काठमाडौंं : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् ।
पाल्पा सिमेन्टको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको शेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको शेयर प्रत्याभूति गर्दै आएको छ ।
काठमाडौं : एलिट क्यापिटल र रिलायन्स फाइनान्सबिच एक अर्काको ग्राहक सेवा प्रवद्र्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तिय संस्थाको रुपमा रहेको रिलायन्स र नव स्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुबैले वित्तिय सेवा र पुँजीबजार सम्बन्धि सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेका हुन् ।
दुबै संस्थाविच भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अध्यक्ष समाज प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन । सम्झौताअनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरु मार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुकालागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ ।
यसबाहेक लगानीकर्ताहरुलाई सेयर कारोवार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोवार खाता एवम अनलाईन टिएमएस सेवा समेत उपलव्ध हुनेछ । साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलव्ध गराउनेछ भने सेयर लगानीकर्ताहरुलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलव्ध गराउनेछ ।
एलिट क्यापिटलले १९९९ रुपैंयामा एकपटक खोलेपछी आजिवन नविकरण गर्न नपर्ने गरी डिम्याट खाताखोल्ने स्किम ल्याएको छ भने ९९९ रुपैंयामा १० बर्षसम्मन विकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ । यस्तै रिलायन्स फाइनान्सका खातावालहरुका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवाशुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
काठमाडौं : नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार मेलाको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । महासंघले वैशाख २६ गते बुधबारदेखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी आयोजना हुने लागेको हो ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले महासंघले हरेक वर्ष औद्योगिक प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीको १७औं को मुख्य नारा ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र “नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” भन्ने रहेको छ । मुलुकभरका झण्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिविम्वित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताए ।
विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रूपमा आयोजना गर्न शुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष ‘नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१’ को नाममा आयोजना हुने सिंहले जानकारी दिए ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ र प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा सात करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९÷८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको एक सय ९२औं बैठकले शेयरधनीलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने एक अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो । लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात कम्पनीको चुक्तापुँजी पाँच अर्ब रुपैयाँ कायम हुनेछ ।
काठमाडौं : समृद्धि फाइनान्सले कालिन्चोक बुक्स एण्ड स्टेशनरी, पुतलिसडक काठमाडौंसँंग समझदारी गरेको छ । समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले समृद्धि मोबाइल बैंकिङ, डेविट कार्ड प्रयोग गरी स्टेशनरीमा कुनै पनि किताबको भुक्तानी गर्दा २० देखि २५ प्रतिशत छुट पाउने छन् ।
यो सुविधाबाट फाइनान्सका ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । समद्मदारी पत्रमा फाइनान्स कम्पनीकातर्फबाट प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा तर्फबाट संस्थापक पुष्कर राजकार्कीले हस्ताक्षर गरेका छन् ।
काठमाडौं : सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । रेमिट डिम्याट खाताको माध्यमबाट विदेशमा बस्ने नेपालीलाई नेपालको पुँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजीवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यका लागि सहजीकरण गर्ने कम्पनीको विश्वास छ ।
सो सेवाको माध्यमबाट विदेशमा रहेका नेपालीले नेपालको पूँजी बजारमा लगानी गर्न सहयोग पुग्ने विश्वाससहित यो सेवाको सुरुवात गरिएको सन सेक्युरिटिजले जनाएको छ । ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’ अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीका लागि सञ्चालन गरिएको रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिक, विद्यार्थी तथा अन्य पेसामा आवद्ध नेपालीले समेत खोल्न सक्ने कम्पनीको भनाइ छ ।
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा साविकका शेयरधनीलाई प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ०६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले शेयर बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बिहीबार आयोजित एक समारोहबिच मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौं : एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित भएकी छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा सो सम्मान प्रदान गरेको हो ।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो अवार्ड कंसाकारलाई वितरण गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र संवृद्ध नेपाल निर्माणको अभियानमा पुर्याएको विशिष्ट योगदानको उच्च मुल्यांकन गर्दै एक लाख नगद सहित यो पुरस्कार प्रदान गरिएको हो ।
इन्जिनियरिङ क्षेत्रमा करियर शुरु गरेपछि कंसाकार सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रुपमा एनसेलमा जोडिएकी थिइन र अहिले उनी १४० बढी प्राविधिक कर्मचारीहरुको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रुपमा कार्यरत छिन् । असिस्टेन्ट इन्जिनियर, इन्जिनियर, एक्जिक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुँदै अहिले उनी एक्टिङ सीटीओको उच्च पदमा नेतृत्व गरिरहेकी छिन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै चार वाणिज्य बैंक र शुद्धीकरण निवारण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै २ विकास बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैकले लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई नियामकीय व्यवस्था उल्लंघन गरेकोले कारवाही गरेको जनाएको छ । यस्तै लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।
राष्ट्र बैंकले लक्ष्मी सनराइज (साविकको लक्ष्मी बैंक) को संस्थापक शेयरधनी राजेन्द्रकुमार खेतानलाई १० लाख रुपैयाँ नगद जरिवाना गरेको छ । खेतानले बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रुपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रुपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको राष्ट्र बैकले जनाएको छ । खेतानलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) बमोजिम जरिवाना गरेको हो । बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन नगरेकाले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई समेत सचेत गराएको छ ।
यस्तै कुमारी बैंक कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्थाअनुसार कायम नगरेपछि राष्ट्र बैंकले बैंकका सञ्चालक समिति र सीईओलाई सचेत गराएको छ । कुमारी बैंकलाई समेत राष्ट्र बैंकले कारवाही गरेको छ । तत्कालीन सीईओलाई तलबभत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक २ करोड ३ लाख भुक्तानी दिने निर्णय गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । प्राइम बैंकका सीईओलाई उक्त ऐनको दफा १०० को उपदफा २ को खण्ड (क) अनुसार सञ्चालक समितिलाई सचेत गराएको हो ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पनि नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै बैंकका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ । बैंकको कमलादी शाखाबाट खोलिएको प्रतीतपत्र (एलसी) बैंककै कालीमाटी शाखाले ‘कन्फर्म’ गरी सोही एलसीअन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट ‘प्रमिसरी नोट’ जारी गरी ‘बेनिफिसियरी’ बाट बैंकले कुल ४१ करोड ३६ लाख बराबर ‘बिल पर्चेज’ गरी कर्जा सापटमा देखाएको राष्ट्र बैंकले जनाएको छ ।
लुम्बिनी विकास बैंकमा राष्ट्र बैंकको निर्देशनअनुसार वित्तीय संस्थामा ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र सोही निर्देशनमा उल्लेख भए बमोजिम शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्णरुपमा लागु हुन नसकेको पाइएको राष्ट्र बैंकले जनाएको छ । यस्तै एक्सल डेभलपमेन्ट बैंकले पनि राष्ट्र बैंकले जारी गरेको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं : नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो संख्यामा पर्यटकको आगमन बढेको हो ।
सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् ।
साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies