काठमाडौं : खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा भारतीय दुईवटा ब्रान्डको मसलाको आयात र बिक्री वितरणमा रोक लगाइएको छ । विभागले भारतीय ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रान्डले उत्पादन गरेको मसला आयात र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भारतको एमडीएच र एभरेष्ट ब्राण्डको तीन प्रकारको मसलाको आयात, बिक्री बितरण र उपभोगमा प्रतिवन्ध लगाइएको बताए ।
परीक्षणको प्रारम्भिक चरणमा हानिकारक तत्व भेटिएकाले तत्कालको लागि आयात, बिक्री बितरण तथा उपभोगमा रोक लगाइएको विभागले जनाएको छ । विभागले एभरेस्टको फिस करी तथा एमडीएचको मद्रास करी पाउडर, साम्भर मसला, करी पाउडरको आयात र विक्रीमा रोक लगाइएको हो । ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा एथिलिन अक्साइड रहेको पाइएपछि हङकङ र सिंगापुरले समेत यस अघि नै प्रतिबन्ध लगाइसकेका छन् ।
काठमाडौं : नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।
घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पुँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आवद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा १० वर्षभन्दा बढी समय कार्यसम्पादन गरेका छन् ।
घिमिरेले एफसीसीए साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट इएमबीए पनि गरेका छन् । घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरु जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इस्यु म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरु प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता रहेको विज्ञप्तिमा उल्लेख छ ।
डोटी : राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो । तालिम जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ ।
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परिक्षा कार्यक्रमबाट २१ जना प्रशिक्षार्थीहरु लाभान्वित भई कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमको प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।
नेपालको दुर्गमसम्म बीमाको सचेतना फैलाई सबै जनतालाई बीमाको दायरामा ल्याई व्यवसाय प्रवद्र्धन गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको र सोही अनुसार अघि बढेको कार्यक्रमका संयोजक कम्पनीका बजार विभाग प्रमुख व्यवस्थापक देवराज घिमिरेले बताए ।
तीन दिने कार्यक्रममा व्यवस्थापक देवराज घिमिरे, सह–व्यवस्थापक अर्जुन पौडेल, नायव व्यवस्थापक दिपकराज पाण्डेय र सहायक व्यवस्थापक उत्तरा रेग्मीले प्रशिक्षकको भूमिका निभाएका थिए ।
काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरेका हुन् ।
दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्बन्ध विस्तार लगायतका विभिन्न ८ विषयमा सहकार्यको सम्झौता भएको हो । संयुक्त लगानीमा उत्पादित वस्तुहरुको घरेलु र तेस्रो बजार खोज्नका लागि सहकार्य गने विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालको कृषि, पर्यटन क्षेत्रमा लगानीका लागि समेत सहमति भएको कार्यकारी सदस्य जालानले बताए ।
यस्तै नेपाल र अर्मेनियाका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमणका लागि पनि सहजिकरण गर्ने सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अनुसन्धान आदानप्रदान गर्ने पनि दुवै देशका चेम्बरबीच सहमति भएको छ । नेपाल र अर्मेनियाबीच आर्थिक र व्यापारिक क्षेत्रमा भएको सहमति तत्कालै कार्यन्वयनमा आएको चेम्बरले उल्लेख गरेको छ ।
काठमाडौं : इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर अटोमेटेड बजेटिङ सोलुसन प्रयोगमा ल्याउने सम्झौता भएको छ । प्राइम कमर्सियल बैंकको कमलपोखरीस्थित प्रधान कार्यालयमा भएको सम्झौतामा प्राइम कमर्सियल बैंकको तर्फबाट महा प्रबन्धक अमृत चरण श्रेष्ठ र इन्फोडभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रविण सुवेदीले हस्ताक्षर गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुलाई लक्षित गर्दै सरल, अनुकूल र गतिशील बजेटिङ अनुभव प्रदान गर्ने उदेश्यका साथ इन्फोडेभलपर्सले ल्याएको बजेट ३६० सफ्टवेयरले बजेटिङ गर्ने प्रक्रियालाई सहज बनाउँदै स्वचालित रुपमा त्रुटिहरुलाई कम गरी बजेटको निर्माण, बाँडफाँड, अनुगमन तथा रिपोर्टहरु तयार गर्न सहज हुने इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रविण सुवेदीले बताए ।
बैंक तथा वित्तीय संस्थाको बजेट निर्माण, तर्जुमा, कार्यान्वयन, अनुगमन र नियन्त्रण गर्न सहयोग पुर्याउने बजेट ३६० स्वचालित बजेटिङ प्रणाली हो । जसको माध्यमबाट गत वर्षको तथ्यांकमा आधारित रहेर आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको सबै प्रक्रिया गर्न सकिन्छ ।
काठमाडौं : महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैं लक्ष्मी सनराइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरुमा नारी शिक्षाको उदेश्यलाई सक्रियरुपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरुलाइ एउटै छाताभित्र ल्याएको हो ।
यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पु¥याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उदेश्य राखेको छ । यस पहलअन्तर्गत आगामी ७ वर्षमा कुल ३५ लाख र कम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग सम्झदा गरेको छ । सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिकरुपमा विपन्न छात्राहरुले वार्षिक रुपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।
यसैगरी, बैंकले आगामी ५ वर्षसम्ममा एक करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोषमार्फत् सोही विश्वविद्यालयबाट (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) विषयहरुमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रुपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरुको संख्या वर्षेनी बढाउँदै लगिने बैंकले जनाएको छ ।
सो छात्रवृत्तिमार्फत २०२४ ब्याचका इरादा सुवेदी (एमइ स्ट्रकचर लइन्जिनियरिङ) र सुनेना न्याछ्योँ(एमएससीएस) हाल अध्ययनरत छन् । यसअघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयहरुमा अध्ययनरत योग्य छात्राहरुलाई यस्तै प्रकारको अक्षयकोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । यसबाहेक बैंकले छात्राहरुलाई अन्य क्षेत्रहरुमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको उल्लेख गरेको छ ।
काठमाडौं : पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएका बिकृतिलाई न्यूनिकरण गर्न सरकारदेखि सरोकारवाला संस्थाले तदारुकता देखाएका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि अगाडि सारेको नीति तथा कार्यक्रमले सहकारी मर्जर तथा एक्विजिसन प्रकृया अगाडि बढाउने नीति अगाडि सारेको छ । सरकारले सोही नीति तथा कार्यक्रमका आधारमा आगामी बजेटमार्फत् सम्बोधन गर्नुपर्ने राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत् पैरवी गरिरहेको छ ।
अहिले देशैभरी ३० हजार बढीको संख्यामा सहकारी संस्थाहरु रहेका छन्, जसमध्ये झण्डै दुई दर्जन सहकारीहरुमा विशेष समस्या देखिएको छ । जसले गर्दा सम्पूर्ण सहकारी क्षेत्र नै बद्नाम बन्न पुगेको छ । त्यसैले सरकारले नीति तथा कार्यक्रममार्फत सरकारको स्वामित्व भएका साझा सहकारीहरुलाई र ऋण तथा बचत सहकारीहरुलाई मर्ज गर्ने नीति अगाडि सारेको छ ।
‘सरकारको शेयर स्वामित्व भएका साझा सहकारी संस्थालाई एकीकरण गर्ने व्यवस्था मिलाइनेछ । बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन प्रोत्साहन गरिनेछ’, सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसरी मर्जर तथा एक्विजिसनमा प्रोत्साहन गर्नका लागि सरकारले कर छुट दिने र आगामी आर्थिक वर्षको आर्थिक ऐनमार्फत नै मर्जरमा जाने सहकारी संस्थाहरुमा प्राप्त हुने पुँजीगत लाभकर र स्वामित्व हस्तान्तरणमा लाग्ने कर पूर्णरुपमा छुट दिने र नगत प्रोत्साहन गर्नेसम्मको नीति समावेश गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् सहकारीलाई व्यवस्थित गर्नका लागि छुट्टै नियमनकारी निकाय स्थापना गर्नेदेखि अन्य विभिन्न संरचनाहरुसँग पनि सहकारीहरुलाई जोड्ने नीति लिएको छ । जसले गर्दा सहकारीहरु बैंकिङ पारदर्शिताको दायरामा आउन सक्ने अनुमान गरिएको छ । ‘सहकारी संस्थाको सघन सुपरीवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना गरिनेछ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्यायाधीकरणमार्फत् सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षा गरिनेछ’, सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले आफूहरुले लामो समयदेखि उठाउँदै आएको विषयलाई अहिले सरकारले सुनुवाई गरेको बताउँदै यसलाई कार्यान्वयन गरेर मात्रै सहकारी क्षेत्रलाई राम्रो बनाउन सकिने बताएकी छन् । साथै महासंघ आगामी दिनमा देशभरीका सहकारीलाई मर्ज गरेर १० हजारको संख्यामा झार्नको लागि अभियान सञ्चालन गर्ने तयारीमा लागेको र त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताइन् ।
काठमाडौं- सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
काठमाडौं- नबिल बैंक लिमिटेडको बैंकका प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको छ । यही जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई २०८१ साल असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही तीन दशक बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन् । पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ्ग लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ ।
इसअघि ढुङ्गाना नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका थिए । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुङ्गानालाई नेपालको बैंकिङ्ग क्षेत्रमा पु¥याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो ।
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अंकले उकालो लागेर दुई हजार १८ दशमलव ७६ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्यदशमलव २७ अंकले उकालो लागेर तीन सय ५८ दशमलव ३७ मा पुगेको छ । कूल ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता शेयर रु चार अर्ब २३ करोड ३८ लाख १६ हजार चार सय तीन मूल्य बराबर कारोबार भएको छ ।
हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त नौ दशमलव ९४, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।
यस्तै माण्डु हाइड्रोपावर पाँच दशमलव ७६, पिपल्स पावर पाँच दशमलव २६, नेपाल फाइनान्स चार दशमलव १२, एभरेष्ट बैंक तीन दशमलव ९४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies