काठमाडौं : कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एडसिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको छ ।
यी रेष्टुरेण्टहरुमा कोकसँग स्पेसल मिलकम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केहि खानाहरुसँग निःशुल्क कोक प्राप्त गर्न सक्नेछन् । कोका–कोलाको कोक प्लस मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ बैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्ने कम्पनीले जनाएको छ ।
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरीका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी गरेको सम्मानमा ग्लोबल बैंक पनि सम्मानित भएको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।
ग्लोबल फाइनान्स म्यागजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बंगलादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
काठमाडौं : कुमारी बैंक र भरतपुर चितवनस्थित निको बाल अस्पतालबीच कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले निको बाल अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा व्यूआर गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
काठमाडौं : नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इस्टिच्युट बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सिएन वैद्यले हस्ताक्षर गरेका हुन् ।
अब कोषका सहभागी, शेयरधनी, कर्मचारी र उनीहरुका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिने छ । कोष सञ्चालक समितिका सदस्य, कोष कर्मचारी, र कर्मचारीका आश्रित परिवारले बेडमा १०, डाइग्नोष्टिकमा १०, औषधि खरिदमा ५ प्रतिशत छुट पाउने छन् भने उपत्यका भित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सहभागी र सहभागीका परिवारलाई बेडमा १०, डाइग्नोष्टिकमा १०, औषधि खरिदमा ५ र एम्बुलेन्स सेवामा २५ प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ ।
काठमाडौं : नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । प्रभातफेरी र्याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरु अंकित ब्यानरहरु प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए । अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरुले न्यून आय भएका र विपन्न बर्गलाई लक्षित गरी गाउँगाउँमा सेवा विस्तार गर्नुपर्छ, नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरुले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरुका बारेमा आमरुपमा जानकारी गराउनुपर्छ ।’
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रसम्म बीमा सेवाविस्तार गर्न तथा न्यून आयभएका र विपन्न बर्गलाई बीमाको दायरामा ल्याउन जोड दिनुपर्ने बताए ।
काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले कृषि क्षेत्र बाहेकका क्षेत्रमा सहुलियतपूर्ण कर्जा रोक्न उपयुक्त हुने सहित विभिन्न आर्थिक क्षेत्रहरु समेटेर सरकारलाई एक सय ९० वटा सुझाव दिएको छ । देशको आर्थिक विकास र उत्पादनसँग प्रत्यक्ष जोडिएको मौद्रिक तथा वित्तीय क्षेत्रको सुधारका लागि केन्द्रीय बैंकले महत्वपूर्ण सुझाव दिएको हो । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि १९० वटा सुझाव दिएको बताए ।
पर्यटनसँग सम्बन्धित १९ वटा, कृषि, पशु, वनसँग सम्बन्धित २५, उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी एक सय ९० सुझाव अर्थ मन्त्रालयलाई दिएको अधिकारीले बताए । सातै प्रदेशबाट संकलित सुझावका आधारमा राष्ट्र बैंकले मन्त्रालयलाई सुझाव दिएको उनले बताए । नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था ऐन, २०७३, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४, सुरक्षित कारोबार ऐन, दामासाही ऐन लगायतका वित्तीय क्षेत्रसँग सम्बन्धित ऐनहरुमा संशोधन गरी समयानुकूल सुधार गर्नुपर्ने रायसहित राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गर्नुपर्ने दर्जनौं सुझाव तथा सल्लाह पूर्व बजेट सर्वेक्षण प्रतिवेदनमार्फत अर्थ मन्त्रालयलाई बुझाएको हो ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको शेयर संरचना परिवर्तन गरी बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि गरी पुँजीगत आधार सुदृढ बनाउने, कोषको लगानी विविधता वृद्धि गर्ने गरी लगानी नीतिमा सुधार गर्ने, निक्षेपको प्रिमियमबापत लिने शुल्क घटाउने लगायतका सुझाव केन्द्रीय बैंकले दिएको छ । त्यस्तै, सुझावमा सरकारको नगद प्रवाहको प्रक्षेपण प्रणाली विकास गर्नुपर्ने, सामाजिक बैंकिङ अवधारणाअनुरुप स्थानीय तहहरुले लघुवित्त वित्तीय संस्थाहरुसँग सहकार्य गर्ने व्यवस्था मिलाउन उपयुक्त हुने, व्यावसायिक रुपमा दर्ता भएका फर्म कम्पनीबाट मात्र घरजग्गाको कारोबार गराउनुपर्ने, तोकिएको भन्दा बढी कर्जा उपभोग गर्ने निजी कम्पनीहरुलाई पब्लिक कम्पनीमा जानुपर्ने लगायतका विषय रहेका छन् ।
बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणको लागि दोस्रो तहको विशिष्टिकृत नियामक निकायको स्थापना गर्नुपर्ने र बजेटबाट कृषि बाहेकका सबै सहुलियतपूर्ण कर्जा कार्यक्रम स्थगन गरी स्टार्टअपलाई यस्तो कर्जा प्रवाह गर्न नीति लिन उपयुक्त हुने सुझाव राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दिएको छ ।
काठमाडौं : प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् ।
इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । प्रभु इन्स्योरेन्सको व्यवसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवम् व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय १५ निर्धारण भएको छ ।
सपना बोहरा/मध्यान्ह
दाङ : तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा २ सय १० मतान्तरले बिनिल केसी निर्वाचित भएका छन् । निर्वाचित केसी नेपाली कांग्रेसको सिफारिसमा उम्मेदवार बनेका थिए । केसीले गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई पराजित गरेका हुन् । केसीले शनिबार तुलसीपुरमा खसेको कूल मत २ हजार ९ सय ३८ मध्ये १ हजार ५ सय ५० मत प्राप्त गरेका हुन् । गठबन्धनका उमेदवार शाहले १ हजार ३ सय ४० मत प्राप्त गरेका थिए ।
केसीसहित टिमका ६ पदाधिकारी र ७ सदस्य निर्वाचित भएका छन् । निर्वाचन भएको १७ सदस्य कार्यसमितिमा केसी टिमका १३ जना निर्वाचित भएका हुन् । त्यस्तै खुला उपाध्यक्षमा कांग्रेसका देबबहादुर केसी निर्वाचित भएका छन् । १ हजार ५ सय २० मत प्राप्त गरेका केसीका प्रतिस्पर्धी गठबन्धनका डिल्लीबहादुर वलीले १ हजार २ सय ११ मत प्राप्त गरेका थिए । केसीले वलीलाई ३ सय ९ मतान्तरले पराजित गरेका हुन् ।
संघको महासचिव पदमा पनि कांग्रेसका केशवराज केसी निर्वाचित भएका छन् । केसीले १ हजार ५ सय ३० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका नरेन्द्रकुमार डाँगीले १ हजार २ सय ३ मत प्राप्त गरेका थिए । केसीले डाँगीभन्दा ३ सय २७ मत बढी प्राप्त गरे ।
कोषाध्यक्ष पदमा पनि कांग्रेसका रुपेश शर्मा निर्वाचित भएका छन् । शर्माले १ हजार ५ सय २६ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले १ हजार १ सय ४६ मत प्राप्त गरेका थिए । शर्माले ढकालभन्दा ३ सय ८० मत बढी प्राप्त गरि निर्वाचित भएका हुन् । सचिवमा पनि कांग्रेसका नबिन राई निर्वाचित भएका छन् । राई ९ सय ६९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । स्वतन्त्र उम्मेदवार चन्दन वलीले ८ सय ४८ र गठबन्धनका भुपाल रावतले ६ सय ८२ मत प्राप्त गरेका थिए । राईले निकटतम प्रतिस्पर्धी वलीभन्दा १ सय २१ मत बढी प्राप्त गरे । सहकोषाध्यक्षमा पनि कांग्रेसका दिपेश भण्डारी निर्वाचित भएका छन् । भण्डारीले १ हजार १ सय ५६ मत प्राप्त गरे । गठबन्धनका किशोरकुमार वलीले १ हजार १ सय २३ मत प्राप्त गरे । भण्डारीले वलीलाई ३३ मतान्तरले पराजित गरेका हुन् ।
अध्यक्षमा पराजित शाह नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित अन्य दलहरुसँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका थिए । पराजित शाह संघका यसअघिका उपाध्यक्ष थिए भने निर्वाचित केसी महासचिव थिए । नयाँ नेतृत्व चुन्न शनिबार बिहान ८ बजेदेखि साढे ५ बजेसम्म मतदान भएको थियो । शनिबार रातिबाट शुरु भएको मतगणनाको अन्तिम परिणाम सोमबार बिहान मात्रै सार्वजनिक भएको हो । तुलसीपुर उद्योग वाणिज्य संघमा कूल ३ हजार ४ सय ७१ मतदाता रहेको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिए ।
काठमाडौं : नेपालबाट विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले चालु आर्थिक वर्षको ९ महिनामा करिब ९६ अर्ब रुपियाँ लगेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को ९ महिना (चैत मसान्त) मा नेपाली विद्यार्थीले ९५ अर्ब ८५ करोड रुपियाँ खर्च गरेका छन् ।
यो गत आवको सोही अवधीको तुलनामा ४३ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा नेपालबाट बिदेश पढ्न जाने नेपाली विद्यार्थीले ६७ अर्ब १९ करोड रुपियाँ अध्ययनको नाम लगेका थिए ।
नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष नेपालको सेवा खाता अन्तर्गत समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको ९५ अर्ब ८५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण खर्च १ खर्व ५४ करोड रहेकोमा शिक्षातर्फको ६७ अर्ब १९ करोड रहेको थियो ।
समीक्षा अवधीमा नेपाल घुम्न आउने विदेशी पर्यटकले भने ६० अर्ब ४५ करोड रुपियाँ खर्च गरेका छन् । यसरी नेपालमा आउने बिदेशी पर्यटकले गर्ने खर्च भन्दा नेपाली विद्यार्थीले धेरै पैसा बिदेश लगेका छन् ।
नेपालीले वैदेशिक भ्रमणमा गरेको खर्च भन्दा १३ अर्ब ८ करोड रुपियाँ बढी हो । यसरी हेर्दा नेपालमा आउने भम्रण आय भन्दा बिदेशी व्यय बढ्नुलाई चिन्ताको बिषयको रुपमा हेरिएको छ । नेपालबाट विद्यार्थी बाहिर जाने बढ्दा नेपालमा विद्यालयहरुमा विद्यार्थीको संख्या निरन्तर घट्दा शिक्षा क्षेत्रमा गरिएको लगानी समेत घाटामा गइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies