काठमाडौं : प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मोरङको बिराटनगर स्थित न्यूरो कारडियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलले उपचारमा छुट दिने भएको छ ।
अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्तरंग तथा बहिरंग सेवामा ओपिडी टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिक सर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग लगायतका सेवाहरुमा विशेष छुट दिने भएको हो ।
न्यूरो कारडियो एण्ड मल्टी स्पेसियालिटीका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक शाखा प्रमुख प्रशान्तकुमार झाले दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा हस्पिटलमा भुक्तानी गर्नुपर्ने हुन्छ ।
अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंकका ग्राहक तथा शेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरुलाई १५ प्रतिशत सम्मको छुट व्यवस्था गरेको छ ।
काठमाडौं : नबिल बैंकले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन अवसरमा सन्देशमूलक भिडियो निर्माण गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशसहित भिडियो निर्माण गरी बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको हो ।
विशेषगरी भिडियोमा सहर र जागिरमा रहेका महिला आमा बनेपछिको अवस्थालाई औंल्याइएको छ । आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चाबच्ची र परिवारप्रतिको दायित्व भिडियोमा देखाइएको छ । आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिका पनि भिडियोमा देखाइएको छ ।
२ मिनेट ४५ सेकेन्डको छोटो भिडियोले सहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । भिडियोले देखाएकोे आमाको दैनिकी अधिकांश नेपालीको घरको कथासँग मेल खाने बैंकको भनाइ छ ।
काठमाडौं : एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।
ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजना गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।
बैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो । साथै सोही कार्यक्रममा बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रूपमा समेत घोषणा गरेको छ ।
साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा पहिलो पटक सहभागी भएको नेपाली राष्ट्रिय महिला फुटबल टोली उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिँदै फाइनलसम्म पुगेर उपविजेता बन्न सफल भएको थियो । बैंकले मैदान र मैदान बाहिर रहेर प्रगियोगिताभर विशेष योगदान गर्ने सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दै अगामी दिनमा पनि यस्तै सफलता प्राप्त होस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो जस्तो मुलुकमा औधोगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको धारणा व्यक्त गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित नेपाल १७औं अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
“गरिबी न्यूनिकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने, “यसबाट प्राकृतिक स्रोतको उपयोग, समावेशी र समानुपातिक सहभागितामा मात्र होइन परम्परागत कृषिलाई औधोगिक कृषिमा बदल्नसमेत सघाउ पुर्याउनेछ !”
उनले मुलतः स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुँदै सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिन यस्ता उद्यम व्यवसाय बढी फलदायी हुने पनि बताए । राष्ट्रपति पौडेलले भने, “यसबाट नेपाली सीप, श्रम र संस्कृति बजारीकरण हुँदै विदेशमा समेत पुग्ने र निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा पनि टेवा पुग्नेछ।”
राष्ट्रपति पौडेलले पुँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगी मारमा परेकाले राज्यले सहुलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यो क्षेत्रको विकासमा सहयोग पुर्याउनुपर्ने धारणा व्यक्त गर्दै देशमै उत्पादित वस्तुको प्रवर्द्धन गरी उद्योगहरूको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाका लागि आवश्यक संरचना र स्थान उपलब्ध गराउन बेलैमा ध्यान जानु आवश्यक रहेको औंल्याए ।
राष्ट्रपति पौडेलले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो संख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवर्द्धनमा विशेष कार्यक्रम आवश्यक रहेको बताए । साथै उनले महिला, युवा र कृषि उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई प्रभावकारी बनाउनुपर्ने खाँचो औंल्याए ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको प्रवद्र्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ एवम् केन्द्रीय महिला उद्यमी समितिले आजदेखि भृकुटीमण्डपमा आयोजना गरेको नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बिक्री कक्ष स्थापनाका लागि पूर्वाधार निर्माणमा आवश्यक पर्ने सहयोग र सहुलियतमा उद्योग मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाए ।
देशमा लघु, घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यस्ता उद्योगलाई प्रवर्द्धन गर्न आगामी बजेटमा लक्षित कार्यक्रम ल्याइने बताए । उनले भने, “सम्भावनायुक्त लघु, घरेलु तथा साना उद्योगलाई निश्चित समयका लागि सबै खाले करबाट मुक्त गरी स्वदेशी उत्पादनको अभिवृद्धि गर्न त्यस्ता उद्योगलाई पूँजी, प्रविधि र पहुँचका लागि विशेष कार्यक्रम अगाडि सारिने छ ।”
नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना र महिला उद्यमीद्वारा उत्पादित औद्योगिक उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवर्द्धनका लागि हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीलाई राज्यका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी नहुने मन्त्री भण्डारीको भनाइ थियो ।
स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि महासंघले पहल गर्दै आएको बिक्री कक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगजस्ता अभियान सकारात्मक रहेको उल्लेख गर्दै उनले यसको कार्यान्वयनमा सरकारको सहयोग रहनेमा जोड दिए ।
मन्त्री भण्डारीले भने, “स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धिका लागि सरकारद्वारा सञ्चालित प्रधानमन्त्री स्वदेशी वस्तु उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलगायत उद्योग प्रवद्र्धनका विभिन्न कार्यक्रम र सोसँग विभिन्न कोषको द्रुततर कार्यान्वयनका लागि पहल गरिनेछ ।”
महिला, युवा र कृषि उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई अझै प्रभावकारी बनाइने उल्लेख गर्दै उनले महिला तथा जनजातिलाई आर्थिक एवं औद्योगिक क्षेत्रमा समाहित गराउन कर छुटसहित विशेष प्याकेज कार्यक्रमको व्यवस्था आगामी बजेटमा गरिने बताए । साथै उनले कृषिलाई व्यावसायिक र औद्योगिकीकरण गरी देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले विशेष प्राथमिकता दिने उल्लेख गरे ।
काठमाडौं : सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।
प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ ।
लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थ्रु गर्न सफल भएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थ्रु भएको छ । एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । विसं २०७९ असोज २८ गतेदेखि सुरुङ खन्ने काम आरम्भ भएकामा यसबीचमा ६ पटक अवरोध भएको प्रमुख बरालले बताए । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने हुँदा सुरुङ खन्ने टिबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो ।
उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत उत्पादन गरिनेछ ।
सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले रु १० अर्ब पाँच करोड ६८ लाखमा ठेक्का लिएको प्रमुख बरालले जानकारी दिए ।
नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार काम शुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । आयोजनाको कुल लागत रु ४९ अर्ब ४२ करोड रहेको आयोजनाले जनाएको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढंगले ल्याइने बताएका छन् ।
नेकपा माओवादी केन्द्र सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता भेटमा उनले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए । प्रधानमन्त्री दाहालले भने, “म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ ।”
आर्थिक सूचकांकमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने बताए । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए ।
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए । वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ ।
माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेकाले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने उनले स्पष्ट पारे । वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढंगबाट अघि बढाएको उल्लेख गर्दै पछिल्ला समयमा भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए ।
कार्यकर्ता भेटघाटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत, सिन्धुलीका सांसद लेखनाथ दाहाल, माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हरिबोल गजुरेल, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंलगायत सहभागी थिए ।
पर्वत - जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी रु ५० हजारका दरले अनुदानको व्यवस्था गरिएको हो ।
यसअघि राँगा पालेका प्रत्येक किसानलाई रु २० हजार अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताए । सातवटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले तीनदेखि चार वटासम्म राँगा पालेका छन् । गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई रु चार लाख अनुदान वितरण गरेको छ । गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैँसीपालन गरेका गाउँपालिकाका १६ जना किसानलाई प्रतिभैँसी रु ५० हजारका दरले अनुदान प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए ।
यसअघि राँगापालक किसानको प्रोत्साहनका लागि पैयुँ पालिकाले अनुदान रकम घोषणा गरेको थियो । पालिकामा किसानले एउटा भैँसीलाई राँगो लगाएको रु एक हजार ५०० खर्च तिर्दै आएका छन् । अब राँगापालकको गोठदेखि भैँसीपालकको गोठसम्मको दूरीका आधारमा मूल्य निर्धारणको लागि काम थाल्ने गाउँपालिकाले बताएको छ । राँगापालक किसानलाई रु चार लाख वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए ।
काठमाडौं - सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । मंगलबार साँझै सिन्धुली पुगेका प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले आयोजना अवलोकन गरी बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन पनि दिएका छन् ।
आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरिएको थियो । उक्त सुरुङ सुनकोशी गाउँपालिका ७ को सुनकोशी र तामाकोशी दोभानबाट करिब ९ सय मिटर तल पर्ने कानढुंग्री भन्ने स्थानसम्म छेडिने छ । सुरुङ खन्ने टनेल बोरिङ मेसिन टिबिएम मेसिन आज सुनकोसी नदी किनारको कानढुंग्रीबाट निस्किने छ । सुरुङको यो ब्रेक थ्रुलाई प्रत्यक्ष हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरु, नेपालका लागि चिनियाँ राजदूत र उच्चपदस्थ कर्मचारी र स्थानीय जनप्रतिनिधिहरु सिन्धुलीमा भेला हुँदैछन् । योजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनाको सुरुङ २२ महिनाभित्र ब्रेक थ्रु गर्ने लक्ष्य राखिएको थियो तर ३ महिना २ दिनअघि नै सुरुङ ब्रेक थ्रु हुन लागेको हो ।
कुल १३.३ किलोमिटर लामो सुरुङ चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले खनेको थियो । सुनकोशीको पानी सुरुङमार्फत मरिण खोलामा खसालेर ३१ मेगावाट बिजुली उत्पादन पनि गरिनेछ । सोही पानीबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका कुल १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने सरकारको लक्ष्य छ । सुरुङमा पानी पठाउन सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध बनाउने काम जारी छ ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : चर्चित ब्यापारिक घराना बसन्त चौधरीको नर्भिक इन्टरनेशनल हस्पिटलले सन् २०२२ मा १ अर्ब ८१ करोड ३० लाख सञ्चालन आम्दानी गर्यो । उक्त आम्दानी अघिल्लो वर्ष भन्दा ३३.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष सन् २०२१ मा १ अर्ब ३६ करोड सञ्चालन आम्दानी गरेको थियो ।
यसरी उच्च आम्दानी गरिरहेको नर्भिक हस्पिटललले आय कर तिर्न भने अटेरी गरिरहेको छ । सोमबार मात्र आन्तरिक राजश्व कार्यालय अन्तर्गत ठूला करदाता कार्यालयले नर्भिकले आयकर वक्यौता नतिरेको सार्वजनिक सूचना निकाल्यो । नर्भिकसँगै राजस्व छली गर्ने २५ ठुला कम्पनीलाई ठूला करदाता कार्यालयले १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ ।
पछिल्लो पटक निकालेको सूचनामा गण्डकी विकास बैक लिमिटेडको पनि आयकर बक्यौता बाँकी छ । जबकि अहिले उक्त बैंक अस्तित्वमै छैन । आर्थिक वर्ष २०७६/०७७ मै उक्त बैंक मेघा बैंकमा गाभिएको थियो । मेघामा गाभिनुपूर्व सोही आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म गण्डकीको ब्याज आम्दानी मात्र ३५ करोड भन्दा बढी थियो ।
सुधीर पराजुलीको कम्पनी सुबिसु केबल नेटले पनि लामो समयदेखि मूल्य अभिबृद्धि कर नतिरेको भन्दै नाम सार्वजनिक गरिएको हो । अहिले त सुबिसु नविकरण समेत हुन सकेको छैन । नविकरणका लागि सुबिसुले दूरसञ्चारप्राधिकरणलाई निवेदन दिएपनि अस्वीकार भएको थियो । अहिले उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको सुबिसुले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सन् २०२२ मा यस कम्पनीले ३ अर्ब ७७ करोड र सन् २०२१ मा ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले पनि आयकर र मूल्य अभिबृद्धि करको ठूलो बक्यौता तिर्न बाँकी छ । उक्त कम्पनी वर्षेनि उच्च कारोबार गर्ने मध्ये पर्छ । उदयपुर सिमेन्टले आर्थिक वर्ष २०७८/७९ मा करिब पाँच करोड आम्दानी गर्यो । उद्योगले २०७७/७८ मा एक अर्ब ६१ करोड २५ लाख आम्दानी गरेको गर्यो भने हालसम्म उद्योगको सञ्चित नाफा ५८ करोड १४ लाख ६६ हजार रहेको पुगिसकेको छ ।
शुभश्री अग्नि सिमेन्ट उद्योग प्रालि पनि नाफा कमाउने कम्पनीमा पर्छ । उद्योगले सन् २०२१ मा २ अर्ब ४६ करोड बराबर कुल आम्दानी गरेको छ । उद्योग सन् २०२० मा १ अर्ब ९३ करोड आम्दानी गरेको थियो । उद्योगले सन् २०१९ मा २ अर्ब ३२ करोडको कारोबार गरेको थियो । तर उक्त कम्पनीले पनि लामो समयदेखि मूल्य अभिबृद्धि आयकर तिरेको छैन ।
पछिल्लो समय बचतकर्ताको रकम फिर्ता दिन नसकेर कालो सूचीमा परिसकेको सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सरकारलाई आयकर तिर्न बाँकी छ । सुमेरुले प्रदेश रजिष्ट्रारको कार्यालयमा पेश गरेको वित्तीय विवरण अनुसार ८ अर्ब बढी दायित्व र १० अर्ब सम्पत्ति रहेको छ ।
सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले पनि आयकर तिर्न बाँकी छ । उक्त कम्पनीले गत आर्थिक वर्षमा कृषि सामग्री कम्पनी १२ करोड २४ लाख, रूपैयाँ आम्दानी गरेको थियो । कर नतिरेर ठूला कर दाताले सार्वजनिक गरेको अर्को सरकारी स्वामित्वको कम्पनी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पछिल्लो आम्दानी पनि ७ करोड २२ लाख रूपैयाँ थियो ।
ठूला करदाता कार्यालयले मूल्य अभिबृद्धि र आयकर नतिरेको भन्दै चर्चित आनन्दराज बतासको कम्पनी बतास ब्रदर्श प्रालि, माउण्ट एभरेष्ट बु्रअरी, जगदिशप्रसाद अग्रवालको स्वामित्वमा रहेको बिशाल गु्रपको सिमेन्ट इन्डस्ट्रिज प्रालि, ज्योती गु्रपको हिमाल आइरन स्टील, इञ्जिनियर जिजयराज भण्डारीको सिई कन्ट्रक्सन, जयन्ती गु्रप अन्तगत दिनेशकमार अग्रवाल र शोभा अग्रवालको लगानीमा रहेको श्री जयन्ती निर्माण सेवा, भारतीय कम्पनी पेन इडिया इन्फ्रा प्रोजेक्ट्स निकै चचर्चित र उच्च आय भएका कम्पनी हुन् ।
यसैगरी टाइगर्स बु्रअरी इण्ड्रस्ट्रिज प्रालि, अरनिको आबुखैरेनी सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि र कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालि, महालक्ष्मी वायर एण्ड केवल इन्डस्ट्रिज प्रालि, अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्रालि, शिवशिखर एग्रो प्रालि, सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि, इष्टर्न एजेन्सीज् प्रालि, ग्रीन हिल सिटी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि. छन् ।
ठूला करदाता कार्यालयका अनुसार प्रक्रियाअनुसार कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइएको छ । तर कतिपय करदातालाई फोन सम्पर्क गर्दा पनि अटेरी गरेपछि त्यस्ता कम्पनीको नाम नै सार्वजनिक गरिन्छ । कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माले भने, ‘यो हाम्रो नियमित प्रक्रिया हो । यसमा पनि अटेरी गरे कानूनअनुसार अघि बढ्छौं ।’
आयकर ऐन २०५८ अनुसार रोजगारी, लगानी र व्यवसायमा खुद् आम्दानीको कर तिर्नुपर्ने प्रावधान छ । ऐनको परिच्छेद ३ को ७ मा उल्लेख भएअनुसार ‘कुनै व्यक्तिको कुनै आय वर्षमा कुन व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभहरू सो व्यक्तिको सो व्यवसायको सो वर्षको आयमा गणना गर्नुपर्छ ।’
चार्टड एकाउटेन्ट शेषमणि दाहालले ठूला कम्पनीहरूले समयमा कर नतिर्नुमा सरकार आफै जिम्मेवार रहेको बताउँछन् । उनी भन्छन्, ‘नाफा कमाएको बेला कर तिर्न ताकेता गरिएन । समयमा आफै कर तिर्ने कम्पनीहरूको अनुशासन पनि भएन । अहिले अप्ठेरो परेका बेला ताकेता गरेर हुन्छ त ?’ उनी अहिले ठूलो मात्रामा बक्यौता थुप्रिनु अर्थतन्त्रमा मन्दीको असर भएको बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies