काठमाडौं : समृद्धि फाइनान्सले वनेपा शाखा र मधुवन शाखाबाट विपन्न वर्गका विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ । बिहीबार वनेपाको शिक्षा सदन माध्यमिक विद्यालयका ४० जना र सोमबार मधुवन शाखाबाट जनता माध्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे हो ।
फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूचीमध्ये स्टेशनरी वितरण कार्यक्रम अन्तर्गत विपन्न वर्गका ७० विद्यार्थीलाई कापी र कलम वितरण गरेको जनाएको छ । यस्तै बैशाख महिना भित्रपनि औरही, गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
काठमाडौं : ग्लोबल आइएमई बैंक र बजुराको बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता भएको छ । उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ । उक्त कर्जाले नगरपालिका भित्र उद्यमशीलतामार्फत आत्मनिर्भर र स्वरोजगार प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ ।
काठमाडौं : शेयर बजारमा उत्साह आउन नसकिरहेकोबेला सरकारले शेयर कारोबारमा दलाल कमिसन घटाउने निर्णय गरेर लगानीकर्तालाई राहत दिने काम गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्णयअनुसार सरकारले सेयर कारोबार गरेबापत दलाल कम्पनीले लिँदै आएको कमिसनमा १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै हाल कायम ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्मको दलाल कमिसन न्यूनतम ०.२४ प्रतिशतमा झर्ने भएको छ । बोर्ड सञ्चालक समितिको आइतबार बसेको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी दलाल कमिसन घटाउने निर्णय गरेको हो ।
हालको दलाल कमिसनको दर अनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ब्रोकर कम्पनीहरुले ०.४० प्रतिशत र ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लिने गरेका छन् । नयाँ निर्णयअनुसार १० प्रतिशतले कमिसन घट्दा यस्तो कमिसन क्रमशः ०.६६ प्रतिशत र ०.३३ प्रतिशतमा झर्नेछ ।
यस्तै हालसम्म पाँच लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत दलाल कमिसन लाग्दै आएको छ । अब भने सो परिमाणको कारोबारमा क्रमशः ०.३१ प्रतिशत,०.२७ प्रतिशत र ०.२४ प्रतिशत कायम हुनेछ । धितोपत्र बोर्ड अधिकारीकाअनुसार नयाँ कमिसन दर नेपाल स्कट एक्सचेञ्ज (नेप्से) र सीडीएर एण्ड क्लियरिङ लिमिटेडलाई व्यवस्थापन गर्न समय दिइएकाले जेठ १ गतेदेखि लागू हुनेछ ।
लामो समयदेखि शेयर बजार २ हजारको बिन्दु वरिपरि घुमिरहेको छ । गत साता ३३ अंकले घटेको नेपाल स्टक एक्चेञ्ज (नेप्से) यो साताको आइतबार २४.५८ र सोमबार १५.६२ अंकले घटेको छ । समग्रमा गत सातामा बढेको नेप्से यो साताको दुई दिनमै त्यसभन्दा धेरै घट्न पुग्यो । बजारमा उत्साह नभएपनि कारोबारको परिमाण भने राम्रै भइरहेको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा दलाल कसिमन घटेसँगै लगानीकर्ताहरुलाई राहत हुने देखिएको छ ।
काठमाडौं : राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा शुरु गरेको छ । आज आयोजित शुभारम्भ कार्यक्रममा इन्ड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा शुरु भएको जानकारी दिइन् ।
“हामीले केही वर्ष परीक्षणका लागि सेवा शुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा शुरु गरेका छौँ”, उनले भनिन् । उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन् । उनले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिइन् ।
कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आइएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । हाल यो सेवा काठमाडौं, पोखरा, भरतपुरमा उपलब्ध हुने र आगामी दिनमा अन्य शहरमा पनि सेवा विस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ ।
इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रुपमा नेपालमा शुरु गर्न पाउँदा हर्षित रहेको बताए । उनले भने, “हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा दुई सय रुपैयाँले वृद्धि भइ एक लाख ३५ हजार छ सय रुपैयाँ पुगेको छ । आइतबार छापवाला सुन तोलामा एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजावी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी तोलामा एक हजार छ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको स्वशासित क्षेत्र तिब्बत सिमाना कोरला नाकासम्म विद्युत विस्तार भएको छ । समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा यस अघि विद्युत लाइन पुगेपनि ट्रान्सफर्मर जडान र वितरण नहुँदा सेवा पुग्न सकेको थिएन ।
मुस्ताङ कार्यक्षेत्र भएको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले ट्रान्सफर्मर जडान गरेपछि कोरला नाकामा बिजुली बत्ति बलेको बताए ।
छोसेर हुँदै नेपालतर्फबाट कोरला नाकामा ३ वर्ष अघि नै लाइन लगिएता पनि सो नाका सञ्चालन नभएकाले माग नभएको उनले बताए । गत कात्तिकदेखि सञ्चालनमा आएको कोरला नाकामा विद्युतको आवश्यकता महसुस भएपछि २५ केभिए क्षमताको ट्रान्सफर्मर राखेर विद्युत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको प्रमुख काफ्लेले बताए ।
ट्रान्सफर्मर जडान गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको नेचुङका सुरक्षाकर्मीले सहयोग गरेका प्रमुख काफ्लेले बताए । बिजुली सुविधा भएपछि नाकाको सुरक्षामा खटिने सुरक्षाकर्मीलगायत अन्य व्यवसायका लागि जाने व्यवसायीलाई समेत सहज भएको छ । प्रतिकुल मौसमका बाबजुद संरचना तयार पारेर विद्युत आपूर्ति हुने व्यवस्था मिलाइएको तातोपानी वितरण केन्द्रका इञ्जिनियर उत्तम अधिकारीले बताए ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले विद्युत पुगेपछि कोरला नाकामा नेपाल टेलिकमसँग समन्वय गरेर मोबाइल सेवाको पनि विस्तारको लागि पहल भइरहेको बताए ।
मुस्ताङमा प्राधिकरणको स्थानीय कार्यालय नभएकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा रहेको तातोपानी वितरण केन्द्रको मातहतमा रही निलगिरि उपभोक्ता सहकारी संस्था लिमिटेडले विद्युत सेवा उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं : मधेश प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवर्द्धन, सो प्रति किसानहरुको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको वृहत्तर विकासका लागि दी नेपाल डिस्टिलरिज प्रालिले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल शुरु गरेको छ ।
कम्पनीको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा केही समयअघि धनुषामा उखु खेती प्रवर्द्धनका लागि सीमान्तकृत समुदायका कृषकहरुको सीप, क्षमता तथा आय अभिवृद्धिसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना भयो । धनुषाको नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवर्द्धनको सहयोग तथा तालिम केन्द्रमा सिरहा, सप्तरी, महोत्तरी र धनुषा जिल्लाका अगुवा किसानहरुलाई उखु खेती प्रवर्द्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा आयोजक द नेपाल डिस्टिलरिजका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादन मात्र नभई यसका बहुआयामिक गुणबारे किसानहरुलाई एकै ठाउँमा राखेर बुझाइएको र खेतीको विस्तार, प्रवर्द्धन एवम् संरक्षण गर्न आफूहरुले सो कार्यक्रम गरेको बताए । त्यस्तै, मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले उखु किसानले वर्षौदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बीउ नपाउनेलगायत भोगिरहेका समस्याको सम्बोधन गर्ने तथा उखु खेतीको विकास गर्न मधेशका आठवटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानहरुको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मधेश प्रदेशका हरेक नगरपालिकामा कृषि ज्ञान केन्द्र स्थापना गरी कृषि क्षेत्रको विकास गरिने बताए । कार्यक्रममा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा. विमलकुमार निर्मलले मधेश प्रदेशको उखु खेतीको अवस्था, समस्या र सम्भावना बारे प्रस्तुतीकरण दिएका थिए । उनले नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनी आदिमात्र नभई उखु पेलेर बाँकी रहेको भागबाट स्पिरिट लगायतका पेय पद्धार्थ बनाउन सकिने प्रष्ट्याए ।
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रबीर मालाकार एवं चेम्बरका पदाधिकारी टोलीले सिंहदरवारमा प्रधानमन्त्री दाहालसँग आइतबार भेटवार्ता गर्दै वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत् अर्थतन्त्र चालयमान बनाउनुपर्ने लगायतका सुझाव दिएको हो ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा लिएका संकुचित नीतिहरुका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, शेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ ।’ अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पत्ति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर छ । आयकर ऐन २०५८ का अधिकांश प्रावधानहरु स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्वहरु देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
यस्तै, घरजग्गा खरिद बिक्रीका क्रममा बिगतको सम्पत्तिको श्रोतलाई मान्यता नदिएर चालु नाफाको श्रोतलाई नै मान्यता दिने मालपोत कार्यलयबाट अपनाईएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरको ठहर छ । चेम्बरले सहकारी क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि अविलम्व पहल गर्नपनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको छ ।
काठमाडौं : हिमालयन बैंक लिमिटेडले वीरगञ्जका प्रहरीहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगंज पर्सालाई रुपैयाँ तीन लाख सात हजार पाँच सय बराबरको सहयोग गरेको हो ।
बैंकले प्रहरी कार्यालयलाई चेक स्ट्रापसहित पाँच थान ‘गो प्रो हिरो १२’ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले सो सहयोग प्रदान गरेको जनाएको छ ।
बैंकका तर्फबाट बैंकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागरकुमार रेग्मीले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुंगेललाई एक समारोहको बीच हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
काठमाडौं : डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिचन्द्रलाल नेतृत्वको आयोगले आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएका छन् । आयोगले मन्त्री बस्नेतलाई बुझाएको प्रतिवेदनसँगै जारी गरेको विज्ञप्तिले उद्योगीलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादमा राहत दिएको संकेत गरेको छ ।
आयोगको प्रतिवेदन सार्वजनिक नभएपनि जारी विज्ञप्तिमा डेडिकेटेड ट्रंकलाइनको शुल्क कायम नगरेको समय र लोडसेडिङ मुक्त घोषणा गरिसकेपछिको अवस्था भनेर विशेष ढंगले टिप्पणी गरिएको छ । ‘प्राधिकरणले आफ्ना औद्योगिक ग्राहकलाई डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् आपूर्ति गरेका भनिएका अवधिमध्ये २०७२ साउनदेखि २०७२ पुससम्म महसुल निर्धारण आयोगबाट महसुल निर्धारण भई नसकेको अवधि हो भने २०७२ माघदेखि २०७५ वैशाखसम्मको समय उक्त आयोगबाट महसुल निर्धारित भइसकेको अवधि हो,’ आयोग अध्यक्ष लालले आइतबार जारी गरेको विज्ञप्तिमा छ, ‘त्यस्तै सबैभन्दा पछिल्लो अवधि अर्थात २०७५ जेठदेखि २०७७ असारसम्मको समय प्राधिकरणको सूचनाअनुसार नै लोडसेडिङ अन्त्य भइसकेको समय हो ।’
साथै विज्ञप्तिमा विवादित औद्योगिक ग्राहकहरुले नियमित लाग्ने सबै सामान्य शुल्क समयभित्रै बुझाइसकेको उल्लेख गरिएको छ । साथै विवाद बक्यौता भनिएको डेडिकेटेड लाइन र ट्रंकलाइन सम्बन्धीमात्र भएको जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशन भन्दै नेपाल विद्युत प्राधिकरणले गएको पुस ६ गतेदेखि ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिएका केही कम्पनीहरुको लाइन काट्न शुरु गरेको थियो । फेरि सरकारद्वारा बिजुली जोड्न दिएको निर्देशनसँगै प्राधिकरणले उद्योगहरुमा बिजुली जोडिदिएको छ । प्राधिकरणको तथ्यांकलाई आधार मान्ने हो भने ५९ वटा उद्योगले यस्तो सुविधा लिएर करिब २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता तिरेका छैनन् । यो रकमको ब्याज र हर्जना बढेर करिब २८ अर्ब रुपैयाँ पुगिसकेको छ ।
गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगका सदस्यमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे सदस्य छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies