धर्मेन्द्र दाहाल/मध्यान्ह
हेटौँडा : अपहरण गरेर फिरौती माग्ने थुप्रै घटनाहरु नेपालमा सार्वजनिक हुने गरेका छन् । तर बागमती प्रदेशको राजधानी हेटौँडामा भने नयाँ घटना सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का एक युवाले आफ्ना साथिहरुसँग मिलेर आफ्नै सहोदार ठूलोबुबाको घरमा गोली प्रहार गर्दै एक करोड रुपैयाँ मागेपछि प्रहरीको फन्दामा परेका छन् ।
घटना गत १९ मंसिरको हो । हेटौँडा ९ का ३३ वर्षीय निश्चल पौडेल आफ्ना दुईजना साथिहरु ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीसहित आफ्ना ठूलोबुबा सूर्यप्रसाद पौडेलको घर आसपास पुग्छन् ।
हातमा स्वचालित पेस्तोल लिएर पुगेका उनले ठूलोबुबाको घरको भित्तामा एकाएक गोली वर्षाउँछन् र मोबाइलमार्फत हिन्दी भाषामा एक करोडको माग गर्छन् । आफुलाई एक करोड नदिए अर्को पटक भित्तामा मात्र गोली नपड्कने चेतावनी दिँदै उनीहरुको टोली त्यहाँबाट हिँड्छन् । उनीहरुले हिन्दी फिल्ममा प्रयोग हुने ‘डाईलग’को प्रयोग गरी फिल्मी शैलीमा फिरौती रकम मागेका थिए । यो ‘ट्रेलर’ मात्र भएको र आफुले भनेको रकम नदिए पूरा फिल्म देखाउने भन्दै उनीहरुले सूर्यप्रसादलाई आतंकित बनाएका थिए ।
एकाएक घरमा गोली प्रहार भएपछि आत्तिएका सूर्यप्रसादले उक्त कुरा तुरुन्त प्रहरीलाई भन्छन् । घरमा गोली प्रहार गरेर एक करोड रुपैयाँ फिरौती मागेको घटना मकवानपुरको पहिलो घटना भएको र निकै संवेदनशिल विषय भएको भन्दै मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल आफैं घटनाको अनुसन्धानमा खटिए । तीन दिनको अनुसन्धानपछि प्रहरीले गोली प्रहार गरेर फिरौती माग्ने व्यक्तिलाई पक्राउ गर्न सफल भयो । प्रहरीले घटना भएको घरको वरपरको सीसीटीभीको सहायताले अपराधमा संलग्नहरुको खोजीकार्य गरेपछि सफलता हात पारेको हो । घटनाका योजनाकार सूर्यप्रसादका आफ्नै भतिज रहेको थाहा पाएपछि प्रहरी पनि चकित परेको थियो ।
प्रहरीले घटनाको मुख्य योजनाकार निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली समेत बरामद गरेको छ । हेटौँडा ९ घर भएपनि निश्चल हेटौँडा ४ मा डेरागरी बस्थे । प्रहरीले उनीहरु बस्ने कोठामा छापा मार्दा २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट आधुनिक स्वचालित पेस्तोल कहाँबाट आयो भन्ने विषयमा गहन अनुसन्धान गरिरहेको जनाएको छ । मकवानपुरको सन्दर्भमा घरमा गोली प्रहार गरेर फिरौती रकम मागेको घटना पहिलो र निकै गम्भीर किसिमको रहेको भन्दै प्रहरीले तीनैजनाको म्याद थप गरेर थप अनुसन्धानको कामलाई अघि बढाएको छ ।
काठमाडौं : प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भइ काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो ।
बाँकेः कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन् । लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर–८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको हो । उनीहरुबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो सात सय चार ग्राम चरेस, दुई किलो एक सय १६ ग्राम अफिम बरामद गरेको हो ।
रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो । साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले २०७३ साल असार ३ गते लागूऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लागूऔषध नियन्त्रण ऐनअनुसार उनीहरुलाई १४ देखि १५ वर्ष वा जन्मकैद र पाँच लाखदेखि रु. २५ लाखसम्म जरिवाना हुनसक्नेछ ।
रसुवाः उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।
निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षणका लागि शव रसुवा अस्पताल पुर्याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लुम्बिनीः अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।
सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सुत्केरी पछि मङ्गलबार मृत्यु भएको विषयलाई लिएर विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मङ्गलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो । विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा. बस्यालमाथि हातपात भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।
उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेकोसमेत बताए । घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।
विवादका क्रममा चिकित्सकमाथि हातपात गर्ने मृतकका आफन्तमध्येका केही व्यक्तिलाई नियन्त्रणमा लिइएकोसमेत प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । लुम्बिनी चिकित्सक सङ्घका सचिव डा. सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए । उनले चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरे ।
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
आयोगले प्रहरी नायब निरीक्षक साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको हो ।
आयोगले साउदलाई रु. ३० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरबाट आज पक्राउ गरेको हो । आरोपी प्रनानी साउदमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
काठमाडौंः काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषधसहित दुई जना पक्राउ परेको छन् । खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विक रहेका छन् ।
भद्रपुरबाट काठमाडौं आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।
इलामको माई नगरपालिका–३ चियाकमानबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम तीन सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुदिपकुमार दनुवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौंः रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो । साथै सेन्टरबाट दुई नाबालिका र एक युवतीलाई प्रहरीले उद्दार गरेको छ ।
स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।
युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जाल मार्फत आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
रातोपुल र एयरपोर्ट नजिकै रहेका पौडेलका दुई वटा स्पा सेन्टरमा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको प्रहरीको भनाइ छ । पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । मंगलबार बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए ।
‘पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो’, उनले भने । उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।
गुल्मीः गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पूर्पक्षका लागि सोमबार जेल चलान भएका हुन् ।
गत कात्तिक १७ गते उक्त बालिकाको शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा शव फेला परेको थियो । बालिकाको दर्दनाक अवस्थामा खोलामा शव फेला परेपछि स्थानीयले बलात्कारपछि हत्याको आशङ्का गर्दै विरोध र प्रदर्शनमा उत्रिएका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशोर प्रधानसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर अनुसन्धानपछि शङ्कास्पद व्यक्ति खाँलाई नियन्त्रणमा लिएको थियो ।
मृतक बालिका शान्तिपुरको श्रीलङ्काटोलमा आमासँग डेरामा घरमा बस्दै आएकी थिइन् । आमासँग घर नजिकैको खेतमा काम गर्न गएकी उनी कात्तिक १६ गते बिहान ११ बजे खेतलालाई सुर्ति किन्न बजार गएपछि सम्पर्कबिहीन बनेकी थिइन । गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी जिल्ला अदालतमा पेस गरेको थियो ।
गुल्मी जिल्ला अदालतले सोमबार खाँलाई पूर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । हत्या आरोपी खाँलाई प्रहरीले गत कात्तिक १७ गते चन्द्रकोट गाउँपािलका ‐४ अन्तर्गत शान्तिपुरबाट पक्राउ गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies