काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार चार सय निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा रु १० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय २५ निर्धारण भएको छ ।
दमौली - बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो ।
किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिनुभयो । त्यसमा ४० प्रतिशत किसानको साझेदारी छ । स्थानीयलाई मह उत्पादनमा आकर्षित गर्दै ग्रामीणस्तरमा पोषण परिपूर्ति गर्ने उद्देश्यका साथ मौरीसहितको घार उपलब्ध गराइएको उनले बताए ।
वडाका हरेक किसानलाई समृद्धिसँग जोड्ने अभियानस्वरुप सहयोग गरिएको बताउँदै उनले भने ‘वडाभित्रका हरेकलाई आयआर्जनसँग जोड्ने सोच राखेका छौं। वडाले पशुपालन, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेको छ । उद्यम गर्न चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्नेछ ।’ उत्पादित महको बजारीकरणका लागि पनि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष लामिछानेले बताए ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण अन्तिम चरणमा छ । जेठ १५ गते नयाँ बजेट आउने भएकाले समेत निजी क्षेत्र अगामी बजेट अर्थतन्त्र चलायनमान हुन आवश्यक रहेको बताइरहेका छन् । बजेट फाइनल गर्ने क्रम बढेसँगै अर्थमन्त्री, अर्थसचिव, विज्ञ, व्यवसायीबिच छलफल अन्तक्रिया चालिरहेको छ । अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै निजी क्षेत्र आगामी बजेट प्रति धेरै नै आशा र अपेक्षा गरेका छन् । अर्थमन्त्रीले समेत आगामी बजेट अर्थतन्त्र सुधारको प्रयासमै केन्द्रित हुने आश्वासन दिइरहेका छन् । यसै सन्दर्भमा नेपाल नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालसँग मध्यान्हका छबि सापकोटाले गरेको ५ प्रश्न ।
सरकारको नीति तथा कार्यक्रम र बजेट बन्दैछ । व्यवसायीले के अपेक्षा गरेका छन् ?
अहिले अर्थतन्त्र मन्दीमै छ । उद्योग व्यवसाय गर्नेहरु व्यवसाय बढाउने भन्दा पनि पलायनको मनस्थितिमा देखिन्छन् । उद्योगी व्यवसायी लगानी गर्न, बढाउन हिच्किचाइरहेको अवस्था छ । अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्मको गिरावट आएको छ । अहिलेको शिथिल अर्थतन्त्रलाई ट्रयाक ल्याउने हो भने निजी क्षेत्रमैत्री नीति तथा कार्यक्रमको साथै उदार अर्थतन्त्रलाई समेट्ने बजेटको आशा व्यवसायीको छ । सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिले अब सुस्ताएको अर्थतन्त्रलाई माथि उकास्नै पर्छ । विगतमा व्यवसायीले उद्योग सञ्चालन गर्ने आत्मविश्वास गुमेको थियो त्यसलाई तोड्नु पर्छ ।
त्यसो भए अहिले बजेटले सम्बोधन गर्नुपर्ने मुख्य कुरा के हो ?
सबै भन्दा पहिलो कुरा अहिले जसरी व्यवसायीहरुको मनोबल घटेको छ त्यसलाई उठाउनै पर्छ । विगतमा वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा त्यसको असर अहिलेसम्म समेत देखिएको छ । विगतमा राष्ट्र बैंकले लिएर केही नीतिको कारण अर्थतन्त्र अझै चलायनमान भइरहको छैन । अहिले कुनै पनि क्षेत्रको व्यापार छैन । उत्पादन र बिक्रि कम छ । निर्माण क्षेत्र अस्तव्यस्त छ । शेयर बजार, घरजग्गा कारोबारमा किन्ने भन्दा बेच्ने धेरै नै छ । त्यसैले बजेट लिखित भाषण भन्दा पनि ठोस मार्ग निर्देशन गर्ने बनाउनु आवश्यक छ । आगामी बजेट प्रति हामी उद्यमी व्यवसायीले ठूलो अपेक्षा गरेका छौं । प्रधानमन्त्री, पुर्वप्रधानमन्त्री, अर्थमन्त्री, अर्थसचिवलाई अर्थतन्त्रलाई चलायमान गराउने बजेट बनाउन आग्रह गरेका छौ । उहाँहरुसमेत सकरात्मक रुपमा लाग्नु भएको छ भने हामी आशावादी छौं ।
आर्थिक मन्दीको असर व्यवसायमा छ भनिरहनु भएको छ । मन्दीलाई तत्काल समाधान गर्न के गर्नुपर्ला ?
आर्थिक मन्दी अहिले एकै पटक भएको होइन । २०७६ मा जसरी विश्वव्यापी रुपमा कोभिडको संक्रमण बढ्यो त्यसपछिका ४ वर्ष अर्थतन्त्र उतारचढावमै छ । अब त होला भन्नेहरु समेत निरास बन्ने अवस्था छ । विगतमा आर्थिक मन्दीका कारणले कति उद्यमी मानसिक रुपमा पीडित भए । अर्काे कुरा उद्यमी व्यवसायी राहत दिने कार्यक्रमलाई भरपर्दाे बनाउन नसक्दा निजी क्षेत्रका समस्या समाधान हुन सकिरहेको छैन । अब स्थिर व्याजदर, करका दर, सरकारको नीति, कानूनलाई दीर्घकालीन रुपमै एक रुपता बनाउन आवश्यक छ । त्यसको साथै स्थिर सरकार समेत आवश्यक छ । कुन बेला सरकार परिर्वतन हुने हो ? फेरी अर्काे सरकारले कस्तो नीति ल्याउने हो ? लगानीकर्तालाई विश्वस्त बनाउन सक्ने वातावरण बजेटले ल्याउनुपर्छ । तीन तहको सरकारबीच समन्यव गरेर अर्थतन्त्र सुधारको लागि निरन्तरता भन्दा पनि क्रमभंगता गर्ने बजेटले नै अहिलेको समस्या समाधान हुन्छ ।
अबको बजेट आन्तरिक उत्पादन बढाउन के गर्नुपर्छ ?
हाम्रो देशको अर्थतन्त्र सुधार गर्ने हो भने आन्तरिक उत्पादनलाई बढावा दिन आवश्यक छ । नेपालमा ५ हजार भन्दाबढी वस्तु निर्वाध आयात हुँदा आन्तरिक उत्पादनको बजार धरासायी नै छ । नेपालको सानो बजारले विशाल दुई छिमेकी मुलका बजारसँग प्रतिपर्धा गर्नु परेको छ । त्यसैमाथि राजस्व नतिरी अवैध रुपमा भित्रने सामानले नेपाली उद्योग धन्दा झनै समस्या छन् । सरकारले निजी क्षेत्रले जहाँ राम्रो गरेको छ त्यहि कर लगाउने तर आयात हुने बस्तुमा लाग्ने कर र दायरा बनाउन नसक्दा नेपाली उद्यमी मारमा पर्दै आएका छन् । अब आन्तरिक उत्पादनलाई प्राथमिकता दिने बजेट बन्नै पर्छ ।
अन्त्यमा निजी क्षेत्रको बजेटमा सुझाव के हो ?
हामीले सरकारलाई लामो समयदेखि सरकारलाई आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक बताइरहेका छौं । निजी क्षेत्रको मनोबल माथी नउठेसम्म बजेट सफल हुदैन् । लचिलो बजेट बनाए विगतमा सरकार लिएका गलत नीतिलाई सच्चाउनै पर्छ । यस्तै अहिले पनि सय वर्ष पुराना कानून छन् । कानुन थोत्रा हुँदा समेत त्यहि कानूनको आधारमा व्यवसायीलाई दुःख लिने काम भइरहेको छ । उद्योगी व्यवसायीले बैंकको पैसा चलाउन समेत डराइरहेको अवस्था छ । बैंकका पैसा थुप्रिने तर, लगानीकर्ताको मनोबल घट्ने अवस्थाको अन्त्य बजेटले गर्नुपर्छ । व्यवसाय गर्ने जो कोहीलाई रेड कार्पेटमा स्वागत गर्ने वातावरण नबनेसम्म अहिलेको समस्या हल हुन निकै कठिन छ । बजेटमा नयाँ केही नहुने हो भने युवाहरुको पलायनसँगै उद्योगी व्यवसायीको समेत पलायन हुने डर छ ।
काठमाडौं : नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सको नयाँ अनुमति प्राप्त गरेको छ । २१ करोड रुपैयाँ बराबरको दस्तुर नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएर टेलिकमले थप पाँच वर्षका लागि शुक्रबारदेखि नयाँ लाइसेन्स प्राप्त गरेको हो । प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले बताएका छन् ।
यसअघि टेलिकमले २९ वैशाख २०५६ मा २५ वर्षे अवधिको लाइसेन्स पाएको थियो । सो लाइसेन्सको अवधि शुक्रबारदेखि नै सकिएको छ । नेपाल टेलिकमलाई नयाँ अनुमति पत्र जारी गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनका लागि दूरसञ्चार ऐन २०५३ को दफा २० को अधिकार प्रयोग गरी सो निर्देशन दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
सुनिल कार्की/मध्यान्ह
पाल्पा : ‘सम्मानित निजी क्षेत्र समुन्नत नेपाल’ भन्ने अभिप्रायका साथ आगाडि बढेको पाल्पा उद्योग वाणिज्य संघ तानसेनले जिल्लाका उद्योगी, व्यापारी र व्यवसायीको सहजताका लागि भिसिटिएस छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । राजस्व अनुशन्धान कार्यालय बुटवल र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा सञ्चालित एकदिने अभिमुखीकरण कार्यक्रममा जिल्लाका ७० भन्दा बढी उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । राजस्व अनुशन्धान कार्यालय बुटवलका राजस्व अधिकृत हुम पाण्डे र राजन कुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण एवम् अन्तरक्रिया कार्याक्रममा भिसिटिएसको आवश्यकता, यसको फाइदा, महत्व, कानूनी कारबाही हुने अवस्था र जरिवानालगायतका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा सहभागी उद्योगी व्यापारीले भिसिटिएसको प्रयोग गर्ने तरिका, देखिन सक्ने जटिलता र यसको सहजताका लागि राज्यले दिनसक्ने सुविधालगायतको बारेमा जिज्ञासा राखेका थिए ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जिल्लाका उद्योगी व्यवसायीले खेप्न बाध्य समस्या समाधानका लागि आफू सधैं तयार रहेको बताए । कर र राजस्व छल्ने विषय राज्यलाई नै कमजोर बनाउने काम मात्र भएकाले इमानदार भएर अगाडि बढेको खण्डमा राज्य उद्योगी व्यवसायीकै पक्षमा उभिने बताए । यस्तै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बढ्दो उद्योगी व्यवासायीको पलायनलाई रोक्न आवश्यक रहेको बताए । उनले भने, ‘पाल्पा उद्योग वाणिज्य संघ व्यवसायी पलायनको गति रोक्न गम्भीर ढंगले अगाडि बढेको छ । अब उद्योगी व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी देखिन्छ ।’
अध्यक्ष भट्टराईले तीनै तहका सरकार निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर जान सकेको खण्डमा र व्यवसायीमैत्री नीति तथा कार्यक्रम बनाउन सकेको अवस्थामा मात्र व्यवसाय फस्टाउने बताए । करदाता सेवा कार्यालय पाल्पाका प्रमुख कर अधिकृत सन्तोष सुवेदीले सबै उद्योगी व्यावसायी राज्यको नजरमा गलत नरहेको भन्दै लापरबाही र संवेदनशील नबनी करको चुहावट गर्नेलाई मात्र फरक ढंगले हेर्ने बताए । कतिपय उद्योगी व्यवसायी जानेर नजानेर पनि करको दायरमा आउन नसकेको देखिएकाले करदाता सेवा कार्यालय पाल्पाले आगामी दिनमा कर शिक्षा गाउँदेखि बजारसम्मै विस्तार गर्ने बताए ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जन, पूर्वअध्यक्षहरु मोहन प्रसाद श्रेष्ठ, हरि रायमाझी, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत थमन बहादुर सारु, राजस्व अनुसन्धान कार्यालय बुटवलका नायब सुब्बा दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
क्षितिज किरण/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको ग्लोबल डेरी उद्योगले मोहीको व्यावसायिक उत्पादन शुरु गरेको छ । उक्त उद्योगले वैशाख पहिलो हप्तादेखि दैनिक एक हजार लिटर मोही उत्पादन गरेर बिक्री शुरु गरेको हो । ५० करोड लगानीमा ९ वर्षअघि सञ्चालनमा आएको नेपालकै दोस्रो ठूलो डेरी उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी मोहीको व्यवसायिक उत्पादन शुरु गरेको हो । उद्योगले एक लिटरको बोतलमा मोही बजारमा ल्याएको छ ।
शुरुवाती चरणमा कपिलवस्तुका २ वटा स्थानीय तहका बजार क्षेत्रमा दैनिक एक हजार लिटर मोही बिक्री भइरहेको उद्योगका सञ्चालक जनक न्यौपानेले जानकारी दिए । ‘बुद्धभूमि’ ब्राण्डमा बजारमा आएको मोहीको उपभोक्ता मूल्य ५० रुपैयाँ कायम गरिएको छ । बोतल र स्टिकरमा मात्र १५ रुपैयाँ खर्च भएकाले उद्योगको प्रतिबोतल लागत ४० रुपैयाँ रहेको न्यौपानेले बताए ।
अहिलेलाई उत्पादन गरेको ५ दिनसम्म मोही उपभोगयोग्य हुने उद्योगले जनाएको छ । ‘दैनिक उत्पादन हुने एक हजार लिटर मोही ५ दिन अगावै बिक्री भएको छ, बजारबाट एकदमै राम्रो रेस्पोन्स आएको छ’, न्यौपानेले भने । बजारमा पाइने बहुराष्ट्रिय र अन्य कम्पनीका चिसो पेय पदार्थको विकल्पमा उपभोक्ताले मोहीलाई राम्रो भनेर सकारात्मक प्रतिक्रिया दिएपछि आफूहरु उत्साहित भएको न्यौपानेले बताए ।
मोहीको बिक्री वितरण प्रदेशभर र भविष्यमा देशभर गर्ने लक्ष्यसहित खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट मोहीको छुट्टै अनुज्ञापत्र लिने प्रक्रिया अघि बढेको र लगानी थपेर काम गर्न लागेको उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताए । मोहीको व्यावसायिक उत्पादन सफल भएमा किसानको दुध बिक्री नहुने समस्या हट्ने उद्योगका अर्का सञ्चालक कमल न्यौपानेले बताए । हाल ५० हजार लिटर दुध बिक्री गरिरहेको उद्योगले भविष्यमा धुलो (पाउडर) दुध उत्पादन र मोहीको उत्पादन बढाएर दैनिक एक लाख लिटर दुध व्यवस्थापन गर्ने योजना रहेको न्यौपानेले बताए । उनले यसलाई कपिलवस्तुको मौलिक पहिचानको रुपमा विकास गर्ने बताए ।
नारायणी पूर्वमा ७ वटा पाउडर दुग्ध उद्योग रहेको, तर नारायणी पश्चिममा एउटा पनि पाउडर दुग्ध उद्योग नभएकाले सरकारले यसका लागि अनुमति दिनुपर्ने उनको माग छ । यो उद्योगका लुम्बिनी प्रदेशमा ८१ स्थानमा दुध संकलन केन्द्र सञ्चालनमा छन् भने १५ हजार किसान आबद्ध छन् । उद्योगले २ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
काठमाडौं : राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले वैशाख २६ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ । प्रदर्शनीमा महका परिकार, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, मह, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार लगायतको उत्पादन उपभोक्तको आकर्षण देखिन्छ ।
काठ/ढुंगा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि लगायतका स्टलमा उपभोक्ताको भिड देखिन्छ । मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन । शुक्रबार नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीसंगको भेटवार्तामा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि पहल गर्ने बताएका हुन् । चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण समेत गराएको थियो । चेम्बरका पदाधिकारी टोलीले भक्तपुरको बालकोटस्थित निवासमा ओलीसँगको भेटवार्तामा अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्वोधन गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशत सम्मको गिरावट आएको बताए । शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान एवं निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अध्यक्ष अग्रवालले बताए । उनले भने, ‘विगतमा लिएका संकुचित नीतिहरुका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ, व्यापार असहजीकरण, शेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधी खुम्चिएको छ, सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ, ।’
चेम्बर अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि अविलम्व पहल गर्न आग्रह गरेका छन् । सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरु पीडित भएका र सो क्षेत्रको समस्या अविलम्व समाधान हुनुपर्ने चेम्बरको माग छ । विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरुलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पुर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको छ ।
काठमाडौं : कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौत भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने छन् । छुट पाउन सेवा लिएबापतको भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डमार्फत् गर्नुपर्ने छ ।
कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौं मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयबाट सामान्य डेन्टल सेवा लिँदा १० प्रतिशत, विशेष डेन्टल सेवामा ७ प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट र पहिलो भिजिटमा निःशुल्क आँखा परीक्षण प्राप्त गर्न सक्ने केन्द्रले जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं : ज्योति विकास बैंकले बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ को सिएसआर कार्यक्रमहरु अन्तर्गत ई–नेबल नेपाल नामक संस्थामार्फत् १५ जना बालबालिकाहरुलाई थ्रीडी प्रिन्टेड प्रोस्थेटिक हात हस्तान्तरण गरेको हो ।
ई–नेबल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठको उपस्थितिमा उक्त कृत्रिम हातहरु आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको हो । प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ ।
कार्यक्रममा जन्मजातै हात नभएका तथा कुनै दुर्घटनामा परी हात गुमाएका बालबालिकाहरुलाई उक्त कृत्रिम हात प्रदान गरिएको बैंकले जनाएको छ । बालबालिकाको आवश्यकता अनुसार नाप लिई प्राकृतिक मानव हात अनुरुप चलाउन सकिने उक्त कृत्रिम हातहरु बालबालिकाको पठन–पाठनमा सहयोग तथा भविष्यमा हात नभएको कारण कुनै पनि अवसरबाट वञ्चित नहुन् भन्ने मनशायले बैंकले प्रदान गरेको छ ।
ज्योति विकास बैंकले आफ्नो १५ औ वार्षिकोत्सवको अवसरमा ई–नेबल नेपालसँग सहकार्य गरी १५ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । थ्रीडी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरु हलुका हुनुको साथै औंलाहरु चलाउन पनि सकिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies