काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटरमा दुई-दुई रुपैयाँ मूल्य घटाएको हो ।
भारतीय आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचीअनुसार निगमले केही पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको हो । नयाँ मूल्यसँगै पहिलो बर्गमा डिजेल-मट्टीतेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो बर्गमा १५८ रुपैयाँ र तेस्रो बर्गमा १५९ रुपैयाँ कायम हुने निगमले उल्लेख गरेको छ ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रति लिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७ डलर वृद्धि गरिएको निगले विज्ञप्तिमा उल्लेख गरेको छ । तर पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
काठमाडौं : गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले क्यूआर टेलर सुविधा ल्याएको छ । क्यूआर टेलरबाट संस्थाका ग्राहकहरुले उक्त प्रविधिमार्फत् नगद भुक्तानी लिनसक्ने र कारोबार गर्न थप सहज बनाउने उद्देश्यले सो सुविधा ल्याएको हो ।
क्यूआर टेलर सुविधा संस्थाले हाललाई काठमाडौं उपत्यकाको शाखाहरुमा शुरुवात गरेको र भविष्यमा देशभरका सबै शाखाहरुमा शुरुवात गर्ने जनाएको छ । क्यूआर टेलरको संस्थाका अध्यक्ष युवराज भण्डारीले औपचारिक उद्घाटन गरेका थिए । संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।
काठमाडौं : टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा प्रदान गर्ने भएको छ । बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट (नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक)बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधार दरमा नै अधिकतमा १२ वर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् । ग्राहकहरुले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्ने जनाइएको छ ।
काठमाडौं : नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । बैशाख २० गते आयोजना हुन लागेको संचार प्रविधि दिवस (आइसीटी डे)का अवसरमा नेपाल टेलिकमले ‘आइसीटी डे’ अफर सार्वजनिक गरेको हो ।
‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि उक्त अफर सार्वजनिक गरेको हो । यो बैशाख १९ देखि प्रारम्भ हुनेछ र आगामी २०८१ बैशाख २१ सम्म लागू हुनेछ ।
अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । कम्पनीका अनुसार डाटा प्याकेज अन्तर्गत १ सय ११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।
साथै सोही अफर अन्तर्गत ७ सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६ सय मिनेट अल नेट भ्वाइस सुविधा र २ सय अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।
काठमाडौं : विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ । गत १९ अप्रिल २०२४ मा, स्पेनमा आयोजित उद्घाटन समारोहमा, स्पेनका राष्ट्रपति ‘पेड्रो सान्चेज पेरेजकास्टेजन’को प्रत्यक्ष उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरुको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्री प्लान (योजना) सार्वजनिक गरिएको थियो ।
यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल इलेक्ट्रिक क्रसओभर एसयुभी ओमोडा ई५’ को स्पेनिस बजारमा सार्वजनिक गरिएसँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो । एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा एसपीजी अटोमोबाइल्स प्राली नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।
काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ । चालु आवको बजेटमार्फत सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधा बराबर मात्रै वृद्धिदर हासिल हुने अनुमान तथ्यांक कार्यालयले सार्वजनिक गरेको हो ।
तथ्यांक कार्यालयले आज आव २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । “चालु आव २०८०/८१ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशत र उपभोक्ता मूल्यमा तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ”, कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चालु आव २०८०/८१ मा उपभोक्ता मूल्यमा आधारित मुलुकको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब पुग्ने अनुमान छ ।” त्यसैगरी, गत आव २०७९÷८० मा नेपालको अर्थतन्त्रको आकार रु ५३ खर्ब ४८ अर्ब बराबर रहेको पनि तथ्यांक कार्यालयले जनाएको छ ।
तथ्यांक कार्यालयले चालु आवमा कृषि क्षेत्रको वृद्धिदर प्रक्ष्येपण तीन दशमलव ०५ र गैरकृषि क्षेत्रको वृद्धि तीन दशमलव ७५ प्रतिशत रहने अनुमान गरेको छ । त्यसैगरी, प्राथमिक क्षेत्र तीन प्रतिशत, द्वितीय क्षेत्र एक दशमलव दुई प्रतिशत र सेवा क्षेत्र चार र दशमलव पाँच प्रतिशत रहेको छ ।
चालु आवमा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन अमेरिकी डलर एक हजार चार सय ३४ हुने प्रारम्भिक अनुमान गरिएको छ भने प्रतिव्यक्ति कूल राष्ट्रिय आय अमेरिकी डलर एक हजार चार सय ४५ रहने अनुमान गरिएको छ । चालु आवमा विभिन्न क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर हेर्दा स्वास्थ्य तथा सामाजिक कार्यतर्फ पाँच दशमलव ५२, शिक्षातर्फ दुई दशमलव ७१, सार्वजनिक प्रशासन तथा रक्षातर्फ चार दशमलव ४९, प्रशासनिक तथा सहयोगी सेवातर्फ चार दशमलव ०४, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापतर्फ चार दशमलव १५ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ ।
त्यसैगरी, घरजग्गा कारोबारतर्फ दुई दशमलव ९८, वित्तीय तथा बीमा क्षेत्रतर्फ सात दशमलव ८०, सूचना तथा सञ्चारतर्फ चार दशमलव ९१ प्रतिशत, आवास तथा भोजन सेवातर्फ ८१ दशमलव ८४ प्रतिशत र यातायात तथा भण्डारण सेवातर्फ ११ दशमलव ८९ प्रतिशतको वृद्धि अनुमान गरिएको छ ।
थोक, खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवातर्फ शून्य दशमलव १६, पानी आपूर्ति, ढल व्यवस्थापनलगायत क्षेत्रमा दुई दशमलव ८०, विद्युत् ग्यास तथा वातानुकूलित आपूर्ति सेवातर्फ १७ दशमलव ४४, खानी तथा उत्खननतर्फ दुई दशमलव ३१, कृषि, वन तथा मत्स्यतर्फ तीन दशमलव ०५ प्रतिशत वृद्धि रहने अनुमान गरिएको छ ।
चालु आवमा उद्योग र निर्माण क्षेत्रको मूल्य अभिवृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ । उद्योग क्षेत्र एक दशमलव ६० र निर्माण क्षेत्र दुई दशमलव ०७ ले ऋणात्मक रहने कार्यालयले जनाएको छ । राष्ट्रिय लेखा अनुमान गर्न संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आर्थिक विकास तथा सहयोगका लागि संगठनजस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा संयुक्तरुपमा विकास गरेको राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक अनुमान गरी प्रकाशन गर्दछ ।
काठमाडौँ- भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फच्र्यून होटेल्स्ले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका संचालकहरुले यस क्षेत्रको अग्रणी होटल ब्राण्डको रुपमा भारतीय होटल संजालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै फच्र्यून होटेल्स्का प्रवन्ध निर्देशक समिर एमसीले भनेः ‘नयाँ आर्थिक वर्ष ०८१÷८२ को शुरुवातमै फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौँ । भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौँ । हामी दक्षिण एसिया र नजिकका अरु देशहरुमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौँ र आजको यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुङ्गा हो । सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराहरुले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकहरुको पहिलो रोजाईमा पर्छ । त्यसैले हामी हाम्रो संजालको प्रयोग गर्दै फच्र्यून होटेल्स्को सुविधाहरु नेपालमा ल्याउन चाहन्छौँ ।’
हिलटेक हेल्थ एण्ड होम्स् प्रा.लि.का अध्यक्ष कमल जैनप्रति कृतज्ञता व्यक्त गर्दै समिर एमसीले थप भने, ‘भक्तपुरमा हाम्रो पहिलो रिसोर्ट सुरु गर्दै–गर्दा सांस्कृतिक रुपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रुपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा हामी होटल संचालकहरुलाई बधाई दिन चाहन्छौँ । विश्वकै अग्लो शिव मुर्ती मध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ । यो अवधारणाले नेपाल आउने पर्यटकहरुको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ ।’
शान्त वातावरणमा अवस्थित फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ती खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्याधिक आरामदायी बनाईएको छ ।
काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले पकडी कपिलवस्तुमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । बैंकले कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो ।
काउन्टरको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइकेलले संयुक्त रुपमा गरेका हुन् । उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरिक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल के.सी लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
काठमाडौं- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल लिमिटेडलाई नियुक्त गरेको छ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् ।
सुपर खुदीको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ताबराबर हुन आउने ७५ करोड ९५ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies