीलाई धाकधम्की दिएर पाँच लाख फिरौती मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । व्यापारीसित फिरौती माग्ने बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल महेन्द्रनगर बस्दै आएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका घर भई भीमदत्त नगरपालिका– ३ बस्ने २६ वर्षीय नरेश साउदलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले आज पत्रकार सम्मेलन गरी जोशी र साउदलाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट खुकुरी, चक्कु, विभिन्न कम्पनीको सिमकार्ड, मोबाइल सेटलगायतका सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
‘अभियुक्तद्वयले विभिन्न व्यापारीको सूचि तयार गरेर डरधम्की दिएर फिरौती रकम माग गर्ने गरेको पाइयो’, उनले भने, ‘व्यापारीले तीन लाख दिने तयारीगरेसँगै हामीले अभियुक्तद्वयलाई नियन्त्रणमा लिएका हौँ ।’ मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २१ को दफा दुई सय ५३ बमोजिम आवश्यक कारबाहीका लागि मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौंः काठमाडौंबाट नक्कली नेपाली रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका–३ घर भई गोकर्णेश्वर नगरपालिका–७ बस्ने ६८ वर्षीय गोकर्ण बहादुर थापा रहेका छन् ।
उनीहरूको साथबाट ३ लाख ४९ हजार नक्कली रूपैयाँ बरामद भएको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गेरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहित भारतीय महिला पक्राउ परेकी छिन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतकी ३२ वर्षीया किमरोसाङ रहेकी छिन् ।
हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले जाँच गर्ने क्रममा सुटकेसमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको अवस्थामा आइतबार पक्राउ परेको हो ।
उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
बर्दियाः १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका–६ सोनाहफाँट बस्ने ४० वर्षीय प्रकाश खवास रहेका छन् ।
खवासले ती किशोरीलाई ललाई फकाई कात्तिक २८ गते राति सोही ठाउँस्थित खाली गोठमा तथा विभिन्न मिति र स्थानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मनाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापाः झापामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–१ रैते बस्ने २८ वर्षीय दिल बहादुर क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल , प्रोमेथाजिन ४२ एम्पुल र ब्रुप्रेनोर्फिन ३९ एम्पुल सोमबार बरामद गरेको हो ।
उनले घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी अर्जुनचौपारी स्याङजाबाट खटिएको प्रहरीले उनको घरमा राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः स्रोत नखुलेको रकमसहित २ जना सहित पक्राउ परेका छन् । काठमाडौंको बल्खु चोकबाट नगद ४ लाख ९ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेकी छिन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र ०२–०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।
काठमाडौंः बर्दियाको गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ का सुरेश भन्ने सुयस थापा रहेका छन् ।
गत कात्तिक २७ गते राति साढे १२ बजे गुलरिया नगरपालिका–५ का २० वर्षीय बरुणलाई एक समूहले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो । उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
यसअघि घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सुयससँगै पक्राउ पर्नेको संख्या ८ पुगेको हो । २ जना अझै फरार छन् ।
झापाः झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मेचिनगर नगरपालिका–७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी रहेका छन् । राजवंशीले ती किशोरीलाई सोही नगरपालिका–८ टोकला चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः प्रहरीले ११ हजार ७ सय ८० थान पटाकासहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाकासहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies