काठमाडौ : महालक्ष्मी विकास बैंकले आगलागी पीडितलाई राहत वितरण गरेको छ । बैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबार विहीन भएका एक सय ५० घर परिवारका लगभग पाँच सय ४५ जनाका लागि राहत सामाग्री वितरण गरेको हो ।
बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहीे दुई लाख पचास हजार रुपैयाँ बराबरको सात सय ५० केजी आटा, सात सय ५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, एक सय ५० प्याकेट नुन, चार सय ५० वटा नुहाउने र लुगाधुने साबुन र एक सय ५० कार्टुन चाउचाउ लगायतका खाद्यान्नहरु सहयोग गरेको हो ।
बुधबार मटिहानी नगरपालिका–६ मा लागेको उक्त आगोले एक सय भन्दा बढी घर पूर्णरुपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा समेत क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ ।
काठमाडौ : हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले व्यवसायिक कारोबार संचालनमा ल्याएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिजकोे कुल चुक्ता पुँजी साठ्ठी करोड छ ।
पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट भदौ ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिजले माघ ३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।
ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घताका साथ कारोबार संचालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारका सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन कारोबार तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरु प्रदान गर्ने सेक्युरिटिजले जनाएको छ ।
काठमाडौ : नागरिक लगानी कोषले देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेटने भएको छ । बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सो कुरा बताएका हुन् । योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको कोषले जनाएको छ । सो अवधिसम्म सहभागी संख्या छ हजार एक सय १० पुगेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ बजेटमा नागरिक लगानी कोषमार्फत् स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई समेटने गरी कार्य शुरु गरेको कार्यकारी निर्देशक कार्कीले बताए । यस योजनामा आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् ।
बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको छ । पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठ्ठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ । बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १ सय ७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा रहेको छ ।
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन । काठमाडौंमा आइतबारबाट शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समीटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।
‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ । यहा“ लगानीमार्फत् उत्पादन भएका वस्तुहरुलाई विश्वका झण्डै ३ अर्ब जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ’, अध्यक्ष अग्रवालले भने । आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हि“ड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गरे ।
काठमाडौं : चौधरी ग्रुपअन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मीयामलाई मध्यनजर गर्दे बिएलडिसी सिलिङ फ्यान पहिलो पटक बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्ने र कम आवाजमा सञ्चालन हुने प्रविधि फ्यानमा रहेको कम्पनीको दावी छ । सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसी टेक्नेलोजी रहेको छ ।
रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ हुने कम्पनीले जनाएको छ । तराई जस्तो ठाउमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्दछ । यस्तो अवस्थामा फ्यान पनि सोहि अनुसार धुम्ने गर्दछ । यहि अवस्थालाई मध्यनजर गरी यो सिलिङ फ्यान ल्याइएको कम्पनीले जनाएको छ । रिमोटको सुबिधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ बर्षको वारेन्टी रहेको छ भने चार वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।
काठमाडौं : समृद्धि फाइनान्सलले काठमाडौंको पुतलीसडकमा रहेको आर्सिया डेन्टलसँग समझदारी गरेको छ । समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले समृद्धि मोबाइल बैकिङ र डेविट कार्ड प्रयोगगरी उक्त डेन्टलमा उपचार खर्च भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने फाइनान्सले जनाएको छ ।
समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र आर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानुले हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरुमार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताएकी छन् ।
वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्ने भन्दै उनले भनिन्, ‘लगानीकर्ताहरूलाई हामीले वातावरण निर्माण गरिदिनुपर्छ । केही-केही ऐन, कानूनका कारण उत्पन्न भएको समस्या समाधानका लागि अध्यादेशबाट लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको छ । खासगरी नदी कोरिडोरको विषयमा । बाध्यात्मक अवस्था सिर्जना गर्ने चिजहरू, वातावरणीय कुराहरू रहेका छन् ।’
लगानी गर्नका निम्ति नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानूनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि लगानीका लागि सम्भावना भएको बताइन् । उनले भनिन्, ‘नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावनाहरू रहेका छन् । खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्ताहरूलाई लगानी गर्न म आह्वान गर्दछु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि यहाँ ठाउँ पनि छ र सम्भावना पनि छ।’
खासगरी मुलुक अहिले आर्थिक समृद्धिको दिशामा लगानी बढेको भन्दै उहाँले लगानीका लागि नेपालमा आउन लगानीकर्तालाई आग्रह गरिन् ।
काठमाडौं : तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् ।
सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका हुन् ।
त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ । डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । आजदेखि काठमाडौँमा शुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका उनले शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरे ।
“नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ । हामीले विकासका ठूला चुनौतीहरूको सामना गरिरहेका छौं । हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ, तर हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ”, सभापति देउवाले भने, “यस सन्दर्भमा यो उच्चस्तरीय कार्यक्रमको आयोजनाले विशेष महत्व राख्दछ ।”
कांग्रेसले नेपालमा आर्थिक सुधारको थालनी गरेको र सन् १९९० मा कांग्रेसकै सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको उनले उल्लेख गरे । “त्यो छोटो अवधिमा हाम्रो सरकारले नीतिहरू पुनसंरचना गर्यो, पुराना कानुनहरू परिमार्जन गर्यो र नयाँ कानुन ल्यायो, सार्वजनिक खर्चलाई तर्कसङ्गत बनायो र उदार कर प्रणालीको थालनी गर्यो”, उनले भने ।
सभापति देउवाले विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको जानकारी दिए । विदेशी लगानी नेपाल कानुन र हाम्रो देश पक्ष भएको विभिन्न अन्तर्राष्ट्रिय सन्धीद्वारा सुरक्षित रहेको अवगत गराउँदै उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको थाहा पाएको उल्लेख गरे ।
काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् ।
तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा परिसंघ अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहकाले विदेशी लगानीकर्तालाई यहाँ लगानीका लागिसमेत आह्वान गरे । “नेपालको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र रणनीतिक अवस्थिति भएकाले नेपालमा लगानीको दिगो प्रतिफल हासिल गर्न सक्ने पर्याप्त ठाउँ छ । पर्यटनदेखि प्रविधिसम्म, पूर्वाधार विकासदेखि नवीकरणीय ऊर्जासम्म, शिक्षादेखि स्वास्थ्य सेवासम्म सम्भावनाका क्षेत्र पहिचान भएका छन्”, उनले भने ।
नेपालले नवप्रवर्तन, उद्यमशीलता र समावेशी आर्थिक विकासको लक्ष्य लिएको धारणा अध्यक्ष अग्रवालले राखे । “नेपालले पहिचान गरेका र प्रस्ताव गरेका लगानी सम्भावनाबाट हामी सबैले लाभ लिन सक्नुपर्छ । यो सम्मेलनलाई लगानी प्रवद्र्धनका लागि अधिकतम सदुपयोग गर्न र यसलाई रोजगारी सृजना, पूर्वाधार विकास र सामाजिक–आर्थिक प्रगतिसँगै जोड्न सहकार्यका लागि आग्रह गर्दछु”, उनले भने ।
नेपालको पर्यटन क्षेत्र, सूचना प्रविधि र जलविद्युत् क्षेत्र पनि लगानीका लागि प्रमुख सम्भावना भएको क्षेत्रका रुपमा रहेको उनको भनाइ छ ।
“नेपालको प्राकृतिक सौन्दर्यले यहाँको साहसिक पर्यटनको सम्भावना र सांस्कृतिक पर्यटन विकासका लागि प्रमुख गन्तव्य बन्नसक्ने सम्भावना देखाउँछ । जलविद्युत् क्षेत्रलाई नेपालमा लगानीको प्रचुर सम्भावना भएको क्षेत्रका रुपमा बुझ्न सकिन्छ । प्रचुरमात्रामा जलस्रोत र स्वच्छ ऊर्जा उत्पादन गर्ने सम्भाव्यतालाई ध्यानमा राख्दै नेपाल लगानीका लागि महत्वपूर्ण क्षेत्र हो”, परिसंघ अध्यक्ष अग्रवालले भने, “जलविद्युत् पूर्वाधारको विकासमा भएको लगानीले नेपालको ऊर्जा सुरक्षामा मात्र योगदान पुर्याउँदैन, छिमेकी देशहरूमा निर्यातको अवसर पनि प्रदान गर्दछ ।”
नेपाल दक्षिण एशियाली क्षेत्रमा उदीयमान सूचना प्रविधि (आइटी हब)का रूपमा आफूलाई स्थापित गर्ने चरणमा रहेको उनले बताए । नेपालले सूचना प्रविधि क्षेत्रबाट निर्यात गर्नसमेत थालिसकेको अग्रवालले बताए । त्यसैगरी, नेपालमा शिक्षा, स्वास्थ्य सेवा, चिया, घरजग्गा र कपडालगायतका विविध क्षेत्रहरूमा लगानीकर्ताहरूको लागि उपयुक्त सम्भावना छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies